
रमेश महर्जन
भिडभाडले उकुशमुकुस काठमाडौंको रत्नपार्क, वीर अस्तपाल, न्यूरोड र त्यस आसपासको क्षेत्र । चहलपहल निक्कै देखिने त्यो क्षेत्रमा मानिसहरु हतार हतासमा भेटिन्छन् । ठेलमठेल त्यो क्षेत्रमा हिजोआज गीता श्रेष्ठ पनि हुनुहुन्छ । विहेपछिको नागरिकतामा उहाँको नाम ‘गीता श्रेष्ठ’ भएपनि विहे अघि ‘गीता नेपाली’ हुनुहुन्थ्यो ।
अचाक्ली मान्छेहरुको भीडमा देखिने गीताको पेशा ‘ट्याक्सी ड्राईभर’ हो । उहाँको दैनिकी विहान ६ देखि बेलुकी ८ बजेसम्म हुन्छ । हरेक दिन यसरी नै यात्रु प्रतिक्षा गरी बस्ने र भनेको ठाउँमा पुर्याउने उहाँको काम हो ।
वितेका ८ वर्षदेखि यो पेशामा लाग्नुभएका गीताले ट्याक्सी चलाउन थाल्नुभएको २ वर्ष भयो । सुरुका ४ वर्ष उहाँले सफा टेम्पो चलाउनुभयो । त्यसपछिका २ वर्ष कार्यलयका गाडी हाँक्नुभयो । त्यसपछि आफैँ भााडामा ट्याक्सी लिएर ट्याक्सी चालक बन्नुभयो ।
गीताकी दुई छोरी छन् । उनीहरुको नाम एन्जल श्रेष्ठ र एन्जिलिना श्रेष्ठ हुन् । श्रीमानले आफूर दुई छोरीलाई पनि हेर्न छाडेपनि गीताले यो पेशा अंगाल्नुभएको हो ।
गीताले ललितपुर सातदोबाटोका अर्जुन श्रेष्ठसँग आजभन्दा १४ वर्षअघि प्रेम विवाह गर्नुभएको थियो । अन्तरजातिय विवाह भनेर परिवारले स्वीकार गर्न सकेन ।
गीता १४ वर्षअघिको कुरा स्मरण गर्दै भन्नुहुन्छ, ‘हामी कक्षा ५ पढ्दापढ्दै प्रेममा थियौँ । कक्षा ९ पुगेपछि भागेर विवाह गर्यौँ । सल्लाह गर्दा परिवारले नमान्ने डरले हामीले भागेर विवाह गरेका हौँ’
प्रेम विवाहमा परिणत भएपछि अर्जुनले घरमा मनाउने कोशिस नगर्नुभएको होईन । हदसम्मै मनाउने कोशिस फेल भयो । आफ्नो खुसीमा परिवार सारथी बन्न सकेन ।
परिवारले खुसीयाली नमनाईदिदा दुबैजनालाई कताकता ननिको लाग्यो । पारिवारिक असहयोगपछि दुबैजना काठमाडौंमै छुट्टै कोठा लिएर बस्न थाल्नुभयो ।
जेनतेन दुःख सुख उनीहरु डेराको जीवन विताईरहेका थिए । आपसमा खुसी नै थिए । विवाह भएको केही वर्षपछि २०६४ सालमा गीताको नागरिकता बन्यो । नागरिकताको प्रमाणपत्रमा गीता नेपाली नाम लेखिएन । उहाँको थर परिवर्तन भएर नागरिकता बन्यो । श्रेष्ठसँग विहे गरेको भएर नागरिकतामा गीताको थर पनि श्रेष्ठ नै लेखियो ।
बेला बेला अर्जुन आफ्नो आमा बुबा भेट्न घर जाने गर्नुहुन्थ्यो । गीता भन्नुहुन्छ, ‘बेलाबेलामा श्रीमान आफ्नो घर जानुहुन्थ्यो । म उहाँको घरमा जान नपाएपनि परिवारसँग उहाँको सम्पर्क निरन्तर नै थियो ।’
