
जीवनमा मैले भोगेको एउटा तितो सत्य । जसलाई मैले यति छिटै व्यक्त गरिहाल्ने सोचाई राखेको थिइन । केहीदिन अघिमात्र शहरी विकास तथा भौतिक योजना मन्त्रालयका सचिव अर्जुन कार्कीले यस्तै प्रकृतिको घटना भोग्नु भयो । त्यसको सत्यतथ्य बहिर ल्याउनु भएको छ । अनी मलाई लाग्यो मैले पनि आफैमाथि घटेको यो घटनाको सविस्तार सार्वजनिक गरौँ ।
म पेशाले निर्माण व्यवसायी जसलाई अन्य पेशाकाहरू ‘ ठेकेदार’ भन्न रूचाउँछन् वा सजिलो ठान्छन् ।
महेन्द्र मोरङ कलेजबाट बिए गरेपछि ०४२ सालतिर यो पेशातिर लागें । जीवनमा कहिल्यै दारू पानी नखाने मैले यहि पेशामा लागेपछि त्यो सिकें र जुनसुकै बेला पिईदिने सम्मको अम्मली भएँ ।
घुस के हो ? भन्ने पनि जानें र बेहिसाब घुस खुवाएँ । यद्धपी त्यो मेरो रहर थियो वा बाध्यता त्यसको सम़िक्षाको पाटो छुट्टै हुनसक्छ । ‘घू’वर्गको कम्पनी दर्तागरेर शुरू गरेको यो पेशामा मैले आफ्नो कम्पनि ‘क’ वर्गसम्म पुर्याएँ । देशमा शुरू भएको आन्तरिक राजनैतिक विद्रोहको नकारात्मक असर यो पेशामा पनि पर्यो । अधिकाशं निर्माण व्यवसायीहरू जस्तै म पनि बैङ्क ऋण र साहु कर्जाबाट आफ्नो कम्पनी चलाई रहेको थिएँ । जब देशमा विस्तृत शान्ति संझौता भयो त्यसपछि निर्माण व्यवसायमा केही अवसरहरू सृजना भए । कर्जाबाट मुक्तहुन केही निर्माणकार्यहरू लिनै पर्ने मेरो बाध्यता थियो र मैले विभिन्न ठाऊँमा बाटो , पुल , भवन निर्माण गरि एक अर्ब जतिको काम लिएँ । म हरेक दिन बिहान चार बजे उठेर काममा जुट्थेँ र राति दश बजे सम्म खट्थेँ । यस्तै प्रकारले दिनहरू व्यस्ततामा बितिरहेका थिए ।
०६८ साल पौष महिनाको एक दिन मेरा एक जना मित्र , मेरो निर्माण व्यवसायका गूरू राम प्रसाद मैनालीले मलाई खबर गर्नुभो,‘ ‘अख्तियार दुरूपयोग अनुसन्धान आयोग नक्सालले तपाईंलाई खोजीरहेछ ।
यो सुनेर आफैसंग प्र
श्न गरे ‘किन खोजेको होला ? त्यति ठूलो संवैधानिक निकायले खोजी गर्दैछ भन्ने सुनेपछि जानै पर्छ भन्ने ठानेर म भोलिपल्ट अख्तियारको कार्यालय गएँ यद्धपी मलाई कुनै पत्र काटिएको थिएन ।
त्यहाँ पुगेर थाहाभो मलाई खोजी गर्ने अख्तियार दुरूपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृत गोविन्द बहादुर श्रेष्ठ रहेछन् । मैले उनलाई भनें ‘म मदन अधिकारी यहाँ मेरो खोजी भैराखेको छ रे किन होला ।’ उनले एउटा खाली कुर्सीतिर ईसारा गरे र बस्न भने । दराजबाट एउटा ठूलो फाइल निकालेर भने,‘तपाईंले सुर्खेतमा सिचाईको टेण्डर हाल्नु भएको रहेछ त्यही बारेमा बुझ्न बोलाएको ।’
मैले भनेँ,‘त्यहाँ त मैले कुनै टेण्डर हालेकै छैन । मेरो कुरा सुनेर उनी गम्भिर भए । फइल हेर्दै फेरी सोधे,‘सुर्खेत भवन डिभिजन अन्तर्गतको स्वस्थ्य चौकी भवन निर्माण कार्य र मध्य पहाडी सड़क आयोजना तुलसीपुर दाङ अन्तर्गतको जाजरकोट सडक निर्माणको काम चाहीँ तपाईंले लिएको हो ?
