
काठमाडौं, २१ जेठ । शान्तिका साझा अभियान (कोक्याप) नेपालका अध्यक्ष तथा अधिवक्ता बद्रि प्रसाद भुसालले जातिय भेदभाव तथा छुवाछुतलाई ‘जेनोसाइड’ नरसंहारको संज्ञा दिएका छन् ।
‘जातिय भेदभाव तथा छुवाछूत हुनु भनेको जेनोसाइडको एउटा रुप हो,’ जातिय भेदभाव तथा छुवाछूत (कसुर र सजाय ) ऐन, २०६८ जारी भएको दिनको सम्झनामा मंगलबार राजधानीको माईतिघरमा आयोजित कोण सभालाई सम्बोधन गर्दै भुसालले भने,‘यो नरसंहारमा समलग्नलाई कारबाही गर्नुपर्छ । दलितहरुको न्यायको आवाजलाई नसुन्ने प्रचलनको म घोर भत्र्सना गर्छु ।’

भुसालले धर्मको नाममा कुनै जाती विशेषलाई अन्याय भए त्यसको बहिस्कार गर्ने समेत बताए ।
‘यदि धर्मको नाममा कुनै जाति विशेषलाई अन्याय हुन्छ भने त्यो धर्म मलाई चाहिँदैन । त्यो धर्मको विद्रोह गर्न चाहान्छु । कुनै परम्पराको कारणले कुनै जातिमाथि छुवाछुत हुन्छ भने त्यो परम्परालाई म अस्विकार गर्न चाहान्छु,’ उनको कथन थियो,‘कुनै संविधान र कानुनका कारणले कुनै जाति विशेषमाथि अन्याय हुन्छ भने त्यो कानुनको पनि विद्रोह गर्न चाहान्छु । त्यो कानुनको पनि उलंघन गर्न चाहान्छु । यस्तो खालको कानुन हामीलाई चाहिँदैन ।’
दर्जनौँ दलित अधिकार कर्मी सहभागी कोण सभालाई सम्बोधन गर्न पुगेका भुसाल गैरदलित समुदायका अधिवक्ता हुन् । आफू गैरदलित समुदायका प्रतिनिधित्व गर्ने भएतापनि उनले दलित समुदायमाथिको विभेदका विरुद्ध वकालत गर्दै आएका छन् ।
काभ्रेका अजित मिजार हत्या प्रकरणमा पीडित परिवारलाई राज्यले ठूलो अन्याय गरेको आरोप समेत भुसालले लगाए ।

‘अजित मिजारलाई बाहुन समुदायको छोरी विहे गर्यो भन्ने अपराधको नाममा उनलाई मारेर झुण्ड्याइयो । त्यतिमात्रै होइन राज्य प्रशासनले सुसाइड गर्यो भनेर रिपोर्ट तयार गर्यो र, उनलाई वेवारिसे बनाएर सार्वजनिक ठाउँमा गाडिने काम गरियो ।
लक्ष्मि परियारलाई दलित भएकै कारण विद्यालयमा पढाउने प्रधानाध्यापकले सार्वजनिक चौरमा कुटपीट गरेर पिसाव खुवाएर हत्या गर्ने काम भयो,’ भुसालले भने,‘यी प्रतिनिधि मुलक घटना हुन् । यी दुवै घटनामा अपराधमा समलग्न व्यक्तिहरुलाई सजाय भएको छैन । त्यस्तो खालको अनुसन्धान गर्ने नेपाल प्रहरी, अभियोजन गर्ने सरकारी वकिल लगायत यी संरचनाहरुको अवज्ञा गर्छु ।’
भिडियाे हेर्नुहाेस्