लाशमाथि टेक्दै ज्ञानमाला र विजय सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा !

दियोपोस्ट संवाददाता

रीता बुढाथाेकी

काठमाडौँ । यात्रा कठिन थियो । मृत्युका काला बादलहरु पाइलै पिच्छे मडारिरहन्थे । हिँउले भरिएको साँघुरो बाटो । जे पनि हुन सक्थ्यो । बाटोमा थुप्रै बेवारिसे लासहरु यत्रतत्र थिए । तिनै लासमाथि कुल्चिएर यात्रा गर्नु पर्ने, कता कता मन भारी भएको थियो ।

वास्तवमा सगरमाथा आरोहण गर्ने कुरा कहाँ सजिलो थियो र ? त्यही असजिलोको बीचबाट आफ्नो सानैदेखिको रहर पुरा गर्नु थियो । उनले मन बलियो बनाइन् र जस्तोसुकै कठिन परिस्थिति आए पनि गन्तव्यसम्म पुग्ने अठोट लिएर अगाडि बढिन् । उनी हुन्–कपिलवस्तु बुद्धभुमी–२, गोरुसिंङ्गेकी ज्ञानमाला रणपाल ।
वि.स.२०५० सालमा पासाङ्ग ल्हामु शेर्पाले पहिलो पटक सगरमाथा आरोहण गरेको सुन्दा ज्ञानमालाले आश्चर्य मानेकी थिइन् । त्यतिबेला उनको मनमा थुप्रै प्रश्नहरु तेर्सिएका थिए । ‘यो सगरमाथा भन्ने ठाउँ कस्तो होला, त्यहाँ मान्छे किन जान्छन्, महिला पनि जाने रहेछन्, म पनि जान पाए कस्तो हुन्थ्यो ? यस्तै यस्तै अनुत्तरित प्रश्नले उनको मनमा डेरा जमाएको थियो ।


तर पढाई र घरको जिम्मेवारीले गर्दा उनलाई त्यतातर्फ सोँच्ने फुर्सद नै भएन । उनका बुवा र दाजु भारतीय सैनिकमा कार्यरत थिए । घरमा भाइ र बहिनीको जिम्मेवारी उनकै काँधमा थियो । स्कुले जीवनमा विभिन्न खेलमा उनी सहभागी हुन्थीन् । मानौ, पढाइमा भन्दा खेलमा उनको रुची बढी थियो । जीवनमा केही फरक र नयाँ कार्य गर्न रुचाउने ज्ञानमाला २०५६ सालमा पढाइ छोडेर राजधानी आइन् । त्यतीबेला नेपाल प्रहरीमा भर्ना खुलेको थाहा पाएर उनी पनि त्यतै हानिइन् । नेपाल प्रहरीको छनौट प्रकृयामा उनी उत्कृठ ठहरिइन् । त्यसपछि सानै उमेरमा उनको जागिरे जीवन सुरु भयो ।


भर्ना भएको केही समयमै ज्ञानमालाले नेपाल प्रहरीको सबै तालिम पुरा गरिन् । तर कसैको नियन्त्रण र दबाव नरुचाउने, खुल्ला स्वभावकी उनले लामो समयसम्म उनले जागिर खान सकिनन् । भर्ना भएको ६ वर्ष पछि उनले जागिर छाडेकी थिइन् ।


ज्ञानमालाले जागिर छोडेपछि सामान्य जीवन यापन गर्दै थिइन् । २०७४ सालमा विजय घिमिरे विश्वकर्माले सगरमाथा आरोहण गरेको समाचार सुनेर उनी आफु पनि हौसिइन् । ‘हाम्रो समुदायका मान्छेले पनि सगरमाथा चढेछन्’ भनेर खुसी भइन् । त्यसपछि उनको सानै देखिको रहर फेरि पलायो । उनी प्रथम दलित सगरमाथा आरोही विजय घिमिरे विश्वकर्मालाई भेट्न काठमाडौँ आइन् ।


