
विष्णु विश्वकर्मा
काठमाडौँ, जेठ १८ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएर नेपाल फर्कदै गरेका प्रधानमन्त्री केपी ओलीले विमानस्थलमा ल्यान्ड हुनुअघि नै एउटा गोप्य वार्ता तय गरिसकेका थिए ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको सहमति पत्र पुन प्रचारमा आएपछि ओलीले माधव नेपाल कार्ड खेल्ने तयारी गरेका थिए ।
उनी आउनु अघि नै माधव नेपालसँग ‘वान टु वान’ वार्ताको तयारी थालेका थिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटको केहीबेरमै ‘ओली सरकार ५ वर्षलाई’ माधव नेपाल भन्दै ओली निकट अनलाईनहरुले प्रचार अभियान थाले । दुई तिहाई बहुमत प्राप्त कम्युनिस्ट पार्टी भित्र सत्ताको बाध्यात्मक सम्झौताले यतिबेला फेरी रडाको मच्चिएको छ ।
आफू भारत भ्रमणमा रहेको बेला नै ‘समानताको आधारमा सत्ता सञ्चालन गर्ने’ सहमति भएको र सहमतिका विषयमा एक टेलिभिजनमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अन्तर्वार्ता प्रशारण भएको थियो । हुन त पार्टी एकता गर्नुअघि भएको उक्त सहमति लिखित नै थियो ।
शिर्ष तहको नेतालाई यस विषयमा अवगत नै भएपनि आम सर्वसाधरणले भने आधिकारिक पत्र हिजोआज मात्रै देख्न पाएका थिए ।
सत्ता सञ्चालनका लागि भएको सम्झौता बाहिरिएपछि ओलीले अहिले माधव नेपाल कार्ड प्रयोग गरेर रक्षा गर्नुपर्ने अवस्था आएको छ ।
१५ महिनापछि केपी ओलीले प्रधानमन्त्री पदको जिम्मा आफुलाई दिन नहिचकिचाउने र आफुले पनि लिनका लागि नहिचकिचाउने प्रचण्डको अभिव्यक्तिपछि पार्टीपंक्तिका शीर्ष तहका नेताहरुले आलोचना र समर्थन गरेका छन् । प्रधानमन्त्री ओलीले ‘प्रचण्डले यस्ता कुराहरु नखोल्नुभएको भए हुन्थ्यो’ भन्ने ढंगको अभिव्यक्ति दिएका छन् ।
ओलीको माधव नेपाल कार्ड ?
प्रधानमन्त्री केपी शर्मा ओली पार्टीभित्र यतिबेला गुटिय हिसाबले अल्पमतमा छन् । यसैकारण उनले पोलिटब्युरो समेत खारेज गरेको आरोप उनीमाथि छ । आफु अल्पमतमा पर्ने बित्तिकै निर्णयहरु आफ्नो पक्षमा नआउने भएपछि समिति नै खारेज गरेको आरोप केपी ओलीमाथि छ । पार्टीभित्र शक्तिशाली बन्नका लागि प्रधानमन्त्री ओलीले नेताहरुलाई आफ्नो प्रभावमा पार्न खेल नखेलेका भने होइनन् । तात्कालिन एमालेका नेताहरुलाई सहमतीमा राख्न नसक्दा ओली केही कमजोर भने देखिएका छन् । उनको नजर एमालेका नेता भन्दा माओवादीका नेतातर्फ लागेको कारण उनि दुबैतर्फ चिप्लिएको देखिन्छ ।

महाधिवेशनका आफ्नै प्रत्यासी माधव नेपालसँग यतिबेला सहारा लिनुपर्ने अवस्थामा ओली पुगेका छन् । पार्टी भित्र मात्रै होइन बाह्य राजनीतिमा समेत ढुलमूले चरित्र देखाउने माधव नेपाल यतिबेला फेरी ओलीकै क्याम्पमा खडा भएका छन्। अध्यक्ष ओलीले संगठनमा एकलौटी गरेको आरोप लगाउँदै यसअघि चर्को आलोचनामा उभिएका नेपाल यतिबेला भने ओलीको ‘खास’ मान्छे भएको देखिन्छ । यद्धपी पार्टी भित्र माधव नेपालको पकड ओलीको भन्दा बलियो रहेको देखिएको छ ।
पार्टी केन्द्रिय स्तरमा नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई प्रधानमन्त्री ओलीले आफ्नो प्रभावमा पार्न कोसिस गरेका थिए । त्यसले गर्दा झलनाथ खनाल, घनश्याम भुसाल, योगेश भट्टराई, वामदेव गौतम उनीबाट टाढिएका छन् । हाल प्रधानमन्त्री ओलीसंग ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङ, प्रदिप ज्ञवाली, किरण गुरुङ, रघुवीर महासेठ, सत्यनारायण मण्डल, छविलाल विश्वकर्मा लगायत नेताहरुको समर्थन रहेको छ । माधव नेपाल कतिबेला ‘बिच्किने’ हुन् भन्ने शंका पनि ओली क्याम्पलाई छ ।
प्रचण्डको वामदेव कार्ड !
पार्टी एकताका लागि सबैभन्दा क्रियाशिल ‘इन्जिनियर हुन् वामदेव गौतम । पार्टी भित्र गौतमको छुट्टै गुट क्रियाशिल छ । तत्कालिन एमालेमा हुँदा नै वामदेवले तत्कालिन माओवादीसँग छुट्टै समुह बनाएर एकता गर्ने कोशिस नगरेका होइनन् । माधव नेपालसँग उनको राजनीतिक दूष्मनी छ ।