उहाँको हिमचिम गीतासँग भन्दा पनि आफ्नै बुबाआमा र परिवारसँग बढ्न थाल्यो । व्यवहारमा पनि केही परिवर्तनको भान महसुस गर्न थाल्नुभयो गीताले ।
गीताको भनाई अनुसार, अर्जुनले आफ्नो आमाबुबासँग नै धेरै समय विताउन थाल्नुभयो । सानै उमेरकी २ छोरीको मुख हेरेर भएपनि गीता सम्हालिएर बस्नुभयो ।
एकदिन उहाँले आफ्नो श्रीमानको विहे अरुसँग नै धुमधामले भएको खबर पाउनुभयो । त्यो क्षण स्मरण गर्दै गीता भन्नुहुन्छ, ‘यति धेरै मायाँ गर्ने मान्छेले, संगै बाँच्ने कसम खाएर बिहे गरेको मान्छेले परिवारको कुरा सुनेर यसो गर्लान् भन्ने मलाई लागेकै थिएन । म छाँगाबाट खसेजस्तै भएँ ।’ श्रीमान अर्जुनको परिवारले मागेर नै अर्जुनको विवाह गरिदिएको रहेछ ।
अब श्रीमानबाट कुनै आश भएन । आफ्नो जीन्दगी त जस्तो भयो भयो, छोरीहरुको जीन्दगी भने सुन्दर बनाउने अठोट उहाँमा जाग्यो ।
छुट्टै कोठा लिएर बस्दा उहाँसँग कोठाभाडा तिर्ने पैसा भएन । ज्याला मजदुरी गरेर काठमाडौंको खाल्डोमा परिवार धान्न नसकिने भयो । माईतीसँग गुहार मागौँ, आर्थिक अवस्था सन्तोषजनक थिएन ।
त्यो समयको स्मरण गर्दै उहाँ भन्नुहुन्छ, ‘कोठा भाडा तिर्न नसकेको केही महिना भएको थियो । बच्चालाई त्यतिकै कोठामा छाडेर काममा जान मिल्ने अवस्था थिएन । मैले कोठाभाडा तिर्न नसकेपछि घरबेटीले कोठामा ताला लगाईदिए । त्यसपछि त झन अब के गर्ने भन्ने तनाव भयो । मैले केही सोच्न नै सकिन ।’
सानी दुई छोरीलाई समेत सम्झिएर एक कल फोन गर्नुभएन गीताकी श्रीमान अर्जुनले । कसैको सहारा नपाएपछि केही त गर्नु नै पर्यो भन्ने लाग्यो ।
गीतालाई सानै उमेरदेखि गाडी ड्राईभर बन्ने सोख थियो । गाडी चालक बन्न साह्रै मन पर्ने । उहाँले आफ्नो दाईलाई गाडी चलाउने ईच्छा जनाउनुभयो । दाईको साथीले गाडी सिकाउनुहुदो रहेछ । त्यहि गएर गाडी सिक्न दाईले भन्नुभयो । त्यसपछि गाडी चलाउने काम सिक्न गीता दाईको साथिकहाँ जानुभयो ।
आज भन्दा ८ वर्षअघि गाडी चलाउने अभ्यास गर्दाको क्षण स्मरण गर्दै गीता भन्नुहुन्छ, ‘दाईको साथी मेरो पनि दाई । उहाँले नआत्तिकन ह्याण्डिल, ब्रेक र गियरमा ध्यान दिएर चलाउन भन्नुभयो । मैले त्यसै गरेँ । मैलै सुरुमै झण्डै बागमती खोलामा गाडी फ्याकीदिएकी । दाईले गाली गर्नुहुन्छ होला भनेर निक्कै डराएँ । तर अहाँ उहाँले केही भन्नुभएन । बरु नआत्तिकन सिक्न भन्नुभयो । ’
