विवाहको बहानामा मानव बेचबिखन : १ लाख ५० हजार लिएर बिहे गराइदिने सुन्दरी पक्राउ

मानव बेचबिखन

दियोपोस्ट संवाददाता  

काठमाडौं । विवाहको बहानामा मानव बेचबिखन गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । उदयपुरको त्रियुगा नगरपालिका–१ जोगीदहकी ३१ वर्षीया सुन्दरी राईलाई प्रहरीले पक्राउ गरेको हो । राईले विवाहको बहानामा चीन पु¥याएर महिलालाई बेचबिखन गरेकी थिइन् ।
ति महिला पीडितको चीनस्थित नेपाली राजदूतावासको समन्वयमा गत असार ९ गते उद्दार गरि नेपाल फर्कीएको थियो । मानव बेचबिखनमा परेको थाहा भएर नेपाल फर्किएपछि उनले उजुरी दिएकी थिइन् । उनकै उजुरीकै आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

राईले पीडितलाई सामाजिक सञ्जाल मेसेन्जरमार्फत कुराकानी गरी आफूले चिनियाँ नागरिकसँग विवाह गरेर चीन आएको १० वर्ष भएको बताएकी थिइन् । चीनमा धेरै राम्रो हुने र ती पीडित महिलालाई पनि विवाह गरेर चीन आउन आग्रह गरेको पीडितको जाहेरीमा उल्लेख छ । उजुरीका अनुसार राईले विवाह गर्ने केटासँग मेरो चिनजान रहेका, केटा धनी र राम्रो भएको भन्दै प्रलोभन देखाएर पीडित र एक चिनियाँ नागरिकको काठमाडौंको ठमेलमा चिनजान गराएकी थिइन् । चिनजानपछि पीडितलाई गत फागुन १० गते भिजिट भिषामा १ लाख ५० हजार रुपैयाँमा बेचेको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार मानव बेचबिखनको मुद्दामा पक्राउ परेकी राईलाई अहिले जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप गरि अनुसन्धान भइरहेको छ ।