उनले विजयसंग भेटेपछि आफूपनि सगरमाथा चढ्न इच्छुक रहेको बताइन् । उनको कुरा सुनेर विजय हाँसे । किनकी ज्ञानमालाको शरिर मोटो थियो । मोटो मान्छेलाई सगरमाथा चढाउन मुस्किल हुने भन्दै विजयले ज्ञानमालालाई नसम्झाएका पनि होइनन् । तर ज्ञानमायाको शाहस, आँट र फुर्तिलोपना देखेर विजयले उनलाई कुनै पनि हालतमा सगरमाथाको शिखरमा पुर्याएरै छाड्ने अठोट लिए ।


ज्ञानमालाले विजयसंग करिव ९ महिना जति आरोहण सम्बन्धी तालिम लिइन् । तालिमपछि पहिलोपटक ६ हजार १ सय ६० मिटर अग्लो ‘एलम्पिक हिमाल’ आरोहण गरिन् । त्यसपछि उनी भित्र सगरमाथा आरोहण गर्ने हिम्मत पलायो । उनले आँट गरिन् विजयले साथ दिए । कुनै बेला ‘सगरमाथा चढ्न पाए कस्तो हुन्थ्यो’ भनेर मनमनै कल्पिने उनले सन् २०१९ मे २३ तारिखका दिन पहिलो पटक सगरमाथामा सफल आरोहण गरिन् ।


सगरमाथा आरोहण गर्दाको उनको अनुभव बेग्लै छ । उनलाई आधार शिविरबाट चुचुरोसम्म पुग्नका लागि जम्मा ५ दिन लागेको थियो । बिहानको १० बजेको थियो । शिखरमा झलमल्ल घाम लागेको थियो । तर त्यो घाममा कुनै न्यानोपन थिएन । अत्यधिक चिसो थियो । चारैतिरबाट हावा चलिरहेको थियो । उनले आँखाले भ्याए जति सबै ठाउँमा हेरिन् । नेपाल तर्फको भुभाग र चिन तर्फको भुगागलाई राम्रोसंग नियालिन । नेपाल र चीनबीच खासै फरक नपाएको उनको अनुभव छ ।


सगरमाथाबाट चारैतिर अत्यन्तै मनमोहक दृश्य देखिन्थ्यो । त्यो दृश्यले सपनाबाट ब्यूँझिए जस्तो अनुभुती भएको थियो उनलाई । एकै छिनमा मन फुरुङ्ग भएर आयो । घर छोडेको महिनौ भइसकेको थियो । आधार शिविरबाट चुचरोसम्म पुग्नका लागि पाँच दिनको कठोर यात्रा गर्नु परेको थियो । लगातारको हिँडाई र थकान एकैछिनमा गायव भयो । शरिरिक थकान उस्तै थियो तर उनको मन थाकेको थिएन ।


साँच्चिकै विचित्रको स्वर्गीय अनुभुती गरिन उनले । हजार दुख र कष्ट सहेर त्यहाँसम्म पुगेतापनि त्यहाँको स्वर्गीय आनन्दले उनलाई ती सबै बिर्साइदियो । उनी त्यहाँ करिव १ घण्टा जति बसिन् ।
वस्तवमा उनको सानैदेखिको सपना पुरा भएको थियो त्यतीबेला । उनी सम्झिन्छिन्,–‘यदी घर परिवारबाट रोकावट भएको भए म सगरमाथा चढ्न सक्दिनथेँ होला ।’

सन्तानको सफलताको पछाडी अभिभावकको साथ र आशिर्वाद चाहिन्छ । उनलाई पनि आफ्नो परिवारको पूर्ण साथ, समर्थन र अर्सिवाद थियो । त्यसैले आफु संसारको सबै भन्दा अग्लो हिमाल सगरमाथा चढेर विश्वकिर्तिमानी कमाएर फर्किन सफल भएको उनी बताउँछिन् ।


