युवा नेता माधवको संघर्ष : ‘बन्दूक साटेर विहे गरेँ, घाइते शरीर लिएर राजनीतिमा छु’

दियो पोस्ट  

रीता बुढाथोकी

काठमाडौं, २७ जेठ । परिस्थिति प्रतिकुल थियो । कसैको समर्थन या विरोध गर्नुु ठूलै अपराध हुन्थ्यो त्यतीबेला । अपरिचित व्यक्ति गाउँमा देखियो भनेपनि शंका गर्नु पर्ने अवस्था थियो । मानाै, मानिसहरु एक प्रकारको डर र त्रासमा बाँचिरहेका थिए ।

१८ माघ २०५२ । जनयुद्ध सुरु भइसकेकाे थिएन । सिन्दुपाल्चोक कुबिण्डेस्थित सेतिदेवि पञ्चकन्या मा.विका शिक्षक रुद्रप्रसाद शर्मालाई विनाबर्दीका चार जना प्रहरीले अपहरण शैलीमा पक्राउ गर्ने कोसिस गरे । प्रत्यक्षदर्शी विद्यार्थीहरुलाई लाग्यो– हाम्रा शिक्षकलाई गुण्डाहरुले अपहरण गर्दैछन् । त्यसैले विद्यार्थीहरु प्रतिकारमा उत्रे । शिक्षक शर्मा भाग्ने कोशिस गर्दै थिए । प्रहरीले उनलाई लखेटिरहयो । करिव ४५ मिनेटजति भागाभाग भएपछि प्रहरीले हवाई फायर गर्यो, त्यसपछि झनै मुठभेडको अवस्था सिर्जना भयो । प्रहरीले फायरिङ्ग खोलेपछि मात्र उनीहरु प्रहरी हुन भन्ने थाहा भएको थियो । मुठभेडका क्रममा एक जना सोम बहादुर सुनुवार नाम गरेका प्रहरीकोे खोलामा परेर मृत्यु भयो । र, यस घटना राष्ट्रिय समाचार बन्यो । त्यतिबेला शिक्षकलाई जोगाउनका लागि प्रहरीसँग जाइलाग्ने विद्यार्थी मध्ये एक थिए– माधव सापकोटा ‘सुवोध’ । जतिबेला उनी १४ वर्षका मात्रै थिए ।


त्यो घटनापछि स्कुलको पढाई निकै प्रभावित भयो । बिद्यार्थीहरुमा सन्त्रासको अवस्था सिर्जना भयो । त्यसको चार दिनपछि, जनयुद्धको सुरुवाती चरणमै माधव पक्राउ परे । माधवलाई प्रहरीले गिरफ्तार गरेर नजिकैको प्रहरी चौकीमा पुर्याए । उधोमुन्टो पारेर झुन्ड्याइयो र कोर्रा बर्साइयो । कम्मर बाँध्ने प्रहरीको पेटीले ढाडमा प्रहार गर्दा उनी बेहोस भएका थिए ।

पहिलो पटक हिरासत परेको केहीदिन दिन पछि उनी थुनामुक्त भए । त्यसको भोलिपल्टै उनी पूनः दोस्रो पटक पक्राउ परे । त्यसपछि उनलाई ट्रकमा राखेर चौतारा पुर्याइयो । उनलाइ जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखियो । हिरासतको कष्टकर बसाई उनको कल्पनाभन्दा बाहिर थियो । ‘प्रहरीले नांगो खुट्टामा करेन्ट लगाउने, हिटरमा पिसाव फेर्न लगाउने, मरणासन्न हुनेगरि पिट्ने गर्थे, सम्झिँदा अहिले पनि जिउमा काँडा उम्रिन्छ,’ उनी त्यो दिन सम्झिन्छन्,‘अहिले हामी बेलाबखत जनयुद्धका फिल्म हेर्छौँ, वास्तवमै कहाली लागेर आउँछ ।’ त्यसबखत उनलाई सात दिनपछि छाडिएकाे थियाे ।


