[फलोअप] कन्सल्टेन्सीको आवरणमा म्यानपावरको जालो : श्रीमान–श्रीमती नै ‘अवैध धन्दा’मा !

दियोपोस्ट संवाददाता  

काठमाडौं । शैक्षिक परामर्शदाताको रुपमा दर्ता भएका राजधानीका केही कन्सल्टेशीहरुले खुलमखुल्ला म्यानपावर कम्पनिको काम गरिरहेको विषयमा दियोपोस्टले फलोअप गर्दै आएको छ ।

राजधानीको बानेश्वरमा रहेको गोरेटो एजुकेशश्नलले अवैध रुपमा क्यानडामा वर्किङ भिषामा मानिसहरु पठाइरहेको खबर यसअघि प्रकाशित भइसकेको छ । गोरेटोसँगै जोडिएको अर्को कम्पनि हो–इन्टरनेश्नल करियर काउन्सेलिङ सेन्टर (आइसीसीसी) ।

राजधानीको पुतलीसडक चोकस्थित पुतली हब कम्प्लेक्सको तेस्रो तलाबाट यो कम्पनिले वर्किङ भिषामा नेपालीहरुलाई क्यानडा पठाउँदै आएको छ । कम्पनिका मालिक राम खड्का र उनकी श्रीमती कृति खनालले अवैध कन्सल्टेन्सीको आवरणमा म्यानपावरको धन्दा गर्दै आएका हुन् । खड्का म्यानपावरकै काम गर्ने गोरेटो एजुकेशश्नलका समेत संचालक हुन् । यो कम्पनिबाट ५३ जनाभन्दा बढी व्यक्तिहरु एकैसाथ क्यानडा वर्किङका लागि गएको तथ्य भेटिएको छ ।

 

कम्पनिले सामाजिक संजालमै ‘वर्क पर्मिट’मा मानिसहरुलाई क्यानडा पठाएको विवरण राखेको छ । जबकी वैदेशिक रोजगार ऐन अनुसार इजाजत प्राप्त म्यानपावरले मात्रै वैदेशिक रोजगारीको लागि मानिसहरु बाहिर पठाउन पाउँछन् । तर, शिक्षा मन्त्रालयको कार्यविधिको आधारमा शिक्षा मन्त्रालय र वागमती प्रदेश सरकारमा शैक्षिक परामर्शदाताको रुपमा दर्ता रहेका यस्ता कम्पनिहरुले अवैध रुपमा वर्किङ भिषामा मानिसहरुलाई विदेश पाठाउने काम गरिरहेका छन् । प्रति व्यक्ति ३० देखि २५ लाख रुपैयाँसम्म असुली गरि उनीहरुले क्यानडा पठाइरहेका छन् । शैक्षिक परामर्शदाताको रुपमा दर्ता रहेका यस्ता कम्पनिहरु करको दायरामा समेत पर्न सकेका छैनन् ।

विभिन्न व्यक्तिलाई स्पाउज ओपन वर्क पर्मिट (एसओडब्लुपी) भिषामा यो कम्पनिले कामदार अवैध रुपमा क्यानडा पुर्याइरहेको छ । क्यानडामा काम गरिरहेका वा पढिरहेका व्यक्तिसँग विवाहको नाटक गरि नक्कली कागजातको आधारमा अर्को व्यक्तिलाई रोजगारीका लागि क्यानडा पठाउने कार्यमा नेपालका केही कन्सल्टेन्सीले गर्दै आएका छन् । उनीहरुलाई यस्तो कार्यमा सोही एसओडब्लुओपी भिषामा व्यक्तिलाई क्यानडा पठाइरहेका छन् । जुन कानुन त कन्सल्टेन्सीले गर्न पाउँदैनन् ।

वैदेशिक रोजगार ऐन, २०६४ (पछिल्लो संशोधन २०७५) अनुसार कसैले इजाजत नलिई वैदेशिक रोजगारीको कार्य गर्न पाइँदैन । ऐनको दफा १० मा भनिएको छ,‘इजाजतबिना वैदेशिक रोजगार व्यावसाय संचालन गर्न नपाउने ः यस ऐन बमोजिम इजाजत नलिई कसैले पनि वैदेशिक रोजगार व्यावसाय संचालन गर्न पाउने छैन ।’ वदेशिक रोजगारीको इजाजत लिनका लागि त्यस्ता संस्थाले सरकारलाई धरौटीबापत २ करोड रुपैयाँ बुझाउनुपर्ने हुन्छ ।

शिक्षा मन्त्रालयमा शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका २०७३, मा आधारित रहेर दर्ता रहेको यस्ता कन्सल्टेन्सीले खुलमखुल्ला म्यानपावरको काम गरिरहेका छन् । यसरी म्यानपावरको काम गरिरहेको सुचनापछि वैदेशिक रोजगार विभागले विभिन्न कन्सल्टेन्सीमा छापा समेत मारेको थियो ।

