
काठमाडौँ, जेठ २२ । ठूला र शक्तिशाली व्यक्तिसँग तस्विर खिचाउने र सोही तस्वीर सामाजिक सञ्जालमा पोस्ट गर्ने अनि सर्वसाधरणलाई रवाफ देखाउने ।
असली नाम भेस बहादुर थापा । गुल्मीको साविक दुवि चौर गाविस हाल रेसुङ्गा नगरपालिकामा उनको स्थायी ठेगाना । सामाजिक सञ्जालमा भेष बिडिआर थापा राखेका छन् । उनको प्रोफाइल नियाल्दा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, उर्जामन्त्री वर्षमान पुन, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँगैका तस्विर देखिन्छ ।
सामाजिक सञ्जालमा ठूला मान्छेसँगको तस्विर देखाउने र सोही तस्विरका आधारमा आफू ठूलो र शक्तिशाली मान्छेको छत्रछायाँकै हुँ भन्दै सर्वसाधरणबाट असुली धन्दा चलाउनेदेखि होसियार बन्नुपर्ने भएको छ ।
राजधानीमा विद्युतीय सवारी साधन चलाउने भन्दै ठूला र शक्तिशाली व्यक्तिसँग फोटो खिचाउँदे फेसबुकमा पोस्ट गर्ने थापाको एउटा असुलीधन्दा पर्दाफास भएको छ ।
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको ‘मान्छे हुँ’ भन्दै दर्जनौँ युवाहरुलाई मन्त्रीका स्वकिय सचिव खेम ज्ञवालीलाई भेट गराउने त्यसपछि अमेरिका पठाइदिन्छु भन्दै असुली धन्दा चलाउने गरेको पाइएको छ ।
सुन्दर यातयात प्रालीका अध्यक्ष समेत रहेका थापाले ७ महिनाअघि परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँगै अमेरिका पठाइदिन्छु र उतै लुकाइदिने भन्दै चितवनका आकाश थापा र नारायण थापाबाट ८ लाख रुपैयाँ लिएको खुलाशा भएको छ ।
स्थायी घर गुल्मी रहेका थापाले सोही जिल्लाका सांसद समेत रहेका मन्त्री ज्ञवालीको रवाफमा ठगीधन्दा चलाउने गरेको स्रोतको दाबी छ । चितवनको खैरहनी नगरपालिका–३ घर भएका नारायण थापा र आकाश थापालाई अमेरिका लैजान्छु भन्दै जनही १२÷१२ लाखको माग गरेका थिए ।
मन्त्रालयमा सेटिंग मिलाउन र प्रारम्भिक खर्चको लागि भन्दै थापाले आकाश र नारायण संग ४–४ लाख रुपैयाँको माग गरेका थिए । अमेरिका जान पाउने भएपछि दुबै जनाले थापालाई पैसा जम्मा गर्द राजि भए । काठमाडौँमा भएका थापाले फोनमार्फत सो रकम आफ्नो बैँक खातामा जम्मा गर्न लगाए र सोही अनुसार आकाश र नारायणले गरे ।

दियोपोस्टलाई प्राप्त भौचरमा गत पुस १७ गते प्रभु बैंकको टाडी शाखाबाट भेष बहादुर थापाको खाता नम्बर १३३१०७०१५४२८०००००१ मा २ लाख जम्मा भएको देखिन्छ । सोही खाता नम्बरमा गत साउन १७ गते थप २ लाख जम्मा भएको देखिन्छ ।

तर, रकम जम्मा भएको लामो समयसम्म अमेरिका जान नपाएपछि पीडित युवाहरुले आफू ठगिएको चाल पाएका थिए । ‘आफूहरु ठगिएको र ठगिको विषयमा सञ्चार माध्यममा गएर सार्वजनिक गरिदिने धम्की दिएपछि पीडित युवाहरुलाई केही दिनअघि चार लाखको चेक दिएर पठाएका थिए । पीडित युवाहरु चेक लिएर प्रभु बैंकको बिजुलीबजार स्थित केन्द्रीय कार्यालय पुगेका थिए । तर, चेकमा सहि नै गलत भएको भन्दै बैंकले फिर्ता पठाएका थिए । तर, पुन युवाहरुले घटना सार्वजनिक गर्ने धम्की दिएपछि रकम फिर्ता गर्न उनी आफै आएका थिए ।

