
काठमाडौं, २६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वास पात्रका रुपमा चिनिएका गृह सचिव प्रेम कुमार राईलाई मुख्य सचिव बनाउने तयारी रहेको खुलाशा भएको छ ।
उनलाई मुख्य सचिव बनाउने तयारीसँगै हालका मुख्य सचिव लोकदर्शन रेग्मी भने विदामा बसेका छन् ।
‘साइलेन्ट’ बस्न रुचाउने गृहसचिव राईलाई मुख्य सचिव बनाउने अन्तिम तयारी रहेको भन्दै गृहमन्त्रालयमै चर्चा हुन थालेको छ । गृहमन्त्रालयका एक अधिकारीका अनुसार गृहसचिव राई आफै मुख्य सचिव बन्ने दौडधुपमा छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समेत रिझाइसकेको स्रोतको दाबी छ ।
पूर्व सभामुख सुभाष नेम्वाङको विश्वास पात्र रहेका राईलाई गृहसचिव बनाउन समेत नेम्वाङको ठूलो भूमिका थियो ।
२ वर्षअघि देखि गृहमन्त्रालयमा कार्यरत रहेका राई आगामी १ महिना भित्रै मुख्य सचिव बन्ने दौडमा छन् । तर उनको छिट्टै मुख्य सचिव बन्ने दौडमा प्रधानमन्त्रीको युरोप भ्रमणले बाधा पुर्याएको छ । प्रधानमन्त्री ओली हिजो युरोप भ्रमण्मा गएका छन् ।
गृहसचिव राईले मुख्य सचिव नभए अख्तियार प्रमुख समेत ताकेको स्रोतको दाबी छ । अख्तियार प्रमुख नविन घिमिरेको म्याद छिट्टै सकिन लागेको हुनाले उनले त्यता तिर समेत ताकेका छन् ।
यसअघिको सरकारले नियुक्त गरेका हुनाले हालका मुख्य सचिव लोकदर्शन रेग्मीलाई सरकारले विभेद गरेको समेत उच्च स्रोतको दाबी छ । उनलाई बर्खास्त गर्ने सरकारको तयारी रहेको उच्च सोतको दाबी छ ।