उहाँ भन्नुहुन्छ, ‘सहज वातावरणमा गाडी चलाउने अभ्यास गर्न पाएको भएर होला, चाँडै नै चलाउन जान्ने भएँ । ड्राईभिङ कक्षा लिएको ५ दिनमै लाईसेन्सको लागी ट्रायल दिन गएँ । म पास पनि भएँ । अनि मैले भगवानलाई धन्यवाद दिएँ । त्यो क्षण सम्झँदा अहिले पनि खुसी भएर आउँछ ।’
गीताले ट्रायल पास त गर्नुभयो । तर भन्ने वित्तिकै महिलाहरुलाई पत्याईहाल्नेहरुको जमात कम थियो ।
बल्ल बल्ल उहाँले ४८ २४ नम्बरको सफा ट्याम्पोमा काम पाउनुभयो । काम सुरु गरेकै दिनको उहाँको एउटा घटना बढो रोचक छ । गर्दै गीता सम्झनुहुन्छ, ‘मिस्त्रीले गाडीको टायरको नट अलि राम्रोसँग कसिदिएको रहेनछ, मलाई पनि हेक्का नै भएन । गुडिरहेको गाडीको टायर एक्कासी फुस्कियो । टायर कत्ता पुग्यो पुग्यो मलाई नै थाथहा भएन । एकछिन त गाडीको टायर खोज्न नै समय लाग्यो । टायर नै गायब भयो हाहाहाहा…।’
गाडी रोकेको देखेर ट्राफिकहरु आए । निक्कै डर लाग्यो केही गर्ने पो हो की ? भनेर । तर, सोचेभन्दा फरक भैदियो ट्राफिकको व्यवहार । केही नभनीकन साईड लगाउन लगाए । मिस्त्री बोलाएर बनाउन भनेर ट्राफिक आफ्नो ड्युटीतिर हिँडे ।
अनुभव
कत्तिपय व्यक्ति ट्याक्सीमा बसेपछि झर्न नै नमान्ने र अनेक अपशब्द बोलेपनि सहनुपर्ने अनुभव उहासँग छ ।
केही समयअघिको कुरा हो उहाँको ट्याक्सीमा एकजना व्यक्ति आए । ट्याक्सी कुदाउन लगाए । उहाँ भन्नुहुन्छ, ‘त्यो व्यक्तिले रक्सी पिएर ट्याक्सीमा बसेको रहेछ । मलाई पनि ट्याक्सीमा चढेपछि मात्रै थाहा भयो । त्यो व्यक्तिलाई जतिसक्दो छिटो ठाउँमा पुर्याउने सोँचमा थिए । दिउँसो ४ बजेतिर ट्याक्सीमा चढेका थिए त्यो व्यक्ति । ओर्लने ठाउँ आईसक्दा पनि पैसा नै दिन खोज्दैन । झण्डै ८ बजेसम्म पनि उसले पैसा दिएन । विभिन्न बहाना मात्रै बनाईरह्यो । मैले त पैसा नलिईकन जाने अवस्थामा नै थिएन । साहुलाई भाडा बापतको पैसा बेलुकी बुझाउनुपर्थ्यो । अन्ततः गीताले पुलीसलाई खबर गरेँ । त्यसपछि आफ्नो बाटो लागेँ ।’
महिला चालकलाई अलि धेरै गाहे भएको उहाँ बताउनुहुन्छ । केही युवाहरु अपशब्द बोल्ने र जिस्क्याउने गर्दा आफूलाई निक्कै असहज हुने गीताको अनुभव छ ।
‘हाउ मच अभियान’ को तितो अनुभव
ट्याक्सी चालक मिटरमा नजाने, बढि भाडा लिने लगायत आरोपबाट अछुत छैनन् । गीता पनि केही पटक ‘हाउ मच अभियान’ मा पर्नुभयो । उहाँ यात्रुसँग बढि भाडा लिएर वा मिटरमा जान नमानेर नभई ट्राफिक प्रहरीको छड्के जाँचमा पर्नुभयो । एकपटक एकजना व्यक्ति ट्याक्सीमा चढे । चढ्ने मान्छेले नै कत्तिमा जाने भनेर भाडाको बार्गेनिङ सुरु गरे । ट्याक्सी चढ्ने व्यक्तिले नै रकम कत्ति हो भनेपछि गीताले पनि मिलाएर दिन भन्नुभयो । एकछिनपछि त्यो व्यक्तिले आफ् प्रहरी भएको बताए । आफू हाउ मच अभियान अन्तर्गत कारबाहीमा परेको थाहा भएपछि गीता झस्याँग हुनुभयो ।