यद्यपी, विजय घिमिरे विश्वकर्माले उनलाई सगरमाथाको शिरखरसम्म पुर्याउनका लागि धेरै मेहनत गरे । उनी शिखरबाट फर्किदाँ हिउँको आँधी आयो ।

त्यतीबेला उनको आँखामा हिउँले सिधै असर गर्यो । उनले आँखा देख्नै छाडिन् । त्यतबिेला उनलाई विजयले बोकेर आधार शिबिर सम्म ल्याइ पुर्याए । ‘यदी विजय नभएको भए म उतै मरिसक्थे होला’ उनले विजयको साथ र सहयोगले नै आफु सगरमाथा आरोहण गर्न सफल भएको उनले बताइन् ।


ज्ञानमालालाई सगरमाथा चढाउने विजयको कथा


सोलुखुम्बु जिल्ला, दुधकुण्ड नगरपालिका गार्मा–९ मा जन्मिएका विजय घिमिरे विश्वकर्मा प्रथम दलित सगरमाथा आरोहीको रुपमा ख्याती कमाएका व्यक्ति हुन् । घरको आर्थिक अवस्था कमजोर भएका कारण सानैमा पढाई छोडेर जागिरको खोजी गर्दै सोलुखुम्बु झरेका उनी खुम्बुमा आएर हिमाल चढ्ने आरोहीको भारी बोक्ने, विदेशीको खाना पकाउने, विदेशीलाई हिमाल चढ्नका लागि सहयोग गर्नेे काम गर्थेे । त्यतीबेला उनी १६ वर्षका थिए । उनले होटलमा थुप्रै पर्यटकहरुलाई चिन्ने मौका पाए । त्यस पछि उनी पदयात्रा तिर लागे ।


उनको काम पदयात्रामा आउने विदेशीको भारी बोक्ने थियो । खुम्बुदेखि सगरमाथाको बेश क्याम्पसम्म भारी बोक्नु पथ्र्यो । उनले लगभग ५ वर्षसम्म बिदेशीको भारी बोकेरै बिताए । त्यसपछि रगरमाथाको बेस क्याम्पमा आरोहीहरुको कुक हेल्परको रुपमा काम गर्न थाले ।

झण्डै ५ वर्षसम्म हेल्परका् काम गरेका उनलाई कता कता सगरमाथा आरोहण गर्ने रहर पलायो । रहर भएर मात्र नहुने, उनी संग सगरमाथा चढ्ने खर्च थिएन । त्यसैले उनले त्यतीबेला सगरमाथा चढ्ने हिम्मत जुटाउन सकेनन् । आर्थिक अभावका कारण उनको रहर रहरमै सिमित रह्यो ।


उनी पर्यटकका बीचमा निकै लोकप्रीय थिए । बिदेशीको क्याम्प निर्माण गर्ने, खाना बनाउने अनि उनीहरुलाई आवश्यक सामाग्रीको बन्दोबस्त उनी आफैले गर्थे । हिउँमा काम गनै निकै कठिन थियो । तर पनि उनलाई त्यो जोखिमको कुनै परवाह थिएन । छिटो, छरितो, बफादार र कामप्रति लगनशिल भएर पनि होला उनी सबैका प्रीय थिए । उनीसंग फरक किसिमको कला भएकाले पनि उनको कलाको चौतर्फी तारिफ हुने गथ्र्यो ।

लप्सु


उनी निर्माण काममा उनी पोख्त थिए । अद्भुत खालको सीपका कारण उनलाई सबैले रुचाएका थिए । उनी मिलनसार, सहयोगी र इमान्दार भएका कारण पनि उनलाई त्यहाँ बस्ने वातावरण प्रशस्त थियो ।