आमा खिल माया सापकोटा र बुवा हरि प्रसाद सापकोटाको कोखबाट सिन्धुपाल्चोकको कुबिण्डेमा ०३८ सालमा जन्मिएका माधवको राजनीतिक यात्रा जनयुद्धको आरम्भमा कलिलो उमेरदेखि सुरु भएको थियो । अर्कोतिर, उनको पारिवारिक पृष्ठभूमि नै राजनीतिक थियो । काका अग्नी सापकोटा त्यतिबेला तत्कालिन नेकपा माओवादीको नेतृत्व तहमै थिए । उनका बुवा हरि प्रसाद सापकोटा जिल्ला वन कार्यलयमा जागिरे थिए । उनले पनि पार्टीमा आस्था राख्थे । जनयुद्ध सुरु भएलगत्तै पार्टीले नेताका परिवारले सरकारी जागिर छोड्ने निर्णय गर्यो । पेन्सन हुन १७ महिना बाँकी छँदै बुवाले जागिर छोडे । फागुन १ गतेदेखि पार्टीले औपचारिक रुपमा जनयुद्ध सुरु गर्ने तयारी थाल्यो । त्यसलगत्तै उनले बिद्यालयमा विद्यार्थी संगठनमा आफूलाई आबद्ध गराए ।

०००
२०५५ साल माघ । प्रबेशिका परिक्षा नजिकिँदै थियो । उनी अखिल (क्रान्तिकारी) सिन्धुपाल्चोक जिल्ला उपाध्यक्ष थिए । परिक्षाको चाप थियो । एकातिर परिक्षा पास गर्ने दायित्व अर्कोतिर आफैलाई प्रहरीले सार्वजनिक मुद्धा लगायोे । पार्टीका संगठनात्मक गतिविधिमा सहभागि भएको आरोप थियो उनीमाथि । माधवलाई प्रहरीले जुनसुकै बेला पक्राउ गर्न सक्ने भएकाले सतर्क रहन शिक्षकहरुले सुझाव दिए ।


परिक्षा नजिकिदै थियोे । त्यो साँझ उनी अंग्रेजी बिषयकोे ट्युसन पढेर घर फर्किदै थिए । प्रहरी गाउँ पस्यो । उनी लखेटिए । जेनतेन जंगलको बाटो भाग्न सफल भए । त्यो साँझ उनको जीवनको ऐतिहासिक साँझ बन्यो । उनी त्यसै साँझ माओवादीको पूर्णकालिन कार्यकर्तामा भर्ति भए ।

भूमिगत भएको पहिलाे रात, अग्निका छोरा रुपक र उनी सिन्दुपाल्चोकको मान्खास्थित पुण्य प्रसाद पराजुलीको घरमा गएर बसे । पराजुली पुरानो बामपन्थी नेता पनि हुन् । उनीहरु दुबैजना रातको ९ बजेतिर मान्खा पुगेका थिए । पुण्य पराजुलीलाई उनी ‘बा’ भनेर सम्बोधन गर्थे । पूण्य बासंग तत्कालिन परिस्थितिका बारेमा राती अबेरसम्म सरसल्लाह भयो । पूण्य बाले थुप्रै सुझाव दिए । भोलिपल्ट बिहानै पूण्य बासंग दुई हजार रुपैयाँ लिएर उनी खाडीचौर झरे । खाडीचौरको एउटा कपडा पसलमा छिरेर केही कपडा किने । पुलिसले नचिनोस् भनेर नयाँ टोपी किनेर लगाए । यतिबेलासम्म उनले आफ्नो भेष बदलिसकेका थिए