मैले जवाफ दिएँ,‘कुनै पनि होईन ।’ त्यसपछि उनले फइलबाट कम्पनि प्रोफाइल निकालेर सोधे, ‘यो मैनाचुली निर्माण सेवा प्रा.ली कसको हो ? यी कागजातहरू कस्का हुन् ? मैले त्यो कम्पनी प्रोफइल हेरेँ । फोटोकपिबाट फोटोकपि गरिएका मधुरा ती कागजातहरू मेरै कम्पनिका थिए र मैले भनेँ, ‘यी कागजातहरू मेरै कम्पनीका हुन् तर मैले वा मेरो कम्पनीका कुनै संचालक वा कर्मचारीले पेश गरेका होईनन् ।’
उनले सोधे, ‘राजविन्द्र प्रताप सापकोटा भन्ने मान्छे चिन्नु हुन्छ ? मेरो जवाफ,‘ चिन्दिनँ’ ।
वास्तवमा त्यो मान्छेको नाम जीवनमा पहिलोपटक सुन्दै थिएँ । उसले पनि मलाई नचिनेको कुरा कसरी पुष्टि हुन्छ भने उसले जे.भी एग्रीमेण्टमा मेरो नाम मदन अधिकारी लेख्नु पर्नेमा चन्द्र बहादुर क्षेत्री लेखेर सही गरेको थियो । भएको के रहेछ भने राजविन्द्र प्रताप सापकोटाले मेरो कम्पनि प्रोफइल कुन स्रोतबाट फेला पार्यो ? उसैलाई थाहा छ ।
मेरो अनुमानमा मैले कुनै चिनेको साथिलाई जे.भी दिँदा यस्कु दुरूपयोग भएको हुनु पर्दछ । जे भए पनि उसले मेरो कम्पनि प्रोफाइल फेला पार्यो र आफ्नो ‘घ’ वर्गको फर्मसंग जे.भी गरेर टेण्डर बिड गर्न थालेछ । त्यसबेलासम्म उसले आफ्नो फर्मका इजाजतदेखि बाहेक कर चुक्ता समेत किर्ते गरेर टेण्डर डकुमेण्ट पेश गरि सुर्खेत भवन डिभिजनमा एउटा लगभग ६७ लाखको र अर्को लगभग एक करोड ४४ लाखको त्यस्तै मध्य पहाड़ी सड़क कार्यालय दाङबाट जाजरकोटमा ८७ लाखको कटिङको काम ठेक्का संझौता गरि काम गरिरहेको रहेछ । यस्तै अवस्थामा जिल्ला सिचाई सुर्खेतले आह्वान गरेको बोलपत्रमा मुन्द्रे केटाहरूले टेण्डर बिड गर्न नदिएपछि हुलाकबाट टेण्डर बिड गरेछ र त्यसमा पनि मेरै कम्पििन जे.भी गरेको रहेछ ।
तर मुन्द्रेहरूले उसलाई बोलपत्र फिर्ता गर्न लगाएछन् । अनि उसले टेण्डरमा धाधलीभो भनेर अख्तियारमा आफैले बेनामे उजुरी दिएको रहेछ । म भन्दा पहिलेनै उसलाई बोलाएर अख्तियारले लिखित बयान लिसकेको रहेछ र बयान को क्रममा कहाँ–कहाँ कुन–कुन कति कतिको काम छ सबै बताई सकेको रहेछ । यति हुँदासम्म पनि उसले मलाई कुनै जानकारी नदिनु मेरा लागि अचम्मको बिषय भएको छ । यति जानकारी मलाई त्यहि अख्तियार बाट प्राप्त भो । त्यसपछि मैले तिनै गोबिन्द श्रेष्ठलाई राजविन्द्रलाई फोन गरेर बोलाई दिन अनुरोध गरेँ र उनले बोलाई दिए । त्यसको तीन दिनपछि उ अख्तियार आईपुग्ने भो ।
राजविन्द्र आईपुग्ने दिन म दश बजे नै अख्तियारको कार्यालय पुगेँ । एक डेढ घण्टापछि उ आयो । भर्खरको ठिटो रहेछ । मैले उसलाई अलि कडकेर हकारेँ, ‘किन यस्तो फट्याँई गरिस् ?’
