ज्वालामुखि गाउँपालिकाको सडक स्तरोन्नतीमा लापरबाही : हिलाम्य सडकमा रातो माटो बिछ्याएर रोलर

दियोपोस्ट संवाददाता  

काठमाडौँ । धादिङको ज्वालामुखी गाउँपालिका अन्तर्गत साँधभञ्ज्याङ्देखि–मैदी जोड्ने सडक निर्माणका क्रममा चरम लापरबाही भएको पाइएको छ । सडकस्तरोन्नतीका लागि गाउँपालिकाबाट विनियोजित बजेट सिध्याउनकै लागि रातो माटो हालेर हिलोबाटोमा रोलर लगाइएको पाइएको छ ।

स्थानियबासीले सडक निर्माणमा चरम लापरबाही भएको भन्दै गुनासो गरेका छन् । गाउँपलिकाले १५ दिन अघि नै वडा नम्बर १ देखि ४ सम्मको बाटो निर्माणका लागि एकैसाथ काम सुरु गरेको थियो । सडक निर्माणका लागि पालिकाले १५ लाख ५० हजार रुपौयाँ बजेट छुट्याएको थियो । तर, आर्थिक अनियमिता गर्ने हेतुले सडकमा कमसल सामाग्री प्रयोग गरि सडकलाई बेहाल अवस्थामा पुर्याएको भन्दै स्थानीय आक्रोशित बनेका छन् ।

यता, निर्माणाधिन सडक हिलाम्मे भएका कारण आवत–जावत गर्न स्थानीयले सास्ती ब्यहोर्नु परेको छ । निर्माणाधिन सडकको बिग्रदो अबस्थाका बारेमा बुझ्न खोज्दा ‘सडक निर्माण समिति’का अध्यक्ष पुरन नेपालीले आफुलाई केही जानकारी नभएको बताए ।

उनले भने, ‘बाटोको अबस्थाका बारेमा मलाई केही पनि थाहा छैन । त्यहाँ गएर फोटो खिच, हेरेर आउ भनेर वडा अध्यक्ष ज्यूले केही पनि भन्नु भएको छैन । म काठमाडौँ तिर आएको ३–४ दिन भइसक्यो । अहिले पनि म काठमाडौँमै छु । कहाँ के काम भइरहेको छ भन्ने नै मलाई थाहा छैन ।’

सडक निर्माण सुरु गर्नका लागि बैँकको चेकमा हस्ताक्षर गरेर आएदेखि सडकको अवलोकन गर्न समेत नगएको उनले बताए । निर्माण समितिका अध्यक्षलाई नै बाटोको अवस्थाका बारेमा थाहा नहुनुले उक्त सडक निर्माण कसको स्वार्थकालागि बनाइएको हो रहस्यको विषय बनेको छ ।

अध्यक्ष भएको नाताले सडकमा के कस्तो काम भइरहेको छ, भनेर हेर्नु पर्ने होइन र? भन्ने प्रश्नमा उनी भन्छन्, ‘म भोलि गएर हेर्छु । पालिका अध्यक्षसंग सल्लाह पनि गर्छु । र तपाईलाई भन्छु ।’

बजेट निकासी गर्नका लागि १५ दिन अघि खाता खोल्न भन्दै आफुलाई पालिकामा बोलाइएको उनले बताए । ‘मलाई १५ दिन अघि खाता खोल्न बोलाइएको थियो । खाता खोल्न जाँदा बाटोमा माटो थोपार्ने काम हुँदै थियो । खाता खोल्नुअघि देखि नै काम सुरु भइरहेको रहेछ । मलाई त्यो बारेमा पनि केही भनिएन,’ उनले भने ।

त्यसो त, निर्माणाधिन सडकमा गिट्टी र रोडा बिच्छ्याउनु पर्नेमा माटो मात्रै प्रयोग गरिएको छ । यतिबेला ‘साँध भञ्ज्याङ्’ देखि ‘मैदी’ जोड्ने बाटो हिलम्ये अवस्थामा छ । तर सडकमा माटोमात्रै प्रयोग नगरिएको गाउँपालिकाका अध्यक्ष यामनाथ दनैले बताए ।

अध्यक्ष दनैले सडकमा ३० प्रतिशत माटो र ७० प्रतिशत गिट्टी प्रयोग नगरिएको दाबी गरे । उनले भने, ‘बाटो बनाउँदा ३० प्रतिशत माटो र ७० प्रतिशत गिट्टी बिच्छ्याउने हो । हामीले पनि त्यसै गरेका छौँ ।’

बर्खाको समयमा बाटो बनाइदैँ गर्दा हिलाम्ये भएको उनले बताए । ‘ग्रामिण भेगको बाटो हिलाम्य भइहाल्छ नि । खाल्डाहरु पुरिदैँछ । रातभरि पानी परेको छ । दिनभरि काम गर्न पनि गाह्रो भइरहेको छ । माटो मात्रै हालेर बाटो बनाउने कुरा हुँदैन,’ उनले भने ।

ज्वालामुखी गाउँपालिकाका प्राविधिक जयराम अर्यालले समेत पानी परिरहेका कारण सडक हिलाम्ये भएको बताए । उनी भन्छन्, ‘अहिले काम भइरहेको छ । काम सम्पन्न भएको छैन । पानी परिरहेको छ । त्यसैले पनि सडक हिलो भएको हो ।’
अनियमितता गर्ने हेतुले सडकमा रातो माटो थोपरेर माथिबाट रोलर पेलेको प्रष्ट देखिन्छ ।

तर पालिकाका इन्जिनियर अर्याल भन्छन्, ‘माल थपिरहेका छौँ । पानी परिरहेको छ । काम सम्पन्न भएको छैन । हामीले पहिले नै माल थुपारेर राखेका थियौँ । माल राखिएका ठाउँमा अलिअलि पेल्दै आएका छौँ ।’ उनले बाटो बन्द गरेरै काम धमाधम गरिएको बताए ।

असार मसान्त नजिकिँदै गर्दा गाउँघरमा बाटो–घाटो निर्माणमा स्थानीय सरकारले चासो देखाउनु नौलो कुरा होइन । तर सडक निर्माणका क्रममा पालिकाले प्रयाप्त बजेट निकासा गरेको भए पनि कमसल सामाग्री प्रयोग गरि बजेट दुरुपयोग गर्न खोजिएको प्रष्ट देखिन्छ ।

तस्बिरमा हेर्नुहोस, ज्वालामुखी गाउँपलिकाले १५ लाख ५० हजार रुपैयाँ खर्च गरि निर्माण गरेको सडकको अवस्था

 

सिफारिस