खाडिचौरबाट काठमाडौँ जाने बसले यात्रु कुरिरहेको थियो । बसको सहचालकले बसमा यात्रु चढाउँदै थिए । उनी पनि अन्य यात्रुसंगै बसको अन्तिम सिटमा गएर बसे । बसको हर्नले उनकोे ध्यान भंग भयो । बस गुड्यो । बसको पछिल्लो सिटमा बसेका उनी गंभिर मुद्रामा देखिन्थे । मन भरि एक प्रकारको आँधीबेहरी चलेको थियो । कैयौँ अन्यौलताका पहाडहरु मानसपटलमा आइ ठोकिन्थे । कहिले उत्साहका आवेगहरु मस्तिष्कमा तरंगित हुन्थे । परिक्षा दिन नपाएको पीडा र घर छोडेर हिड्नुको वाध्यता एकातिर थियो । अर्कोतिर भबिष्यको अन्यौलता पनि उत्तिकै थियो । तर, वर्गीय मुक्तिसंगै सुन्दर संसार निर्माण गर्ने सपनाले उनी घरिघरि उद्वेलित हुन्थे । थुप्रै नागबेली बाटोे पार गर्दै बस साँझपख काठमाडौँ पुग्यो ।


यानप्रसाद गौतम पार्टीका वरिष्ट नेता थिए । जसलाई पार्टी भित्र आलोक भनिन्थ्यो । जो काठमाडौँको क्षेत्रपाटीमा डेरा गरि बस्थे । त्यतिबेला नेताहरुको डेरा काठमाडौँमा हुने गथ्र्यो । नेताहरु ध्रुव पराजुली, रित बहादुर खड्का (सहिद), दिनेश शर्मा र यान प्रसाद एउटै डेरामा बस्थे । उनी सोही डेरामा पुगे । पटक–पटक चिठी पुर्याएको हुनाले त्याे ठाउँ उनलाइ थाहा थियो । पार्टीका गोप्य सुचना र चिठी लिएर कैयौ पटक यान प्रसादको डेरामा पुगेका माधव त्यस पटक भने आफै भुमिगत भएर त्यहाँ पुगेका थिए ।


दिनभरको बसको यात्रा, भोक र प्यासले थाकेका उनी डेरामा पुगेर नेताहरुसंग घटनाकाे बारेमा बेली बिस्तार लगाए । उनको कुरा यानप्रसादले ध्यान दिएर सुने । यानप्रसादले माधवलाई केही दिन यतै बस्न भने । पार्टीका नीति र वर्तमान परिस्थितिका बारेमा नेताहरुले उनलाई प्रशिक्षित गराए ।

एकहप्ते बसाईपछि उनमा क्रान्तिकारी विचार सशक्त बन्दै थियो । ‘बन्दुकको आडमा टिकेको सत्तालाई बन्दुकले नै ढाल्ने’ सिद्धान्तलाई उनले अत्मासाथ गरे । नेताहरुकै निर्देशनमा उनी नगरकोट गए । शंकर लामा र रित बहादुर खडकासँग उतै भेट भयो । त्याे रात उनी त्यहीँ बास बसे । त्यसकाे भाेलिपल्ट उनी दोलखा हिँडे । लामा र खड्का पनि उनीसंगै दाेलखा गए । त्यतीबेला उनीहरु हिँडेरै दोलखा पुगेका थिए । त्यसपछि दाेलखालाई माधवले पहिलो एक वर्षे कार्यक्षेत्र बनाए ।


०००


‘बनको काँडालाई तिखार्नु पर्दैन’ भने जस्तै माधब माओवादीको अब्बल कार्यकर्ता बन्दै गए ।
जनताकाे घरमा बास । उनीहरुकै काम । जनताको चुलोमा पाकेको खानेकुरा । उनका लागि यही संसार थियो । जनताको घर ‘सेल्टर’ थियो । सेल्टरका अविष्मरणीय क्षणहरु उनले अहिले पनि बिर्सेका छैनन् । एकदिन रक्सी पार्ने भाँडामा कोदोको ढिँडो पकाइएकाे थियो । अल्लोको पातमा नुन, बेसार र पानी हालेकाे तरकारीसंग ढिडाे कसरी खानु ? धर्मसंकट पर्यो । जस्तो भएपनि खान्छु भनेर आँट गरे तर खान सकेनन् । त्यो रात भोकै रात बिताएको उनको कथन छ ।


भूमिगत जीवन निकै कष्टकर थियो । पार्टीको निर्देशनबिना कतै जान नपाइने । जनताको घरमा बस्दा होस या जंगलमा बस्दा किन नहोस, प्रत्येकले आफ्नो ड्युटी गर्नु पथ्र्यो । एकजनाले कम्तीमा ६ घण्टासम्म ड्युटी गर्नु पथ्र्यो ।