उसले कामेशो श्वरमा भन्यो,‘हजुर मैले गल्ति गरेँ म साचो सत्य बयान दिन्छु हजुरलाई म कुनै अप्ठेरो पर्न दिन्न मलाई भाई संझेर माफ दिनुहोस् ।’ त्यसपछि मैले गालि गरिन । त्योबेला मैले एक जना चिनीयाँ लेखकको ‘किशोर अवस्थाका कूकर्मीहरूलाई बचाऊ’ भन्ने पुस्तकमा लेखेको कुरालाई सम्झेँ ।
त्यसपछि फेरी उसको बयानको क्रम शुरू भयो । उसले सबै किर्ते आफैले गरेको स्वीकार गर्दै साचो सत्य बयान दियो । उसको बयान सकिएपछि मैले आफ्नो लिखित बयान दिएँ र यो सब बिषयमा आफू र आफ्नो कम्पनीसँ सम्बन्धित कसैको पनि संलग्नता नभएको साचो सत्य उल्लेख गरेँ । त्यसको भोलिपल्ट पनि म अख्तियार गएँ । गोविन्द बहादुरलाई भेटेँ र भने, ‘म पूर्वको मान्छे , मेरो साईटहरू पनि धेरै छन् म भनेको बेला तुरून्त हाजिर हुन नसकुला र अब मेरो यहाँ के काम बाकी रह्यो ?’ उनले भने, ‘तपाइंको त्यस्तो जरूरी नहोला । पर्यो भने मोबाइल नम्बर छँदैछ म फोन गरुँला । सापकोटा चाहीँ फस्नु भो । तपाईं आफ्नो काममा गए हुन्छ ।’
त्यसपछि मैले विदा मागेँ र हिँडे ।
ठेक्का बिड गर्न नदिएको बिषयको अनुसन्धानको मुद्दाले अब अर्कै मोड़ लियो ।
०००
त्यसैवर्षको कार्तिक महिनादेखि अर्थात् बाग्लुड़ जिल्लामा पर्ने मध्यपहाड़ि सड़क अन्तर्गतको साइट भिजिट गरेर आएदेखि नै मेरो शरिरलाई सञ्चो थिएन र शरिरमा हल्का ज्वरोको अनुभूती भैरहन्थ्यो ।
तर कामको चाप र आफ्नो बेपर्वाहापनले गर्दा मैले आराम गरेको थिइनँ । ठिक यसैबेला मलाई ज्वरोले थला पार्यो । श्वास प्रश्वासमा समस्या देखा पर्यो र थाहा भयो की मेरो लिभरमा गम्भिर समस्या छ ।
त्यसपछि मलाई मेरो दाजुरपार्टनर छत्र प्रसाद अधिकारिले उपचारका लागि तुरून्त दिल्लि लिएर जानुभो। दिल्लिमा अपोलो हस्पिटलमा लिभरको उपचार पछि स्वथ्यमा सुधार भयो र म काठमाण्डौ फर्किएँ । तर डाक्टरको सल्लाह अनुसार मैले तनाव रहित भएर आराम गर्नुपर्ने थियो जुन मेरो अवस्थाले संभव थिएन । तैपनि केही उपायहरू अवलम्बन गर्ने निधो गरेँ र आवश्यक मान्छेहरूसंग मात्र सम्पर्क होस् भन्ने हेतुले मोवाईल नम्बर परिवर्तन गरेँ । मेरो बिरामीको असर मेरा निर्माण कार्यहरूमा पर्न नदिन मैले प्रयत्न गरिरहेँ । यसै बीचमा म एकपटक अख्तियारको मुद्दाको विषयमा जानकारी लिने उदेश्यले अख्तियारको कार्यालय नक्साल पुगेँ ।
अख्तियारको कार्यालयको सिढी उक्लिन मलाई निकै सकस् पर्यो । मुश्किलले गोबिन्द श्रेष्ठको कोठामा पुगेँ तर मेरै दुर्भाग्य भनौ उनी त्यो दिन अनुपस्थित थिए ।
अख्तियारमा अरू आयूक्तहरूको बहाली भएको थिएन । तिनै गोबिन्द सर्वेसर्वा थिए । त्यसपछि मैले राजबिन्द्र सापकोटालाई फोन सम्पर्क गरेँ र मुद्दाको बिषयमा सोधे । उनले भने, ‘मैले सबै कुरा मिलाएँ दाई , बीस लाख खर्च भयो , त्यो पनि दिईसकेँ । गोबिन्दले चाडै काम सक्नु त्यसोभो भने मुद्दा ढिसमिस गर्न सजिलो हुन्छ भनेको छ ।’
मैले सोचेँ,‘घुसै लिईसकेपछि मुद्दा टुङ्गिन्छ। नटुङ्गिए पनि मैले बिगारेको केही छैन । त्यसपछि असारको पहिलो हप्तातिर म झापातिर लागेँ । मेरा सबै साईटहरू त्यतैतिर थिए ।