ओलीलाई पालिटिकल लेनदेनका आधारमा उनले समर्थन गरेपछि ओली अध्यक्ष निर्वाचित भए । उनी पूर्व एमालेमा किङ मेकर नै थिए । तर, अध्यक्ष भएपछि ओलीबाट धोका पाएको महशुस गरेका उनले आफ्नो स्पेशकै लागि पनि पार्टी एकताको पहल गरेको आरोप उनीमा छ । युद्धकाल देखि नै तत्कालिन भूमिगत माओवादीसँग वार्ता संवादका क्रममा प्रचण्डसँग उनको ‘खास’ सम्बन्ध छ ।
प्रचण्डले भनेको आलोपालो प्रधानमन्त्री बन्ने प्रसंगलाई उनले पुष्टि नै गरिदिएका छन् । केपी ओलीपछि प्रचण्ड प्रधानमन्त्री बन्ने कुरा गौतमले यसअघि देखि नै भन्दै आएका छन् । गौतमले यतिबेला प्रचण्डलाई खुलेरै साथ दिएका छन् ।
उनलाई निर्वाचनमा पराजित गर्न पार्टीभित्रैबाट सहयोग भएको आरोप समेत लगाएका थिए । त्यसपछि आफुलाई अन्तर्घात गर्नेलाई कारवाही नगरि उल्टै प्रदेश कमिटी सदस्य बनाएको भन्दै असन्तुष्ट व्यक्त गरेका थिए । पछि पुनः उपनिर्वाचनमा उठ्न लागेका गौतमलाई पार्टीले नै रोक लगाएपछि ओलीप्रति थप रुष्ट भएका थिए ।
ओली र वामदेवको लडाँई नेकपा एकिकरण नहुँदादेखि नै हो । तात्कालिन माओवादी केन्द्र र एमालेको एकिकरणपश्चातको नेकपामा समेत ओली–गौतम द्वन्द्वले चरम रुप लिएको थियो । चुनाव हारेर उग्र बनेका गौतमले पटकपटक पार्टीभित्र छलफल नगरि निर्णय गरेको आरोप लगाउदै ओलीविरुद्ध समानान्तर समिति समेत बनाएका थिए । पछिल्लो समय पुननिर्माण प्राधिकरणको नेतृत्व लिन लागेका गौतमलाई वाइपास गरेर प्रधानमन्त्री ओलीले प्राधिकरणसमेत आफ्नो मातहतमा ल्याएपछि आन्तरिक द्वन्द्व चरम उत्कर्षमा पुगेका हो ।
बादलले के गर्लान् ?
पार्टी नेतृत्व र सरकारको नेतृत्वको विषयमा गृहमन्त्री तथा नेकपा सचिवालय सदस्य राम बहादुर थापा बादल यतिबेला नै मुख खोल्ने पक्षमा छैनन् । पार्टी भित्रको आन्तरिक सन्तुलनमा उनी ओलीको क्याम्पमा लागेको आरोप लाग्ने गरेको छ । यसअघि गृहमन्त्री नै फेर्ने तयारी भएपछि बालुवाटारमा ओली र बादलबीच राजनीतिक लेनदेन भएको बुझिएको छ । यद्धपी उनी अहिले कसैको पक्ष वा विपक्षमा बोल्न चाहाँदैनन् ।

संगठनात्मक रुपबाट थापाको तल्लो तहसम्म पहुँच रहेको देखिन्छ । रहेको ददेव गुरुङ, पम्फा भुसाल, हितमान शाक्य, कुलप्रसाद रेग्मी लगायतका नेताहरु उनको समर्थनमा छन् । त्यस्तै सावित्राकुमारी काफ्ले, सुर्यप्रसाद सुवेदी, श्रीराम ढकाल लगायतका नेताहरु थापा समर्थक छन् । युद्धकालिन सहयात्री भएका हिसाबले अन्तिममा उनी अध्यक्ष प्रचण्डकै पक्षमा हुने बताइन्छ । यद्धपी पद जोगाउनका लागि भने बादलले अर्का अध्यक्ष ओलीको साथ छोड्नु दुर्भाग्य हुनेछ ।