कैयौँ रात भोक–भोकै ओडारमा ड्युटी गरेको उनलाई स्मरण छ । बर्खा यामको मध्यतिर लामो झरि पर्यो । उनी र उनको टिम गाउँ छिर्न सकेनन् । जंगलमै बास भयो । आफुसँग भएको सातु र केही चाउचाउ पनि पानीले भिज्यो । भोक प्यास र अनिद्रा उस्तै थियो । त्यसमाथि जुकाको टोकाईले खुट्टाभरि घाउ बन्यो । त्यो दिनसम्झँदै उनी बोल्छन्,–“वर्षायाममा मुसलधारे पानी परेको बेला प्लास्टिक ओडेर जंगलमा ड्युटी गर्न बस्दा चाँही असाधारण दुख हुन्थ्यो ।”
उनी एक वर्षपछि ०५६ सालमा रित बहादुर खड्कासंग गृह जिल्ला सिन्धुपाल्चोक फर्किए । त्सपछि बिद्यार्थी संगठनको जिल्ला सम्मेलन भयाे । सम्मेलनबाट उनी अखिल क्रान्तिकारीको जिल्ला अध्यक्ष बने ।


केन्द्रदेखि पार्टीकाे तल्लाे स्तरसम्म सुरक्षा चुनौती थियो । त्यही चुनाैतीलाइ मध्यनजर गरि उनलाइ पार्टीले पेस्तोल र ग्रिनेड दियो । पेस्तोल पाउँदाको खुसी ब्यक्त गर्नका लागि उनीसंग कुनै शब्द थिएन । भन्छन्,’मेरो नाम लेखेको पेस्तोल पाएपछि मैले संसार नै जितेको जस्तो अनुभव गरेको थिँए, मलाई अत्यन्तै गर्व अनुभुति भएको थियो,’ उनी बहकिए ।


०००


गृह जिल्ला नै उनको कार्यक्षेत्र थियो । २०५६ सालमा तत्कालिन देउवा सरकारले आम चुनाव गर्ने तयारी थाल्यो । देउवाले सेना परिचालन गरे । माओवादी चाहाना थियो–‘देउवाको योजना भाँड्ने ।’ उनी सहितको पार्टीले सिन्धुपाल्चोकको फुल्पिङ्गकोटको बुथमा निर्वाचन भाँड्ने योजना बनाए । याेजना अनुसार दावा तामाङ्ग, लगायत ६/७ जना युवाहरु एकै ठाउँमा भेला भए ।


चारैतिर सेनाले माइकिङ गरेर भोट हाल्न उर्दी जारी गर्दै थियो । ग्रिनेड बोकेर उनी निर्वाचन स्थल नजिकै पुगे । निर्वाचन स्थलमा सेना तैनाथ थिए, नजिकै गएर ग्रिनेड पड्काएर त्यहाँबाट भागे । उनको जीवनमा पहिलो पटक आफ्नै हातबाट ग्रिनेड पड्किएको थियो । सेनाले यत्र तत्र गाेली चलाउन थाल्यो । तर, निर्वाचन त्यही ग्रीनेटले भाँडियो । निर्वाचन भाँडिएपछि माओवादीहरु फुल्पिङ्गडाँडामा गएर दिनभरि खुसी मनाए ।


‘ढाडमा टेकेर टाउको हान्ने’ प्रचण्डको नीति अनुसार थानकोटमा चौकी आक्रमण भयो । त्यो आक्रमणमा कमिसारको भूमिकामा थिए माधव । लगभग २२ दिनको तयारी पश्चात थानकोट चौकी आक्रमण गरेको उनी बताउँछन् । सिराहको बन्दीपुर, काठमाडौँको साँखु र थानकोट चौकी आक्रमण जस्ता महत्वपूर्ण लडाइँमा आफैले कमाण्ड गरेका थिए ।