बिल पेश भएका साईटहरूको भुक्तानी लिएर तिर्नुपर्ने तिरोभारो गरेर म काठमाडौँ फर्कने तरखरमा थिएँ । मलाई दमक ठानाबाट फोन आयो,‘एकछिन ठानामा आऊनु न दाई ईन्पेक्टरसावले बोलाउनू भाको छ’ भनेर एक जना प्रहरी भाएै भन्दै थिए । म ठाना गएँ । ठाना पुगेपछि थाहाभो मलाई त अख्तियारबाट तिनै गोबिन्द बहादुर श्रेष्ठले जिल्ला प्रशासन कार्यालय झापालाई दमक नगरपालिका १० बस्ने मदन अधिकारीलाई पक्राऊ गरि अड्डासार गर्दै अख्तियारको केन्द्रिय कार्यालयमा हाजिर गराउनु’ भन्ने आदेश गरेको रहेछ ।
तर इन्सपेक्टरले सल्लाह दिए,‘दाई जस्तो मान्छेलाई किन त्यसो गर्नु बरू आजै काठमाडौं गएर आफै हाजिर भैदिनु भो भने राम्रो हुन्छ ।
मलाई ईन्सपेक्टरको कुरा ठिक लाग्यो र हुन्छ त्यसै गर्दछु भनेर म ठानाबाट निस्केँ । ठानाको गेटबाट बाहिर के निस्केको थिएँ काठमाडौँबाट एउटा भाईले फोन गरेर भन्यो ‘दाई तपाईंलाई अख्तियारले भ्रष्टाचारको केशमा विशेष अदालतमा मुद्दा हालेछ ।आज को नागरिकमा समाचार छ ।’
एक छिन त मलाई विश्वास गर्नै मुश्किलभो तर भाईले दोह्रोयाएर तेही कुरा भनेपछि नपत्याई धरै थिएन ।
म घरमा आएँ । भाईलाई संछिप्त जानकारी गराएँ । बुवा आमा र श्रीमतिलाई आफ्नो कुनै गल्ति नभएको र आफूलाई केही नहुने ढाडस् दिलाएँ र तुरून्त काठमाडौँ हिडेँ । बाटोमा मनमा धेरै तरंगहरु सामुन्द्रि छाल झैँ उर्लीरहे । देशको एउटा प्रमुख राष्ट्रिय दैनिकमा आफ्नो नाम भ्रष्टचारीको रूपमा उल्लेख भएको थियो । एकातिर पेशाले ठेकेदार , घुस नदिई कुनै काम नहुने, अर्कोतिर भ्रष्टचारिको आरोप ।
मान्छेहरूलाई पत्याईदिन सजिलो थियो । र म त्यसैदिन देखि मानसिक रूपमा चरम आत्मग्लानी र लघुताभाषले पिडित हुनथालेँ । मेरो शारिरिक अवस्था रातारात हिड्ने खालको थिएन तर मैले नहिडी हुदैनथ्यो । म भोलीपल्ट सिधै अख्तियारको कार्यालय नक्साल गएँ र गोबिन्द बहादुरको टेबलमा पुगेँ । मलाई असाध्य रिस उठेको थियो अली चर्को बोलिमा सोधेँ ‘तपाईंले मलाई किन मुद्दा हाल्नु भो ? मेरो गल्ति कहा छ ? बीस÷बीस लाख रूपैयाँ घुस पनि लिने अनि मुद्दा पनि हाल्ने ?’ आदि इत्यादि ।
उसलाई मेरो चर्को बोलिले किञ्चित फरक पारेन बरू शानसँग भन्दै थियो,‘मैले एक पैसा पनि पाएको छैन त्यही पैसा दिनुपर्छ भनेर तपाईं मोबार्इल स्वीच अफ गरेर बस्नु भो । मैले निकै पटक फोन गरेँ सम्पर्क नभएपछि मुद्दा हालिदिएँ । तपाईं जतिको मान्छेले भेटेर कुरा मिलाउन जानेको छैन ।’
मैले बल्ल बुझेँ उसले मसँग केही रकमको अपेक्षा राखेको कुरा । मलाई लाग्यो अब उसँग त्यहाँ तर्क गर्नुको कुनै औचित्य छैन । म यो बेथितिलाई धिकार्दै निन्याउरो मुख लगाएर त्यहाँबाट निस्केँ ।
अदालतको सामना मेरो जीवनको पहिलो घटना थियो । यो मेरो भोगाईलाई अहिले यहां अभिव्यक्त गरिरहदा मेरो मनमा एकप्रकारको त्रास आउँछ ।
भोगाईको यथार्थतालाई दुरूस्त व्यक्त गर्दा ममाथि आईपर्न सक्ने संभावित संकटको परिकल्पनाले म भयभित छु । संकट आईलागेपछि साथदिने महाभारतका कर्ण जस्ता मित्रहरू यो कलियुगमा छदैछैनन् । नितान्त व्यक्तिगत र उपभोक्तावादमा लिप्त यो समय कति स्वार्थी र संवेदनाहीन छ भन्ने कुरा त म आफैले समयका हरेक पलमा भोगिरहेछु । त्यसैले मैले यस घटनालाई औपन्यसिक रूपमा अभिव्यक्त गर्न पनि चाहे तर त्यो आफैलाई बनावटी र सत्यको तोडमरोड भए झै लाग्यो अनि म घटनाको सविस्तार विवरण लेख्ने निधोमा पुगेँ ।
