
काठमाडौं । अज्ञात समुहको गोली प्रहारबाट बाराको रामराजा बहुमुखी क्याम्पस, कलैयाका प्रमुख हरिभूषण कुशवाहको मृत्यु भएको छ । गोली प्रहारको घटनापछि जिल्ला प्रशासन कार्यालय नेपाल भारत सिमा नाकामा प्रतिबन्ध लगाएको छ ।
गोली लागेर गम्भीर घाइते उनको उपचारको क्रममा नारयणी बयोधा अस्पताल, वीरगञ्जमा मृत्यु भएको हो । प्रहरीले घटनाको संलग्न भएको आशंकामा दुई जनालाई पक्राउ गरेको छ ।
बाराको आदर्श कोतवाल गाउँपालिका–३ बतरा भन्ने स्थानमा अज्ञात समूहले क्याम्पस प्रमुख कुशवाहमाथि शुक्रबार अपराह्न गोली प्रहार गरेको थियो । जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले प्रशासन कार्यालयले नेपाल भारतको सबै सिमा नाकामा शिल गरेको बताए ।
उनका अनुसार क्याम्पस प्रमुख कुशवाह आज शुक्रबार स्कुलबाट आफ्नो घर आदर्श कोटवाल गाउँपालिका २ घर जाँदै गरेका थिए । उनको घरबाट करिब ३ किलोमिटर दूरीमा उनीमाथि गोली प्रहार भएको हो । सहायक प्रजिअ भट्टाईले पक्राउ परेका व्यक्तिहरुको पहिचान अहिले नखुलेको बताए ।