२०५७ सालमा कृष्ण प्रसाद सापकोटा ‘कमरेड देशबन्धु’(उनका काका)को नेत्तृत्वमा अधेरी पोष्ट ‘गस्ती भन्सार’मा आक्रमण गर्ने योजना बनाइएकाे थियाे । सिन्दुपाल्चोकको मान्खामा सेल्टर लिएर करिव एक हप्तासम्म १३ जनाको समुह योजनामा थिए । योजना अनुसार माधबको नेतृत्वमा अधेरी पोष्ट ‘गस्ती भन्सार’मा आक्रमण भयो । भन्सारमा खटिएका प्रहरीको भागाभाग भयो । त्यो कार्वाहीबाट चार वटा राइफल बरामद गरेर उनीहरुले पार्टीलाई बुझाए । त्यो कार्वाही पश्चात पार्टी भित्र माधब निकै चर्चित भए । लगातार एक पछि अर्को गर्दै उल्लेखनीय काम गर्दै गए पछि उनलाई पार्टीले बिश्वास गर्ने ठाउँ प्रशस्त थियो । त्यो घटना पश्चात पार्टीमा उनको बढुवा भयो । त्यसबेला माधब एरिया कमिटीे सदस्यबाट स्वतः जिल्ला कमिटी सदस्यमा बढुवा भएका थिए ।


०६१ सालमा पार्टीले उनलाई तत्कालिन जनमुक्ती सेनाको कम्पनी कमिसारमा बढुवा गर्यो । एक वर्षपछि उनी फेरि बटालियन सह–कमिसारमा बढुवा भए । लगत्तै ०६२ मा ठोकर्पामा शाही सेनाले हवाई आक्रमण गर्योे । आक्रमणकै दिन उनको सरुवा भएको थियो ।

सरुवा भएर उनी १४ औँ बटालियनमा आए । १४औँ बटालियनसम्म आइपुग्दा उनी पार्टीले संचालन गरेका थुप्रै फौजी कार्वाहीमा सहभागि भइसकेका थिए । ठोकर्पाकोे आक्रमण पश्चात चौतरामा शाही सेना र जनमुक्ति सेनाबीच ठूलो भिडन्त भयो । त्यतिबेला थुप्रै प्रहरी हताहत भएका थिए । यता माओवादी तर्फ पनि ठूलो क्षती भएकाे थियो । त्यो भिडन्तमा माधबकाे खुट्टामा गोली लाग्यो । माधब घाइते भए ।


आफ्नो शरीरको चोटभन्दा पनि पीडादायी र कष्टकर थियो आफ्नै परिवारका सदस्य गुमाउनु । उनलाइ मृत्युदेखि कुनै डर थिएन । मानौ उनले मृत्युलाई जितेर आएका थिए । यद्यपी, उनी घाइते हुनु अगावै आफ्नै परिवारका तीनजना सदस्य गुमाइसकेका थिए । उनका दाजु प्रेम सापकोटा ‘सौरभ’, अत्यन्तै जोदाहा थिए । एक फौजी कार्वाहीमा उनले सहादत प्राप्त गरे । अर्का दाजु रेवती सापकोटा ‘क्षितिज’ र बहिनी शुभद्रा सापकोटा ‘शिल्पा’को अन्य फौजी कारबाहीमा शहादत भइसकेको थियो । यसरी माधवकाे परिवारबाट विलदानीकाे काेटा चुक्ता भइसकेकाे थियाे ।


उनी घाइते भएर ढलेको दिन । अधेँरी रात चकमन्न थियो । परबाट बन्दुक पड्केको आवाज सुनिन्थ्यो । त्यो रातलाई छिचोल्दै घाइते माधवलाई डोकोमा बोकेर माओवादी साथीहरु अगाडी बढे । घाइते माधब डाेकाेमा थिए । असैह्य दुखाइले घरी-घरी मुर्छित हुन्थे । साथीहरुले रातभरी हिँडेर बिहानको झिसमिसेमा घर पुर्याइएका थिए । त्यतिबेला माधवको अवस्था अत्यन्तै दयनीय थियो । उनलाइ आफ्नै शरिर बोझ लाग्दैथियो । एकाबिहानै घरको पेटीमा घाइते छोरालाई देखेर आमा निशब्द भइन् । त्याे क्षण सम्झिदैँ माधब भन्छन्, ‘म घाइते भएर घर पुग्दा आमासंग अनुहार जुधाउनै सकिन, त्यतिबेला मलाई असाध्यै पीडा बोध भएको थियो,’ माधवले आफ्नो हालत सुनाए । घाइते छोरालाई आमाले हरिरहिन् । माधवले पनि आमालाई हेरिरहे । आमा केही बोल्न सकिनन्, न त माधवको मुखबाट आवाज निस्कियो । दुबै निशब्द, केही बेरसम्म वातावरणमा सन्नाटा छायो । सायद आमाको आँखामा छचल्कीएको छोरा प्रतिको प्रेम थियो ।