सगरमाथा चढ्नु अघि सबै आरोहीले पुजा गर्ने चलन छ । जुन सुकै जाती होस् या धर्म, सबैले बौद्ध धर्म अनुसार पुजा गर्नु पर्ने नियम छ । पुजा गर्नका लागि लप्सु बनाइन्छ र त्यही लप्सुमा बौद्ध धर्म अनुसार पुजा गरिन्छ । उनी लप्सु बनाउनमा पनि माहिर थिए । अरुको भन्दा राम्रो लप्सु बनाउने हुँदा उनको तारिफ त्यहाँ पनि हुन्थ्यो । त्यहाँ काम गर्ने मध्ये उनी एकमात्र दलित समुदायको थिए । उनका लागि यो अवसर र चुनौति दुबै थियो ।


नेपाल बहु जाती, बहु भाषी र बहु संस्कृति भएको देश हो । तर अन्य जाती र समुदायले सगरमाथा आरोहण गरेको समचार सुन्दा ‘दलितले चाँही किन नगरेका होलान्’ भनेर विजयले मनमनै सोँचे गर्थे । दलित समुदायको प्रतिनिधित्व गर्दै आफैले सगरमाथा आरोहण गर्ने उनको मनशाय थियो । त्यसैले उनले आफ्नो टिममा सगरमाथा आरोहण गर्ने इच्छा ब्यक्त गरे ।


उनको कुरा सुनेर कसैले हौसला दिए भने कसैले ‘दलितको छोरा पनि के सगरमाथा चढ्छौँ’ भनेर हेप्थे । ‘दलितहरु मन्दिर भित्र बसेर पुजा गर्न सक्दैनन्, सगरमाथा जस्तो पबित्र ठाउँमा कहाँ जान मिल्छ? यदी दलितले सगरमाथा आरोहण गरेको खण्डमा अनिष्ट हुन्छ’ भन्थे । तर पनि उनलाई सगरमाथा आरोहण गर्ने हुटहुटीले छाडेन ।


सन् २०१५ मा विजयले पहिलो पटक सगरमाथा आरोहण गर्ने तयारी गर्दै थिए । त्यतीबेला विजयलाई रोक्नेहरुका कमी थिएन । ‘दलितले सगरमाथा चढ्नै हुँदैन, यदी चढी हाल्यो भने पनि अनिष्ट हुन्छ’ भनेर सगरमाथा नचढ्नका लागि निकै दवाव आयो । तर पनि उनले त्यो दवावलाई वास्ता गरेनन् । उनी आरोहणको अन्तिम तयारीमा थिए । ‘पहिलो गासमै ढुङ्गा’ भने झैँ, आरोहणको अन्तिम तयारी हुँदै गर्दा बैशाख १२ गतेका दिन नेपालमा ठुलो भुकम्प आयो । भुकम्पको धक्काले देशै भरि क्षती भयो । लाखौँ घर भत्किए । हजारौँले ज्यान गुमाए । यता सगरमाथामा पनि ठुलो हिमपहिरो गयो । त्यही पहिरोमा परेर बेस क्याम्पमै २२ जनाले ज्यान गुमाए । ६५ जना आरोही घाइते भए । कैयौँ अंगभंग भए । विजय आफु पनि मुस्किलले बाँचे ।


विजयलार्ई सगरमाथा नचढ्नका लागि दबाब दिनेहरुले भन्ने मौका पाए त्यतीबेला, ‘दलितले सगरमाथा आरोहण गर्न खोजेको भएर भुकम्प आयो र देशमा यस्तो अनिष्ट भयो ।’ ‘त्यसोे भए, ९० सालको भुकम्प के कारणले गयो त?’ उनले प्रतिप्रश्न गर्छन् । ‘हामीले टेक्ने बित्तिकै धर्ति हल्लिने हो भने, हामी त निकै शक्तिशाली रहेछौँ, आखिर हामी हेपिएका छौँ, अछुत बनाइएका छौँ, हामीलाई मान्छेको दर्जा दिइएको छैन, आखिर किन?’ विजयले आक्रोश ब्यक्त गर्छन् । देशको तत्कालिन परिस्थितिका कारण उनी त्यतीबेला सगरमाथा चढ्न सकेनन् ।


