धादिङवेशी–टारिबेशी सडकको कालोपत्रे आकाशे पानीले बगायो, विज्ञ टोलीसहित जानप्रतिनिधि र सिडियोले अनुगमन गर्ने

धादिङवेशी–टारिबेशी सडकको कालोपत्रे आकाशे पानीले बगायो, विज्ञ टोलीसहित जानप्रतिनिधि र सिडियोले अनुगमन गर्ने

धादिङ जेठ २० । धादिङको सदरमुकाम धादिङवेशीदेखि टारिबेशीसम्म जोड्ने सडकखण्डमा भैरहेको कालोपत्रेमा चरम लापरबाही भएको भन्दै स्थानीय बासिन्दाले विरोध गरेका छन् ।

झण्डै ७० करोड रुपैयाँमा निर्माण भैरहेको यो सडक–खण्डको कालोपत्रेका क्रममा ठेकेदार कम्पनीले ‘आँखामा छारो हाल्ने काम’ गरेको भन्दै स्थानीय निक्कै रुष्ट बनेका छन् ।


यसअघि कालोपत्रे गर्नुभन्दा पहिले पनि काममा चरम लापरबाही भएको भन्दै स्थानीय बासिन्दाले विरोध जनाउदै आएका थिए ।

सार्वजनिक सुनुवाई नै गरेर ठेकेदार कम्पनीले चरम लापरबाही गरेको भन्दै स्थानीय प्रसासन, जिल्ला प्रशासन र जनप्रतिनिधिको ध्यानाकर्षण गराएका थिए ।

अबको झण्डै १ महिनामा काम सक्याउनुपर्ने भएपछि ठेकेदार कम्पनीले हतारमा जसरी हुन्छ काम सक्याउनका लागि मात्रै काम गरिरहेको र यसो गर्दा गुणस्तरीय काम हुन नसकेको एक स्थानीयले बताए ।

उनले भने,–‘यो सडक–खण्डमा निर्माण कम्पनीले निक्कै ठूलो लापरबाही गरेको छ, यो भन्दा पहिले पनि यसरी नै चरम लापरबाही सहित काम अघि बढायो । अहिले कालोपत्रे गर्ने क्रममा पनि यसरी नै गुणस्तरहीन काम गरिरहेको छ । यस विषयमा सम्बन्धित निकायको ध्यान जान जरुरी छ । काम गराई गर्नका लागि मात्रै नहोस्, हाम्रो भनाई यहि हो ।’

कालोपत्रे गरेको ठाउँमा वर्षाका कारण पानीले खोतलेको सामाजिक संजालमा देखिएका तस्वीरहरुमा पनि स्पष्ट देखिन्छ ।

गुणस्तरहीन काम भएको पाईए एडीबीले बजेट राक्ने


यो सडक–खण्डको काम सक्याउने समय अब मात्रै १ महिनाको हाराहारीमा छ । असार मसान्तसम्ममा सडकको सबै काम सक्याउनुपर्ने निर्माण कम्पनी लामा कन्ष्ट्रक्सनलाई दबाब छ । झण्डै २७ किलोमिटरको धादिङवेशी–टारिबेसी सडक निर्माणका लागि २ वर्षे समय अवधिको लागि भन्दै नेपाली कांग्रेसका सांसद जिपछिरिङ लामाको स्वामित्व रहेको लामा कन्स्ट्रक्सनले सन् २०१७ मा निर्माणको जिम्मेवारी पाएको हो ।

एडीबीको सहयोगमा बन्दै गरेको यो सडकको कालोपत्रेको गर्ने क्रममा चरम लापरबाही भएको भन्दै चौतर्फी आलोचना भैरहेको छ ।

आलोचना भएसँगै जिल्ला प्रशासन कार्यलय धादिङ, एडीबीको प्रतिनिधि र जनप्रतिनिधि तत्कालै सडकको अनुगमनमा निस्कदै छ ।

प्राविधिकको टोली सहित अनुगमनमा निस्कन लागेका उनीहरुले कालोपत्रे गर्दा प्रयोग भएका कच्चा पदार्थ, निर्माणको गराई लगायत विषयमा बृहत अनुगमन गर्नेछ ।

धादिङका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेयले दियोपोष्ट डटकमसँग भने,–‘यो विषय व्यापक रुपमा बाहिर आएको छ, हामी केही दिनमा नै प्राविधिक टोली सहित सडकको अनुगमनमा निस्कदै छौँ ।

अनुगमन चाँडै गर्नुपर्यो भनेर सांसद ज्यूहरुले पनि भन्नुभएको छ । एडीबी प्रतिनिधि पनि अनुगमन टोलीमा सहभागि हुनुहुनेछ । अनुगमनले नै बताउछ की, सडक कसरी बनेको छ र कमसल खालको सामग्री प्रयोग भएको छ या छैन भनेर ।’

अनुगमनका क्रममा गुणस्तरहीन काम गरेको पाईए एडीबीले बजेट रोक्ने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।