त्यतीबाेला घइते भएका उनलाई भूमिगत अवस्थामै तीन महिना ग्वार्कोस्थित बि.एण्ड.बी.अस्पतालमा भर्ना भएर उपचार गरिएकाे थियाे । तीन महिनाको उपचार पश्चात उनी फेरि पार्टीको काममा जिल्ला फर्किए ।
०००


सन्ध्यासँग विवाह

देबकुमारी थापा ‘सन्ध्या’ माधवकी बालसखा थिइन् । एउटै स्कुलमा पढ्ने भएकाले पनि उनीहरु नजिक थिए । दुबै जना मिल्ने साथी । एक अर्काका मनका कुरा बुझ्थे । माधब भुमिगत भएको एक वर्ष भइसकेको थियो । देवकुमारी चाँही स्कुल पढ्दै थिइन् ।

एक वर्षको देलखा बसाईपछि माधव घर फर्किए । त्यतीबेला उनी धारामा गाग्रो भर्दै थिइन । माधवले देवकुमारीलाई एक वर्षपछि भेटेका थिए । लामो समय पछि उनीलाई भेट्दा माधव अत्यन्तै रोमाञ्चित बने । त्याे क्षण सम्झिदैँ माधब भन्छन्, ‘उहाँप्रति पहिलेदेखि नै एक किसिमको प्रेमभाव थियो तर मैले व्यक्त गरेको चाहिँ थिएन । तर त्यो दिन धारामा देख्दा म भित्र लगभग बिर्सिसकेको प्रेम फेरि बल्झियो,’ माधवले आफ्नो प्रेम प्रसंग कोट्याए ।

केही दिनको बसाइँ पछि उनी आफ्नो कार्य क्षेत्र दोलखा फर्किदै थिए । फर्किने बेलामा उनले देवकुमारीलाई एउटा चिठी लेखेर छाडे । त्यो नै उनको जीवनकोे पहिलो प्रेम पत्र थियो । देवकुमारीले त्यो चिठीको जवाफ नै दिइनन् । त्यसपछि करिव एक वर्ष सम्म उनीहरुबीच भेट भएन ।
रामेछापमा पार्टीले आयोजना गरेको एक कार्यक्रम थियो । त्यो कार्यक्रममा देवकुमारी पनि सहभागी थिइन् । देबकुरमारी त्याे कार्यक्रमा उपस्थित छिन भन्ने माधबलाइ थाहा थिएन । एक वर्षदेखि सम्पर्कमा नआएकी मनकी मान्छेलाइ एक्कासी देखेर माधव अचम्मित भए । वर्षौदेखि हराएको कुनै बहुमुल्य बस्तु भेटे जस्तोे, उनी भित्र खुसीका लहरहरु सल्बलाउन थाले । उनी पुलिकत बने । त्यही भेटमा देवकुमारीले चिठीको जवाफ मौखिक रुपमा दिइन्,‘तपाइंकाे चिठीप्रति म सकरात्मक छु, म पनि तपाइँलाई प्रेम गर्छु ।’ त्यसपछि उनीहरुकाे औपचारिक प्रेम सुरु भयो ।