अँ म भन्दै थिए अदालती प्रकृयाको म पहिलो पल्ट सामना गर्दै थिएँ । सबभन्दा पहिले मैले कुनै वकिलको बन्दोबस्त गर्नुथियो । लामा कन्सट्रक्सनका पिताम्बर बडु मार्फत वकिलको बन्दोबस्त भयो । उहाँले वादीपक्षको मिसिल हेरेर प्रतिवादी तैयार गर्न थाल्नुभो ।
त्यो बेलासम्म पनि मलाई मुद्दा यति पेचिलो हुन्छ भन्ने थाहा थिएन र मैले सजिलै उन्मुक्ति पाऊछु भन्ने कुरामा म ढुक्क थिएँ । यसको एउटै कारण थियो कि ती सबै ठेक्का लिनेकुरामा मेरो कुनै संलग्नता थिएन जुन कुरा राजविन्द्र सापकोटाले अख्तियारमा दिएको आफ्नो लिखित बयानमा समेत उल्लेख गरेको थियो । तर जब मेरा वकिलले मलाई भन्नु भो की तपाईंमाथि अख्तियारको आफ्नो हस्ताक्षर र कम्पनि कागजातहरूको दुरूपयोग हुँदा समेत कतै ऊजुर बाजुर नगरी चुपचाप बसेकोले भ्रष्टाचारमा मिलिभगत देखिएको आरोप लगाएको छ । अनी मलाई थाहा भयो, ‘यस्तो केशमा छ महिनाभित्र जिल्ला अदालतमा ऊजुरी दिनुपर्ने कानूनी ब्यवस्था छ र जस्तोसुकै लाटो भए पनि देशको कानुन थाहा छैन भन्न पाईदैन ।’
अख्तियारमा बयान दिएपछि मैले यस कुराको चर्चा आफ्ना साथिभाईसँग नगरेको भने होईन तर शायद थाहा नभएरै हुनुपर्छ, कसैले पनि यस्तो कानुनी प्रावधान को कुरा गर्नु भएन । मैले यो सोचेको थिएँ की अख्तियार जस्तो एउटा अधिकार सम्पन्न संबैधानिक निकायमा लिखित जानकारी दिएपछि आफ्नो जिम्मेवारी सकियो ।
त्यसपछि मलाई मेरा वकिलले भने,‘सबभन्दा पहिले थुनछेकको बहस हुने कुरा बताए । अर्थात थुनामा राखेर मुद्दा चलाउने वा तारेखमा राखेर । निर्णय जे पनि हुनसक्ने, र यो अदालतको तजबिजी अधिकार भएको बताएपछि मेरो निधारबाट पसिना छुटे । हुनसक्छ मलाई थुनामा राखेर मुद्दा चलाईयोस् । बेकसुर भ्रष्टाचारीको मुद्दा आइलाग्ने यो मुलुकमा थुनामा राखेर मुद्दा चलाईनु मलाई असम्भव लागेन र थुनामा बसेर मुद्दा खेप्नुपर्दा मलाई हुनसक्ने आर्थिक, मानसिक, शरिरिक सबै कुराको मैले लेखाजोखा गरेँ र के निष्कर्षमा पुगेँ भने त्यो अवस्थामा बरू मैले आत्महत्या गर्नु उचित हुनेछ ।
मैले महशुष गरे की म निकै ठूलो भुमरीमा फसेँ जहाँबाट सकुशल निस्कन मलाई खुबै मुश्किल हुनेछ ।
मलाई मेरा वकिलले थुनामा बस्न नपर्ने उपाय सुझाए र मैले त्यसलाई सह्रर्ष स्वीकारे । त्यो उपायको बारेमा म यहाँ केही उल्लेख गर्न चहान्न बस यति भन्छु कुनैबेला देशको कानुनभन्दा माथि रहेको राजसंस्था हटेर गए पनि यो देशमा एउटा त्यस्तो संस्था जीवित छ जो कानुनभन्दा माथि छ । थुनामा बस्न नपर्ने भएपछि मलाई पुनर्जीवन प्राप्त गरे झैँ अनुभूति भयो र आङटावा शेर्पाजी ले एकपटक भनेको कुरा सम्झेँ की ‘अरूहरू घुस लिएपछि खुसि हुन्छन् तर हामी ठेकेदारहरू भने घुस दिएपछि खुसी हुन्छौँ ।’ त्यसबेला शायद मलाई पनि त्यस्तै केही भयो ।
मैले थुनामा नबसी मुद्दा लड्न पाउने भएँ । यही केशमा परेका शहरी बिकास तथा भवन डिभिजनका डि.ई लगायत बोलपत्र मुल्याड़कन समितिमा भएका कर्मचारीहरू , मध्यपहाडी सडक आयोजना दाङका योजना प्रमुख लगायत बोलपत्र मुल्याड़कन समितिका कर्मचारीहरू , राजविन्द्र सापकोट लगायत अठार जना सबैले तारेखमा बसेर मुद्दा लडन पाइने भयो ।