तर, जसले जे भने पनि विजयले आरोहण प्रयास भने जारी राखे । उनी सगरमाथा चढ्ने खर्च ‘ट्रयाक नेपाल’का डाइरेक्टर सागर पौडेलले ब्योहेरे । आवश्यक कपडा, जुत्ता र हिमाल चढ्दा चाहिने अन्य सामाग्री उनी आफैंले किने ।


अथक प्रयास, मेहनत र शाहस बटुलेर सन् २०१७ मे ८ तारिखको बिहानीमा विजयले संसारकै सर्वोच्च शिखर सगरमाथाको शिरमा पहिलो पटक पाइला टेकेरै छाडे । आफ्नो सपना पुरा भएकोमा उनी जती खुसी थिए त्यो भन्दा बढी खुसी थिए आम दलित समुदायहरु । ‘आखिर दलितहरु पनि के कुरामा कम छन् र ?’ विजयले साच्चिकै विजय प्राप्त गरेको दिन, सबै दलित समुदायका लागि ऐतिहाशिक दिन थियो त्यो । त्यतीबेला विजयले नेपालको राष्ट्रिय झण्डा र विश्वकर्मा समुदायको प्रतिक खुकुरी सगरमाथाको चुचुरोमा गाडेर फर्किए ।


उनको आरोहण पश्चात सिंगो दलित समुदायमा हर्ष बिभोर भयो । किनकी विजय घिमिरे विश्वकर्मा नै प्रथम दलित सगरमाथा आरोही बनेका थिए । दलितले सगरमाथा आरोहण गर्न खोजेको भएर भुकम्प आयो भन्नेहरु उनको सफल आरोहण पछि चुप थिए । किनकी त्यतीबेला न धर्ती हल्लियो, न कुनै प्रलय नै भयो । बरु उनले सम्पूर्ण दलित समुदायको इतिहाँस रचना गरेर फर्केका थिए, सिंगो दलित समुदायको शान र प्रतिष्ठा बनेर उदाएका थिए ।


सगरमाथा आरोहण गर्न खोज्नु भनेको मृत्युलाई अंगाल्नु पनि हो । हो, उनले त्यही मृत्युलाई अंगालेका थिए । कसले के भन्यो भन्ने कुरालाई उनले वास्ता गरेनन् । मृत्युलाई जितेर सफलता पूर्वक सगरमाथा आरोहण गरि फर्किएका उनले भन्छन्,–‘म मर्नका लागि तयार भएर हिडेको मान्छे हुँ, म एक जना मरेर दलित समुदायको इतिहासमा नाम लेखिन्छ भने त्यो मृत्यु मलाई स्वीकार छ भनेर मृत्युलाई अंगाले ।’


उनी सगरमाथाको सफल आरोहण पश्चात राजधानी फर्किए । उनको आरोहणले सम्पूर्ण दलित समुदायमा उत्साह छाएको थियो । दलितका संघसंस्था तथा बिभिन्न राजनीतिक दलका दलित भातृसंगठनको सम्मान थापेका उनलाई राज्यले भने खासै वास्ता गरेन । तत्कालिन सरकार र राज्यबाट पाउनु पर्ने साथ सम्मान आफुले नपाएको उनको गुनासो छ ।