माधव अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष थिए । देवकुमारी सचिव । उनी भूमिगत भएकी थिइनन् । माधवले धेरै पटक भुमीगत हुनका लागि आग्रह गरे पनि पढाई पुरा नभएको भन्दै देव कुमारीले मानिन् । तर बेला बेला उनीहरुबीच चीठी आदानप्रदान हुन्थ्यो । प्रेम पत्रमा राजनीतिक बहस चल्थ्यो ।



२०५७ सालताकाकाे कुरा थियाे । एक दिन स्कुले बिद्यार्थी र केही माओवादी कार्यकर्ता मिलेर पात्ले खोलामा प्रहरीलाई एम्बुस थापे । माओवादीको सेल्टरमा हमला गर्न निस्किएका प्रहरी त्यही एम्बुसमा परे । त्यो घटनामा देबकुमारी पनि मुछिइन् । देवकुमारीलार्ई मुद्धा लाग्ने संभावना बढ्योे । त्यो घटनापछि देवकुमारी पनि भूमित भइन् ।


०६१ सालकाे भदाै ताका दोलखाको ठेकलाघिउ भन्ने ठाउँमा माओवादीले प्रशिक्षण कार्यक्रम राख्यो । कार्यक्रममा देव कुमारी पनि सहभागी भइन् । सोही कार्यक्रममा पार्टीले विवाह गरिदिने तयारी गर्यो । आफ्नै बिवाहका बारेमा माधव अनभिज्ञ थिए । बिबाहबारे थाहा पाएपछि उनी एकै छिन टाेलाए । मनमा काैतुहलता जाग्याे । थुप्रै साथीहरुकाे जनवादी बिबाहमा सहभागी भइसकेका उनी आफ्नै बिबाहकाे कुराले केही राेमान्चित बनेका थिए । यता देवकुमारीलाई केही उकुसमुकुस भएकाे थियाे। सपनाबाट ब्युँझिए जस्तो, साँच्चिकै आफ्नै बिबाह हुने कुराले उनी केही असजिलो अनुभुती गर्दै थिइन् ।


मंञ्चमा अग्नी

मञ्चमा अग्नी सापकाेटा लगायतका नेता थिए । दुबै बर बधुलाई मञ्चमा निम्त्याइयो । काँधमा बन्दुक बोकेका दुबैजना मञ्चमा उक्लिए । आ–आफ्नो खल्तीबाट प्रतिवद्धता पत्र निकालेर
दुबैले बाचन गरे । आफ्नो बिहेको दिन उनको सम्झनामा ताजै छ । ‘हामीले एक अर्कालाई अबिर लगाइदियौँ अनि आ–आफ्नो बन्दुक साट्यौँ त्यसपछि हाम्रो बिहे भयो,’ माधव विवाह बारे बाेले ।

उनीहरुकाे पार्टी भित्रै जनवादी बिबाह भयोे । लगभग ९ वर्षको प्रेम सम्वन्ध पछि उनीहरुले बिवाह गरेका थिए । बिहेपछि देवकुमारी आफ्नो कार्यक्षेत्रमा गइन् । माधब पनि आफ्नो कार्यक्षेत्रमा फर्किए । त्यसपछि उनीहरुबीच १ वर्षसम्म भेट भएन ।


०००


५ मंसिर ०६२ मा तत्कालिन ७ राजनीतिक दल र माओवादीबीच १२ बुँदे समझदारी भयो । तत्कालिन नेकपा माओवादी सशस्त्र जनयुद्ध त्यागेर शान्तिपूर्ण आन्दोलनमा आउन सहमत भयो । मुलुकमा युद्ध बिराम भयो । युद्ध बिरामले एक वर्षदेखि टाढिएका माधव दम्पतीको मेल गरायो । यता माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूमिगत जीवनबाट खुल्ला राजनीतिमा आए ।


