
दियोपोस्ट संवाददाता
कास्की, २४ जेठ । ५ करोडभन्दा बढी रकम ठगी गरेको अभियोगमा जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएको ३ महिना वित्न लाग्दा समेत प्रहरीले विपेन्द्र राज बतासलाई पक्राउ गर्न नसकेको खुलाशा भएको छ ।
बतासको ठगीधन्दाबारे समाचार लेख्ने पत्रकारलाई केही बेरमै पक्राउ गर्ने प्रहरीले बतास कम्पनिका मालिक विपेन्द्रराज बतासलाई भने हालसम्म पक्राउ गर्न सकेको छैन ।
पोखरा लेकसाइडका जनक पहारी र दाल प्रसाद श्रेष्ठलाई होटल सिम्रिक विक्रि गर्ने बहानामा ४ करोड २३ लाख रुपैयाँ ठगी गरेका विपेन्द्रराज यतिबेला नेपालमै लुकिछिपी बस्दै आएपनि प्रहरीले पक्राउ गर्न नसकेको पीडितको आरोप छ ।
पीडितहरुले गत गत वैशाख २ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा ठगीको जाहेरी दर्ता गराएका थिए । ठगीको जाहेरी दर्ता भएपछि कास्की जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो तर, जारी भएको ३ महिना वित्न लाग्दा पनि उनी पक्राउ परेका छैनन् ।
‘हामीले जिल्ला प्रहरी कार्यालयमा गयौँ र ठगीको जाहेरी दियौँ । हाम्रो जाहेरी दर्ता गर्न पनि एक हप्ता नै लाग्यो । दर्ता गर्न अस्विकार नै गरियो,’ पीडित जनक पहारीले भने,‘अन्तिममा दर्ता त भयो तर अहिलेसम्म पक्राउ गरिएको छैन । प्रहरी प्रशासन र बतासको मिलेमतो छ भन्ने हामीलाई आशंका लागिरहेको छ ।’
पीडितद्वयले प्रहरीले अपराधीलाई पक्राउ गर्नुभन्दा पनि बहानाबाजी गरेको र आफूहरुलाई झूट बोलेको बताए ।
‘प्रहरीले बहानाबाजी मात्रै गरिरहयो । हामी बुझ्न जाँदा मोबाइल स्वीच अफ छ बुझ्दै छौँ भन्ने जवाफ आउँथ्यो । हामीले जाहेरी दर्ता गरेको दिन पत्रकार अर्जुन गिरीलाई पक्राउ गरियो,’ अर्का दाल प्रसाद श्रेष्ठ,‘हामी अहिले दुखी छौँ । हामी हारगुहार गरिरहेका छौँ । हामीले जाहेरी दर्ता गरेको वैशाख २ गते हो । तर आज जेष्ठ महिनाको अन्तिमसम्म पनि हाम्रो जाहेरीमा प्रहरीले कुनै एक्सन लिएको छैन । कास्की प्रहरीले अहिलेसम्म विपिन बतासलाई पक्राउ गर्न सकेको छैन । के कारणले हो ? हाम्रो जाहेरी दर्ता भएको २४ दिनसम्म प्रहरी के हेरेर बसेको छ ।’
पीडितहरुले प्रहरीकै मिलेमतोमा अपराधी लुकाइएको आरोप छ ।
‘कास्की प्रहरीकै मिलेमतो छ । खोजी राखेका छौँ । फोन स्विच अफ छ भन्ने जवाफ आउँदा हामीलाई शंका लागेको छ । एसपी ओम रानाले नै त्यसो भन्नु भएको छ,’ पीडित जनक पहारीले भने,‘ठगीमा मुद्दा दर्ता गर्दा पनि कास्की प्रहरीले त्यसलाई नभेट्नु हामीलाई पीडा लागेको विषय हो । मुद्दा चलाउनका लागि पहिला बतासलाई पक्राउ गर्नुपर्छ ।’