आफु सगरमाथा आरोहण गरेर सम्मानित हुदैँ गर्दा उनलाई कता कता खल्लो अनुभुति हुने गरेको उनी सुनाउँछन् । अहिले पनि हाम्रो समुदाय जातीय बिभेदको कस्टडीमा पिल्सिएको छ । हामी माथि अछुतको पगरी गुथाइएको छ । अहिले पनि हाम्रा दिदी बहिनीहरुले कार्यालय सहयोगीको रुपमा समेत जागिर पाउन सकेका छैनन् । यही कुराले उनलाई दिनरात पिरोल्ने गथ्र्यो । ‘एक जना दलित महिलाले पनि सगरमाथा आरोहण गरेर बिश्व किर्तिमानी कायम गर्न सकेको भए कति राम्रो हुन्थ्यो होला?’ उनले मनमनै प्रश्न गर्थे । यो बिचारले त्यतीबेला सार्थकता पायो जव कपिलबस्तुकी ज्ञानमाला रणपालले सन् २०१९ मे २३ तारिखका दिन प्रथम दलित महिला सगरमाथा आरोहीको रुपमा सगरमाथा आरोहण गरेर देखाइन् ।


रणपालले सगरमाथा आरोहण गरेर विश्व किर्तिमानी कमाउनुको पछाडी विजयको हात निकै महत्वपूर्ण छ । विजयले आफु सगरमाथा आरोहण गरेर फर्के पछि दलित महिलालाई पनि आरोहण गराई छाड्ने अठोट लिएका थिए । त्यसपछि उनले सगरमाथा अरोहण गर्न चाहाने दलित महिलाको खोजी गर्ने थाले । तर शारिरिक र मानशिक रुपमा आरोहण गर्नका लागि उपयुक्त दलित महिला कतै पनि भेटेनन् । अन्त्यमा कपिल बस्तुकी ज्ञानमाला रणपाल उनको सम्पर्कमा आइन् । शारिरिक रुपमा उनी मोटी थिइन् ।

सगरमाथा आरोहण गर्नका लागि उनको शरिरले साथ नदिने हो की भन्ने शंका विजयले गरेका थिए । तर रणपालले आफु जसरी पनि आरोहण गर्ने भनेर हिम्मत देखाइन् । विजयले रणपाललाई ९ महिलासम्म सगरमाथा आरोहण सम्बन्धी तालिम दिए । तालिममा उनी अब्बल देखिइन् । भलै उनको माटो शरिरले उनको सगरमाथा आरोहण गर्नका लागि रोकेन ।


विजयले ज्ञानमालालाई लिएर सन् २०१९ मे २३ तारिखका दिन दोस्रो पटक सगरमाथा आरोहण गरे । पहिलो पटक खुकुरी सगरमाथाको शिखरमा गाडेका विजयले दोस्रो पटक भने अहिलेसम्मकै सबैभन्दा ठूलो राष्ट्रिय झण्डा गाडेर आए । त्यससंगै आफुलाई जन्म दिने आमा बुवाको फोटो सगरमाथामा पुर्याए । त्यति मात्रै होइन,उनले एकिकृत नेपाल राष्ट्रिय विश्वकर्मा समाज र बराह ज्वेलरीको ब्यानर समेत सगरमाथाको शिखरसम्म पुर्याए । उनी भन्छन्, ‘म दलित समुदायको सीप, कला, शक्ति र शाहसलाई बिश्व सामु चिनाउनका लागि जन्मेको मान्छे हुँ ।’ विश्वकर्मा समुदायको कला र ब्यवशायलाई बिश्वको सार्बोच्च शिखरसम्म पुर्याएर प्रवद्र्धन गर्नेे उद्धेश्य अनुरुप विश्वकर्मा समाज र बराह ज्वेलरीको ब्यानर सगरमाथाको शिखरसम्म पुर्याएको उनले बताए ।


आफु मात्रै होइन, आफ्नो समुदायको छोरीलाई समेत सगरमाथा आरोहण गराउन सफल भएकोमा उनी खुसी ब्यक्त गर्छन् । ज्ञानमालालाई सगरमाथा आरोहण गराएर आफ्नो सपना पुरा भएकोमा उनी खुसी ब्यक्त गर्छन् । उनी भन्छन्, ‘हामी सगरमाथा मात्र होइन, हामीलाई समाजले बन्देज लगाएका सबै ठाउँमा पुग्नु पर्छ र अघि बढ्नु पर्छ ।’

सम्बन्धित खबर