सामाजिक संजाल मार्फत माल्टा, क्रोयसिया र रोमानिया रोजगारीका लागि पठाउने भन्दै विज्ञापन गरेको पाइएपछि विभागले सबै कागजात नियन्त्रणमा लिएको थियो । यस्ता धन्दा गर्ने कन्सल्टेन्सीहरुले अग्रिम रुपमै श्रमिकसँग रकम असुल्ने र वर्षौं झुलाउने र ठगी गरि फरार हुने गरेको सुचना विभागलाई छ । तर, यसरी सामाजिक संजालमा खुलमुल्ला कामदार भिषा लगाएको भनेर व्यक्तिको फोटो नै सार्वजनिक गर्ने गोरेटो एजुकेशन कन्सल्टेन्सीलाई भने वैदेशिक रोजगार विभाग वा प्रहरीको मानव बेचविखन ब्युरोले छानबीनमा ल्याएको छैन ।

 

वैदेशिक रोजगार विभागका सुचना अधिकारी गुरुदत्त सुवेदीले कन्सल्नेन्सीले वैदेशिक रोजगार भिषामा मानिसहरुलाई विदेश पठाउनु अवैध रहेको बताए । ‘यदि उजुरी परेको खण्डमा हामीले कारबाही गरिनेछ । कसुरमा संलग्न व्यक्ति र संस्था उपर पक्राउ पुर्जी जारी गर्ने काम भइरहेको छ । कन्सल्टेन्सीमा छापा मार्ने काम गर्छौं । दुई महिनाअघि नै हामीले युरो विङ्ग्स भन्ने कन्सल्नेटेन्सी विरुद्ध मद्दा चलाएका थियौँ,’ उनले भने,‘जसबाट ६ सय ५० भन्दा बढी व्यक्ति पीडित भएका थिए ।’

उनका अनुसार उक्त कम्पनि विरुद्ध ५ करोड ५० लाख रुपैयाँ बिगो दाबी गरिएको छ ।

सुवेदीका अनुसार युरोप, क्यानडा र अमेरिकामा रोजगारीका लागि पठाइदिने भन्दै कन्सल्टेन्सी नै मुख्य रुपमा जोडिएको छ । ‘कन्सल्टेन्सीमाथि नियमन गर्नुपर्ने अवस्था आएको छ,’ उनले भने,‘तोकिएको कामकारबाही भन्दा बाहिर गरिरहेको हकमा प्रभावकारी अनुगमनको जरुरी छ ।’

यता शिक्षा मन्त्रालयका उच्च शिक्षा महासाखाका प्रमुख उपसचिव डा. कमल प्रसाद पोखरेलले कुनैपनि कन्सल्टेन्सीले म्यानपावरको काम गरेको उजुरी आए आफूहरुले अनुगमन पश्चात वैदेशिक रोजगार विभागलाई कारबाहीका लागि पठाउने गरेको बताए ।

कन्सल्टेन्सीले कामदार भिषामा विदेश पठाउँन पाउँदैन : शेषराज भट्टराई, अध्यक्ष ईक्यान

 

नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष शेषराज भट्टराईले शैक्षिक परामर्शदाता कम्पनिको रुपमा दर्ता भएका कुनैपनि कम्पनिले वर्किङ भिषामा विद्यार्थी वा जोकोहीलाई विदेश पठाउन नपाउने बताउँछन् । ‘शैक्षिक परामर्शदाताको रुपमा दर्ता भएका कम्पनिहरुले कुनैपनि कामदारलाई विदेश पठाउन पाउँदैनन्,’ भट्टराईले दियोपोस्टसँग भने,‘हामीले विद्यार्थीलाई विदेश अध्ययन प्रयोजनका लागि परामर्श दिने कार्यमात्रै गर्ने हो ।’

सामाजिक संजालमा शैक्षिक परामर्शदाता भन्दा वर्किङ भिषाकै लागि प्रचार गर्छन् खड्का दम्पत्ति

यो कम्पनिका संचालक राम खड्का सामाजिक संजालमा समेत सक्रिय छन् । शैक्षिक परामर्श दाता भनिएपनि उनले सामाजिक संजालमा प्रचार गरेको भिडियोहरुमा विद्यार्थी भिषामा भन्दा एसओडब्लुओपी भिषामा जोड दिने गरेका छन् । उनले स्पाउजल वर्क पर्मिटमै भिषा एप्लाइ गर्न परामर्श गरेको र उनको कम्पनिले वर्किङ भिषालाई प्रमोशन गर्न सामाजिक संजालमै अभियान थालेको देखिन्छ । उनकी श्रीमती खनाल काउन्सिलरको रुपमा कार्यरत छिन् ।

 

सिफारिस