आफुलाई प्रहरी, पत्रकार र सरकारी मान्छेको रुपमा चिनाउँदै लाखौँ ठगी गर्ने गरेका थापाले विभिन्न मुद्धा मामिला, हत्या, चोरी, ठगी लगायतका मुद्धाहरु पनि आफुले सजिलै मिलाउन सक्ने भन्दै धेरै मानिसहरुबाट रकम लिने गरेका छन् । सात महिनाअघि मात्र उज्वल उप्रेतीको मुद्धा मिलाइदिन्छु भन्दै डेढ लाख लिएका थिए ।
पर्यटन मन्त्री रविन्द्र अधिकारीसँग पनि आफ्नो राम्रो सम्वन्ध रहेको बताउँदै मानिसहरुलाई ठगी गर्ने गरेका समेत भेटिएको छ । ज्यान मार्ने मुद्धा मिलाइदिन्छु भन्दै कुमार थापाबाट समेत उनले ४० हजार लिएका स्रोतको दाबी छ ।
अदालती मिलाउनका लागि भन्दै बासु सेडाइसंग ८० हजार लिएको समेत स्रोतको दाबी छ । पर्यटन मन्त्रीको पिए संग आफ्नो राम्रो सम्वन्ध भएको भन्दै विमानस्थलको सटरको ठेक्का समेत आफुले मिलाउने बताएका थिए । त्यसका लागि दिपक थापासंग पर्यटन मन्त्रीको पिएलाई दिनुपर्छ भन्दै ५० हजार लिएका हुन् । तर, मन्त्रीका पिएलाई भने यस्तो कुरा जानकारी नै नभएको स्रोत बताउँछ ।
आफूले चढेको कार समेत अर्का व्यक्तिबाट कब्जामा लिएको पाइएको छ । चितवन घर भएका कुमार थापाको बा १० च ६५१० नम्बरको फोर्ड फिगो गाडी कब्जा गरि आफुले चढ्दै आएका थिए । मन्जश्री फाइनान्समा ऋण लिएर थापाले उक्त गाडी खरिद गरेका थिए । यता, फाइनान्सले भने कुमारको नाममा ३५ दिने सुचना समेत प्रकाशन गरिसकेको छ । तर यस विषयमा थापालाई सम्पर्क गर्दा उनले आफूले कुमार थापाको गाडी चढेको तर आफूले केही पैसा दिएको बताए ।
‘उहाँहरुले मेरो पैसा लिनु भएको थियो । त्यो पैसा फिर्ता नआएपछि मैले गाडी चढेको थिएँ । अहिले पैसा दिएर उहाँहरुले गाडी फिर्ता लगिसक्नु भयो । मैले कसैसँग किनेको हुँ । हाम्रो कारोबार हो,’ उनले भने ।
अमेरिका पठाउँछु भन्दै चितवनका दुई युवासँग पैसा लिएको प्रमाण देखाउन समेत उनले चुनौती दिए ।
‘अहिलेसम्म कसैसँग अमेरिका लैजान्छु भनेर पैसा लिएको छैन । लिएको प्रमाण ल्याउनुस् कानुन बमोजिम सजाय भोग्न तयार छु,’ थापाले आफूमाथि लागेको आरोपको खण्डन गर्दै भने,‘उहाँहरुसँग कारोबारको सिलशिलामा पैसा लिएको हो । एउटा साथीले घुम्न जाने भए तिमीहरु आउ भनेको थियो । उसैलाई हामीले पैसा जम्मा गरेर पठाएका हौँ । उसले पैसा पठाउन ढिला गरेपछि मैले आफ्नै पैसा हालेर फिर्ता गरेको हुँ । इमान्दारसाथ पैसा फिर्ता गरेको छु ।’
थापाले आफ्नो ५४ हजार रुपैयाँ डुबेको समेत दाबी गरे ।