जेपी स्कुलका अध्यक्ष मानन्धरको ‘दादागिरी’ : लोकसेवा परिक्षाको कमिशन माग्दै विद्यालयमा हुलहुज्जत !

दियोपोस्ट संवाददाता  

काठमाडौं । राजधानीको ठमेलस्थित जेपी स्कुलका अध्यक्ष पुष्पमान मानन्धरले प्रधानाध्यापक लक्ष्मण पौडेलमाथि दुर्व्यवहार गरेको खुलेको छ । स्कुल परिसरमा विभिन्न टोले गुण्डाहरु ल्याएर हुलहुज्जत गरेको पाइएको छ । अध्यक्ष मानन्धरले गत सोमबार ५÷६ जना टोले खेलाडीको समुह लिएर विद्यालयको हाता भित्र प्रवेश गरि हुलहुज्जत गरेको आरोप छ । विद्यालय भवनमा बेलाबखत लिइने लोकसेवा आयोगको परिक्षा बापतको आम्दानी प्रधानाध्यापक पौडेलले हिसाब नदेखाई एक लौटी खर्च गरेको भन्दै अध्यक्ष मानन्धरले खेलाडी समुह लगेर हायलकायल पारेको आरोप छ ।
खेलाडी मात्रै नभई वरिपरिको पसले समेत विद्यालय हाताभित्र प्रवेश गराई दुर्व्यवहार गरेको आरोप छ । उनले विभिन्न समुह बोलाएर कमिशन मागेको समेत आरोप छ । कमिशन पाएपछि उनी चुप लागेको स्थानिय प्रत्यक्षदर्शीले दियोपोस्टलाई बताए ।
तर, विद्यालयका प्राधानाध्यापक पौडेल भने कुनै पनि घटना नभएको बताउँछन् । घटनाबारे प्रश्न गर्दा उनले दियोपोस्टको कार्यालय कहाँ छ भन्दै प्रतिप्रश्न गरे । ‘तपाईंहरुको अफिस कहाँ छ । कसले भन्यो यस्तो कुरा केही पनि भएको छैन,’ उनले भने ।
प्रत्यक्षदर्शीका अनुुसार मिलापत्र भएपछि पौडेलले पनि बयान फेरेका हुन् । विद्यालय स्रोतका अनुसार विद्यालय हाताभित्र अध्यक्ष मानन्धरले गैरकानुनी रुपमा कराँतेको डोजाङ संचालन गरेका छन् । ‘उहाँले विद्यालयको हाताभित्र डोजाङ चलाउनु भएको छ । आफै अध्यक्ष आफै डोजाङ संचालक स्वार्थको द्वन्द देखियो’ स्रोतले भन्यो ।