उनले भने,–‘लापरबाही रुपमा त्यसरी काम गर्न मिल्दैन । ठेकेदार कम्पनीको विषयमा यसअघि पनि प्रश्न उठ्दै आएकै हो । अहिले पनि लापरबाही गरेको रहेछ भने एडीबीले रकम रोक्का गर्छ । जहाँ कालोपत्रे उप्किएको छ, ठेकेदार कम्पनीले ति ठाउँहरुमा फेरी दोहोर्याएर काम गर्नुपर्छ । यो विषयमा हामी एकदमै सजग छौँ’

छानविन गर्नुपर्ने जनप्रतिनिधिको भनाई

प्रदेश नम्बर ३ का प्रदेश सांसद जगत सिंखडाले गुणास्तरीयताका विषयमा आवश्यक छानविन गरिनुपर्ने बताएका छन् ।

यसअघि पनि ठेकेदार कम्पनीलाई खबरदारी गर्दै आएका सांसद सिंखडाले आफूले ठेकेदारको लापरबाहीको विषयमा एडीबी र जिल्ला प्रशासन कार्यलयसम्म कुरा पुर्याएको बताए । आम नागरिकले गुणास्तरीयताको विषयमा व्यापक आवाज उठाईरहेकोले आफू यस विषयमा निरन्तर लाग्ने उनले बताए ।

उनले आम जनसरोकारको विषयमा जोडिएको कुरामा कसैले पनि लापरबाही गर्न नपाउने बताए । काम गर्ने क्रममा केही समस्या भए ठेकेदार कम्पनीले जानकारी गराउनुपर्ने तर खुलेआम लापरबाही गरेर जनताको आँखामा छारो हाल्ने गरी कालोपत्रे गर्न नमिल्ने उनले बताए ।

ठेकेदार भन्छन्, –‘बगाएको ठाउँमा फेरी काम हुन्छ’


झण्डै २७ किलोमिटरको धादिङवेशी–टारिबेसी सडक निर्माणका अन्तिम काम सक्याउने समय मात्रै १ महिनाको हाराहारीमा मात्रै छ । यो अवधिमा अहिलेसम्म १२ किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ ।

धादिङवेशीदेखि मुरलीभञ्ज्याङसम्मको ६ किलोमिटर र टारिबेशीदेखिको ६ किलोमिटर सडक मात्रै अहिलेसम्म कालोपत्रे भएको धादिङवेशी टारिबेशी सडकखण्डका कन्ट्रयाक म्यानेजर यूरोज अर्यालले बताए । यो खण्डमा अन्तिम चरणको काम गर्न अझै बाँकी रहेको उनले बताए ।

निर्धारित समयमै काम सम्पन्न गरिसक्ने दाबी गर्दै उनले भने,–‘कालोपत्रे सुरु भएका ठाउँमा अबको ७ दिनपछि अन्तिम चरणको काम सुरु हुन्छ ।’

उनले कालोपत्रे पानीले बगाएको भन्ने कुरा स्थानीय बासिन्दाले नबुझेर भनेको पनि आरोप लगाए । कालोपत्रेको अन्तिम चरणको काम बाँकी भएको ठाउँमा वर्षाका कारण बगाएको भन्दै उनले जुन ठाउँमा बगाएको छ, ती ठाउँहरुमा फेरी काम हुने बताए ।

उनले भने, ‘अहिले जत्ति पनि कालोपत्रे गर्ने काम भैरहेको छ, प्राईम कोडको काम मात्रै भएको हो, अर्को चरणको काम हुन बाँकी नै छ । जहाँ कंक्रिटहरु बगाएका छन्, त्यहाँ फेरी काम हुन्छ । पुरै काम सक्किएकै छैन, कुरा नै नबुझी उहाँहरुले विरोध जनाउनुभयो ।’

पानी परेन भने अबको १२ देखि १५ दिनमा ‘फष्ट कोड’ को काम भ्याउने र त्यसपछिका १० देखि १५ दिनमा सबै काम सक्याउनेगरी काम तिब्र गतिमा अघि बढिरहेको म्यानेजर अर्यालले बताए । कालोपत्रे गर्ने क्रममा ठूलो भ्रष्टाचार भएको भनेर स्थानीय बासिन्दाले बताएको कुरालाई अर्याल मान्न तयार छैनन् ।

म्याद सक्किनै लाग्यो, स्थानीय बासिन्दाले अझै मुआब्जा पाएनन्

यो सडक खण्डको काम सक्याउने समय नजिकिदै गर्दा प्रभावित क्षेत्रका सबै स्थानीयबासिन्दाले अझै मुआब्जा पाउन सकेका छैनन् । गोलाभञ्ज्याङ आसपासका झण्डै ३ सय घरपरिवारले अझै मुआब्जा पाउन नसक्दा केही समस्या भएको कन्ट्रयाक म्यानेजर अर्यालले बताए ।

आफू मुआब्जा वितरण नभएसम्म काम गर्ने पक्षमा नभएको भएपनि ठूलो दबाबपछि कामलाई अघि बढाउनुपरेको उनको भनाई छ । यो सडक–खण्डको कालोपत्रे गर्ने काम दिनमा झण्डै ५४ सय मिटरको हाराहारीमा भैरहेको छ ।

Facebook Comments

Trending News