युद्धमा घाइते हुँदा लागेको चोट बोकेर उनी पनि शान्ति प्रक्रियामा सहभागि भए । आफु पढाई छोडेर युद्धमा लागेको, लडाइँमा घाइते भएको, आफ्नै आँखा अगाडि परिवार तथा आफन्त गुमाएको, संगै यात्रा गरेको सहयोद्धा सहिद भएको कुराले उनलाई पीडा त दिन्थ्यो नै । तर, त्यही पीडाको पहाडमा उभिएर पार्टीले हात पारेकाे राजनीतिक सफलताले केही सन्तुष्टी दिन्थ्याे । मुलुकमा थुप्रै राजनीतिक उथलपुथल भए । २ सय वर्ष पुरानो राजतन्त्रको अन्त्य भयो । एक धर्मको शासन रहेको देशमा सबै धर्मलाई सम्मान गर्ने वातावरण बन्यो ।


०६४ सालमा पहिलो संविधान सभाको निर्वाचन सम्पन्न भयो । निर्वाचनमा उनी आफ्नै जिल्ला सिन्धुपाल्चोकमा पार्टीका उमेद्धारलाई जिताउने अभियानमा सामेल थिए । गाउँ गाउँमा गएर चुनावको प्रचारप्रसार गरे । देशैभरि माओवादीको पक्षमा लहर देखियो । उनका उम्मेदवार अग्नि सापकोटाले पनि जिते । माओवादी ठूलो दल बन्यो । २०६५ सालमा माओवादी अध्यक्ष प्रचण्ड गणतान्त्रीक नेपालको पहिलो प्रधानमन्त्री बने । राजनीतिक खिचातानीकै कारण प्रचण्डले ९ महिनामै राजिनामा दिए । यसबीचमा सरकार बन्ने र ढल्ने क्रम चलिरहयो । दोस्रो संविधानसभाको निर्वाचन पछि ३ असोज २०७२ मा मुलुकले नयाँ संविधान पाएको थियो ।
२०७३ सालमा बनेको सरकारमा माओवादी पनि संलग्न भयो । माओवादी पोलिटब्युरो सदस्य हितराज पाण्डे संघीय मामिला तथा स्थानिय विकास मन्त्री बने । सल्लाहाकार नियुक्त भए–माधव ।


भूमिगत युद्ध भन्दा मन्त्रालय सत्ताको राजनीति कठिन थियो । ‘बुलेटको राजनीति भन्दा ब्यालेटको राजनीति निकै जोखिम र चुनौतिपूर्ण हुने रहेछ,’ उनको अनुभव छ । यद्धपी आफ्नै सल्लाहमा स्थानिय सरकारको रुपरेखा बनेको उनी बताउँछन् ।


७ सय ५३ स्थानीय तह राजपत्रमा प्रकाशित भएसंगै देशमा औपचारिक रुपमै संघीयता कार्यान्वयनमा गएको थियो ।


याे उनका लागि अवसर र चुनाैती दुबै थियाे । उनी भन्छन् ‘संघीयताका लागि लड्ने एउटा अवसर पनि पाएँ र औपचारिक रुपमा संघीघताकोे संरचना निर्माण गर्ने नीति निर्माणको तहमा बसेर काम गर्ने अवसर पनि पाएँ,’ ।
संसारभरका संघीताका मोडलहरु मध्ये नेपालको संघीयता भिन्न प्रकृतिको भएको उनको भनाई छ । २००६ सालदेखि नेपाली जनताले गरेको संर्घषको परिणामस्वरुप संघीयता प्राप्त गरेको उनले बताए । ‘संघीयतामा त गएका छौँ तर यो संघीयता कति राम्रो बनाउने भन्ने अहिलेका जनप्रतिनिधिहरुको भूमिकामा भर पर्छ र उनीहरु कति जनउत्तरदायी, रचनात्मक र सिर्जनात्मक हुन सक्छन्, यसको परिणाममा भर पर्छ ।’


युद्धमै लडेर घाइते भएका उनको ढाडको नशा च्यापिएको छ । दायाँ हात र खुट्टामा युद्धको चिनो गोलीका ठूला दाग अझै छन् । वास्तवमा उनी अहिले पनि घाइते शरिर लिएर राजनीतिमै सक्रिय छन् । भन्छन्, ‘राजनितीलाई मैले समाजसेवाको रुपमा लिएको छु, बाँचुन्जेल आफ्नै देशमा समाजसेवा गर्न सकुँ, गरिवमा भिजेका परेली पुछ्न सकुँ ।’