मुद्धाका तगाराहरू पनि एउटा मात्र भए पो छिचोलेर सक्नु । माओवादी नेता जनार्दन शर्माले पाल्पा आक्रमणको अगाडि आफ्ना सेनाहरूलाई निर्देशन दिदै गरेको भिडियो रेकर्ड हेरेको थिए र त्यहा उनले युद्धमा आउने अप्ठेराहरूलाई व्याख्या गर्दै भनेका थिए ‘एउटा पहाडपछि फेरी अर्को पहाड़ आउँछ र त्यसलाई फोरेपछि फेरी अर्को पहाड आउँछ । यसरी सबै पहाड फोरेपछि मात्र विजय हात लाग्दछ ।’
मेरो अगाडि पनि फेरी अर्को अजंगको पहाड़ ठिङ्ग उभिन आईपुग्यो । त्यो थियो धरौटिको पहाड़ । मैले वकिल सावलाई धरौटि कति राख्नु पर्छ भनेर सोधेँ । त्योपनि न्यायाधिशको तजबिजी कुरा रहेछ । उनले भने ‘लगभग दश करोड जति माग्न सक्छन् र धरौटी माँग गर्दा मुद्दा खेपिरहेकाहरू मध्येबाट जसले तिर्न सक्छ त्यसैसँग बढि माग गर्ने प्रचलन छ । तपाईं ठेकेदार भएकोले तपाईसंग बढि माग गर्ने संभावना छ ।’
मैले आफूले आफैलाई धिक्कारेँ–कुन दिनमा यो पेशा अगाल्न पुगेछु भनेर । आफू कति कर्जामा डुबेको छु भन्ने कुरा आफैलाई थाहा थियो । धरौटी दिन नसके फेरी जेल बस्नपर्ने कुरा मेरा वकिलले मलाई जानकारी गराए । म सँग दश करोड धरौटि दिनसक्ने औकात थिएन । र फेरी मैले वकिल सावलाई धरौटि राख्न नपर्ने उपाय खोज्न अनुरोध गरे । वकिलसावले उपाय निकालीदिनु भो ।
थुनछेकको बहस भयो ( जेलमा बस्नु परेन र धरौटि पनि राख्न परेन तर अर्को समस्या आईलाग्यो फेरी । भ्रष्टाचार को मुद्दामा वारेस राख्न नपाईने रहेछ । पन्ध्र पन्ध्र दिनको तारेख अनि आफै उपस्थित हुनै पर्ने बाध्यता । बितेको वर्ष आफू बिरामी परेको कारणले सबै साईटको प्रगति सन्तोषजनक थिएन र यो वर्ष पनि म आफूले साईटमा ध्यान दिन नसक्ने कुरा निश्चित जस्तै भयो । अब मसंग आफ्ना स्टाफको भर गर्नु बाहेक अर्को विकल्प पनि रहेन ।
वास्तवमा मैनाचुली निर्माण सेवा प्रा.ली नामको हाम्रो कम्पनिमा त्यसबेला अध्यक्ष तथा मेनेजिड़ डायरेक्टर छत्र प्रसाद अधिकारी हुनुहुन्थ्यो र चण्ड़ी प्रसाद पराजुली (छत्र दाईको सम्धि) दोस्रो तहको डाईरेक्टर हुनुहुन्थ्यो । त्यो बेला कम्पनिमा मेरो थोरै मात्र ( छ सय कित्ता ) शेयर थियो ।
यदि मैले चाहेको भए शुरूदेखि नै यो मुद्दाको जिम्मेवारी कम्पनिको प्रमुखको हैसियतले छत्रदाईको थाप्लोमा हालेर पन्छिन सक्थेँ तर उहाँसँग दुई दशक लामो साझेदारीमा हामी बीचको सम्बन्ध पार्टनर भन्दा बढी दाजु भाईको रूपमा विकसित भएको थियो र मैले यो सबै झञ्नझट आफ्नो थाप्लोमा लिएँ । त्यसबेला हामी एउटै कम्पनिमा भए पनि निर्माण कार्य भने अलग अलग गर्दथ्यौँ नाफा घाटा आ–आफ्नो कामको आ–आफैले ब्योहोर्ने गरि ।
अब तारिख धाउने काम शुरू भयो । त्योबेला म पूर्णरूपले स्वस्थ भैसकेको थिइनँ । नियमित रूपले डाक्टरको सम्पर्कमा थिएँ । हरेक पटक डाक्टरको सल्लाह तनाव रहित रहनु भन्ने हुन्थ्यो तर आफ्नो परिस्थिति त्यस अनुकुल थिएन । परिस्थितिले मलाई क्रमशः आफ्नो स्वस्थ, मुद्दा अनि निर्माण कार्य , यसरी प्राथमिकिकरण गर्न बाध्य तुल्याएको थियो ।
करिव छ महिनाको अदालतको तारेख खेपेपछि मुद्दाको फैसला सुनाउने समय पनि नजिकै आयो । फैसला के होला भन्ने कौतुहलताले बेस्सरी चिथोर्न थाल्यो । तर वकिलसावले फैसला आफ्नै पक्षमा हुने विश्वास दिलाउनु भो र मैले उहाँको विश्वासमा आफ्नो लालमोहर ठोकिदिएँ । नभन्दै वाहाले भने जस्तै फैसला हाम्रै पक्षमा भयो ।
