पिआर दिलाइदिने भन्दै अष्ट्रेलियामा नेपाली दम्पत्तिको ‘ठगीधन्दा’ : ३० हजार डलरसम्म असुली फरार !

दियोपोस्ट संवाददाता  

काठमाण्डौं । अष्ट्रेलियामा रहेका एक नेपाली दम्पत्तिले दर्जनौँ व्यक्तिबाट करोडौँ ठगी गरेको खुलाशा भएको छ ।

अष्ट्रेलियामा रहेका नेपाली मूलका अभिनय भण्डारी र उनकी पत्नी निल्लीसिंह भण्डारीले दर्जनौँ नेपालीबाट करोडौं रकम ठगी गरेका हुन् ।

अष्ट्रेलियाको राजधानी सीड्नीको पार्रामाटा, मेलबर्न, नेपालको कमलादी र न्युजिल्याण्डमा समेत कार्यालय रहेको दाबी गर्ने एम्बीसन कन्सल्टिङले लाखौँ डलर ठगी गरेको खुलेको हो ।
अध्ययनका लागि अस्ट्रेलिया पुगेका नेपाली, चिनियाँ र जापानी विद्यार्थीलाई यो कम्पनिले मुर्गा बनाउँदै आएको छ । सीडनीकोे पारामाटास्थीत माई एम्बीसन कन्सल्टीङले लाखौँ ठगी गरेको समाचार प्राप्त भएको छ ।
दर्जनौँ नेपालीबाट यो कम्पनिले ३० लाखदेखि ३५ लाख रुपैयाँ असुली गरेको पीडितहरु बताउँछन् ।

‘यीनिहरु ठग हुन् । यीनिहरुले ग्राहकबाट ठूलो रकम असुली गरेका छन् । तर, कुनै पनि काम गरेका छैनन्,’ ताइवान घर भएकी सु लि तिङले भनिन् ।

पीडितहरुका अनुसार भण्डारी दम्पत्तिले पढाइ सकेर अस्थायी भिसामा रहेका विद्यार्थीलाई जागिर मार्फत पिआर दिलाइदिने आश्वासन दिएर ठगीधन्दा चलाइरहेका छन् । नेपालीहरुले पिआर पाउने प्रलोभनमा परि भण्डारी दम्पत्तिलाई ३० देखि ४० हजार डलरसम्म बुझाएका छन् । तर, कम्पनिले सर्वसाधरणबाट पैसा उठाएपनि भिषा भने दिलाउन सकेका छैनन् । विद्यार्थीहरुले भिषा नपाएपछि अहिले विद्यार्थीहरु नेपाल फर्किन बाध्य भएका छन् । उनीहरुले मुख्य कोर्ष गर्नुपर्छ भन्दै प्रतिव्यक्ति ४ देखि ५ हजार डलरसम्म असुली गरेका छन् ।

भण्डारी दम्पत्तिबाट पीडित भएका सिराह घर भएका एक व्यक्ति २२ महिने बच्चासहित फेरी नेपाल फर्कदैछन् । उनले भण्डारी दम्पत्तीलाई ३२ हजार डलर बुझाएका थिए । भण्डारी दम्पत्तिबाट ठगीएका २३ जनाले त्यहाँस्थित प्रहरी कार्यालयमा उजुरी दिएका छन् । विभिन्न संघ संस्थामा उजुरी दिएपनि कुनै कारबाही भएको छैन । ठगीमा संलग्नहरुले अर्को कम्पनि समेत खडा गरेको स्रोतले जनाएको छ । पुरानो कम्पनि बन्द गरेर दर्जनौँ व्यक्तिलाई पीडित बनाउनेहरुले फेरी बियोण्ड बोर्डर्स माइग्रेशन सोलशन पिटिवाई एलटिडी दर्ता गरेर संचालन गरेको पाइएको छ । भण्डारीकी पत्नि निल्लीसिंह भण्डारीकै नाममा उक्त कम्पनि रहेको खुलेको छ । अष्ट्रेलियाको गृहमन्त्रालयको वेभसाइटमा उल्लेखित कम्पनि भण्डारीकै नाममा रहेको तथ्य देखिएको छ ।