राजविन्द्र सापकोटा लगायत हामी सबैले सफाई पायौ । न्यायलयले न्याय दियो । तर यो न्याय पाउदासम्म मेरो थाप्लोमा लगभग पचासी लाख साहु कर्जा थपिईसकेको थियो । तैपनि यो एउटा अनाहकमा आईलागेको झमेलाबाट उन्मुक्ति त पाएँ भनेर चित्त बुझाए ।
त्यसको भोलि या पर्सी पल्ट बिशेष अदालतको फैसलाको प्रतिलिपि संलग्न राखेर आफूले मुद्दाबाट सफाई पाएको लिखित जानकारी सार्वजनिक खरिद तथा अनुगमन कार्यालयमा दर्ता गराएँ ।
मुद्दाबाट सफाई पाएपछि मलाई घोर निन्द्राबाट बिऊझिए झैँ लाग्यो । सबै साईटहरू मष्तिष्कमा छटपटाऊन थाले । र म करिब सात महिना पछि काठमाण्डौ बाहिर निस्केँ यद्धपी ममा शारिरिक दुर्वलाता भने छँदै थियो ।
सबै साईटहरूमा निर्माण कार्य लगभग शून्य थियो र मसंग काममा लगानी गर्ने रकम पनि थिएन । सरसापटबाट केही रकमको जोहो गर्दै काम शुरू गरँ । त्यो समय पौष महिनाको अन्ततिरको थियो र लगभग बीस बर्षको मेरो बैङकिङ कारोवारमा पहिलो पटक मैले समयमा बैड़्क ब्याज बुझाउन सकिनँ ।
माघ महिनाको मध्यतिर सबै साईटमा काम शुरूभयो र म आफ्नो स्वस्थ जाँचका लागि केही दिनका निमित्त दिल्लितिर लागेँ । दिल्लिबाट म सिधै काठमाडौँ आएँ । भएका कामहरू सम्पन्न गर्न मैले बैङक लोन नथपि अर्को उपाय थिएन र मैले बाणिज्य बैड़्कमा लोनको लागि फाइल पेश गरेँ ।
फाल्गुनको १२ गते मेरो फाइल बोर्डले सदर गर्यो तर सदर भएको शाखालाई जानुपर्ने पत्र तैयार हुन बाकी थियो । फागूनको चौध गतेका दिन फेरी ममाथि अर्को कल्पना नै नगरेको संकट आईलाग्यो । त्यस दिनको गोरखापत्रमा सार्वजनिक खरिद अनुगमन कार्यालयले मेरो कम्पनि मैनाचुली निर्माण सेवालाई एक वर्षका निमित्त कालोसूचिमा राखिएको सूचना प्रकाशित गर्यो । यो थाहा पाएर मलाई आफैप्रति दया लागेर आयो, र मनमनै आफैले आफैलाई सान्तवना दिदै भने की ईश्वरको रोहवरमा यो तेरो सहासको परिक्षणको घडि हो धैर्य गर ।
त्यसपछि म तुरून्तै सार्वजनिक खरिद अनुगमनको कार्यालय पुगेँ र त्यहाँका सरकारी वकिललाई भेटेँ । उनलाई मैले कालोसूचिमा राख्नु पर्नाको कारण सोधे । शुरूमा त उनी के जवाफ दिने भनेर अनकनाए र केहि क्षणपछि नम्र भएर उल्टै मलाई सोधे,‘तपाईंको अख्तियारमा राम्रो सम्बन्ध छैन कि के हो ? मैले सोधे किन ? उनको भनाई अनुसार अख्तियारबाट गोविन्द श्रेष्ठले बार–बार मेरो कम्पनिलाई कालोसूचिमा राख्ने आदेश दिएको र अन्यथा उनैलाई मुद्दा लगाईदिने धम्कि दिएकोले बाध्य भएर कालोसूचिमा राख्नुपरेको कारण उनले बताए ।
त्यसपछि म आफ्नो वकिललाई भेट्न र यस बारेमा कानुनी सल्लाह लिन वकिलको अफिसतिर हानिएँ । वकिलको सल्लाह अनुसार ‘स्टे अर्डर’का लागि पुनरावेदन अदालत जानुपर्ने भयो । मैले वकिललाई सो कामका लागि चाडै तैयारी गरिदिन अनुरोध गरेँ र उहाँग बिदा भए ।
पुनरावेदन अदालत पाटनमा स्टे अर्डरका लागि फिरादपत्र दर्ता गरियो । सात दिनपछि सार्वजनिक खरिद अनुगमन कार्यालयका सरकारी वकिल मेरो तर्फका वकिल र सरकारी वकिललाई स्टे अर्डर गर्नपर्ने वा नपर्ने भन्ने बिषयमा बहस गर्न आदेश भयो ।
सातौ दिनका दिन बहस शुरूहुनासाथ सरकारी वकिलले थोरै के बोलेका थिए न्यायाधीशले त आदेश गरिहाले कि स्टे अर्डर हुन सक्दैन भनेर । मेरो तर्फका वकिलले आफ्नो कुरा राख्न खोजेका मात्र थिए न्यायाधिशले सुन्न ठाडै ईन्कार गरिदिए ।
ठिक त्यसैबेला मैले मेरो तर्फबाट बहस गर्न राखेका वरिष्ठ अधिवक्ता शम्भु थापा आईपुग्नु भो र उहाँले न्यायाधीशलाई भन्नुभो ‘श्रीमान न्यायलयले पिडितको कुरा सुन्नुपर्छ, एउटा व्यक्तिलाई दोहोरो सजाय र त्यो पनि अदालतले सफाई दिईसकेको मुद्दामा गर्न पाईदैनँ । उहाँले तर्क राखेपछि बल्ल न्यायाधीसले शभ्भु थापालाई आफ्ना भनाई राख्ने मौका दिए ।
शम्भु थापाको भनाई सकिएपछि ‘स्टे अर्डर’ जारी भयो तर त्यो सात दिनसम्मका लागि मात्र । फेरी सातौ दिनका दिन स्टे अर्डरलाई निरन्तरता दिन पर्ने वा नपर्ने भन्ने बिषयमा बहस हुनेभयो । यदि ‘स्टे अर्डरले निरन्तर मुद्दाको फैसला नहुन्जेल कालोसूचिमा राख्ने सार्वजनिक खरिद अनुगमनको आदेश कार्यान्वयन नगर्नु/नगराउनु भनेर अदालतले आदेश जारि गरिदियो । मैले अलि राहतको सास फेरेँ । त्योसमय मुलुक डरलाग्दो संक्रमणकालबाट गुज्रिरहेको थियो । पेश भएका रनिङ बीलहरूको भुक्तानि समयमा पाईदैनथ्यो ।
अत : मेरो एउटा आशा के पलायो भने अब राष्ट्रिय वाणिज्य बैड्कमा स्वीकृत भएको मेरो लोन रिलीज हुन्छ जसले बन्दै रहेका मेरा निर्माण कार्यहरू म सुचारू गर्न सक्छु । ‘स्टे अडर’को निर्णय बोकेर भोलिपल्ट दश बजे नै म रा. बा. बैङ्क हेड अफिस पुगेँ । त्यहा पुगेपछि मेरो आशा पानी–पानी हुन पुग्यो । बैंकले भन्यो,‘ यो त मुद्दाको फैसला होईन , र यसको आधारमा कर्जा रिलीज गर्न मिल्दैन ।’
अब मसंग मेरो जिम्मामा रहेका निर्माण कार्यहरूलाई निरन्तरता दिने कुनै उपाय थिएन । यस भन्दा पहिले नै एभरेष्ट बैंकमा जम्मा हुन् गएको बिलको सम्पूर्ण रकम ऋणमा मिलान गरिदिएकोले बजारको बक्यौता तिर्ने त कुरै छौडौ मजदुरको ज्याला समेत दिनसक्ने अवस्था रहेन ।
त्योबेला मेरो मस्तिष्कमा जस्ता भावनाहरू , सोचाईहरू सलबलाउथे । अहिले म सोच्छु –‘म निकै डिप्रेशनमा गैसकेको रहेछु । ‘अब मलाई नभेटि नहुने मान्छे बाहेक अरू कसैसंग पनि देखादेख नहोस् भन्ने लाग्दथ्यो चाहे त्यो जतिसुकै अभिन्न मित्रनै किन नहोस् । यसर्थ म पुतलिसडकमा होटल तिरूपतिमा एउटा रूम लिएर एक्लै बस्न थालेँ जब कि महाराजगंजमा मेरो घर पुरै खाली थियो । त्यो होटलमा मैले तीन महिना भन्दा बढि बिताएँ ।
साईटतिर स्टाफहरूलाई ‘जे बिक्रि हुन्छ तेहि बेचेर तिरोभरो गर्न’ भने । जीवनमा मैले जिम्मा लिएका सबै निर्माण आयोजनाहरू संझौतामा उल्लेख भएको समय अगावै सम्पन्न गर्दै आएको मेरो कम्पनी मातहतका सबै आयोजनाहरू अहिले लथालिड्ग अवस्थामा थिए ।
अब म अधिकांश समय होटलको रूममा एक्लै बसेर बिताउन थालेँ । कैयौ पटक ममा आत्महत्या गर्ने भावना प्रवल बनेर आयो । त्यो भावनालाई मेरो पारिवारिक मोहले कहिल्यै पराजीत गर्न सकेन ।
यदि गर्यो भने मेरो त्यही जिद्दि स्वभाव ‘कि मैले कुनै अक्षम्य अपराध गरेको छैन र मैले यदी आत्महत्या गरेभने अनि चाहि म अरूको नजरमा अपराधि ठहरिन सक्छु ।’ यहि सोचाईले मलाई त्योबेला जिवित राख्यो ।
कुनै दीर्घकालीन लक्ष लिएर म यो पेशामा लागेको थिइन । साच्चै भन्ने हो भने पासाड् गोपर्माको शिफारिसमा तानसेन शर्मा नाम गरेका बत्तिसपुतलिका एक जना मारवाडिको मातहतमा दुई दिन खाएको जागिर उपन्यासकार भरत जंगमको ‘कालो सूर्य’ उपन्यासको प्रभावमा परेर छोडेपछि लहै–लहैमा ठेकेदार बन्न पुगेको हुँ । केही वर्षहरू अनिच्छा पूर्वक यहि पेशामा बिते ।