उहाँ भन्नुहुन्छ, ‘उहाँहरु नै यात्रु बनेर ट्याक्सीमा चढ्नुहुन्छ । उहाँहरुले नै बार्गेनिङ गर्नुहुन्छ । अनि फेरी उहाँहरु नै तपाई कारबाहीमा पर्नुभयो भन्नुहुन्छ । यसरी भन्दा पनि बास्तविक ठगी कसले गरेको हो त्यसलाई पो कारबाही गर्नुपर्ने हो त ? हामीले त यात्रुले जसरी भन्यो त्यसरी नै सेवा दिने हो ।’
यो क्षेत्रमा त्यस्ता ठगी गर्ने व्यक्तिको जमात भएको स्वीकार्दै उहाँ भन्नुहुन्छ, ‘एक दुई जनाको कारणले गर्दा यो क्षेत्र नै बदनाम भएको छ । मलाई मिटरमा जान कुनै आपत्ती छैन । म मिटरमै जान्छु पनि । यसरी हामीजस्ता सोझो बाटोबाट गरिखानेलाई चाँही अलिक गाह्रो नै भएको छ । बाङ्गो बाटो अपनाउनेको पहिचान हुनुपर्यो ।’ यसरी नै ‘हाउ मच अभियान’ अन्तर्गत गीता २ पटक कारबाहीमा पर्नुभयो ।
गीताकी दुई छोरी : एउटी ‘स्कुल टप’ अर्की ‘कक्षा फष्ट’
परिवारले साथ छाडेपछि उहाँले ट्याक्सी चलाएर नै दुई छोरीलाई राम्रोसँग पढाउनुभएको छ । ११ वर्षकी एन्जल श्रेष्ठ र ८ वर्षकी एन्जिला श्रेष्ठ स्कुलकै सबैभन्दा अब्बद छात्राहरु हुन् ।
दुबै छोरीहरु शृष्टी ज्ञान सेकेन्डरी स्कुल बुढानिलकण्ठमा पढ्छिन् । जेठी छोरी ११ वर्षकी एन्जल अहिले कक्षा ४ मा पढ्छिन् । उनी ‘स्कुल टपर’ हुन् ।
कान्छी छोरी ८ वर्षकी भईन । उनी २ कक्षाकी अब्बल छात्रा हुन् । एन्जिला पनि ‘कक्षा फष्ट’ विद्यार्थी ।
छोरीहरुको प्रगती देखेर आमा गीतालाई निक्कै सक्रिय हुने जाँगर चलेको छ । उहाँ भन्नुहुन्छ, ‘श्रीमानले मेरो मायाँलाई नबुझेपनि मेरो संघर्षलाई छोरीहरुले भने राम्रैसँग बुझेका छन् । मलाई कसैको सहारा चाहिएको छैन अहिले । दुई छोरी, बहिनी आमासँग हाँसीखुसीले बसिरहेकी छु । छोरीहरुको प्रगतीले त झन काम गर्ने थप हौसला मिलेको छ । मलाई अब श्रीमानले नहेरेपनि केही फरक पर्दैन ।’
श्रीमानसँग बेमेल
अन्तरजातिय विवाहपछि परिवारको साथ र हौसला नपाएरै गीताले श्रीमानको साथ पाउनुभएन । श्रीमानले साथ छाडेपनि उहाँले आफ्नो भविश्य कोरिसक्नुभएको थियो । आफैँले गाडी चलाएर आफ्नो र छोरीहरुको समेत भविश्य उज्वल बनाउदै हुनुहुन्छ उहाँ ।
दुई छोरीलाई विद्यालय भर्ना गर्नुपर्ने भयो । जन्मदर्ता आवश्यक पर्ने भयो । श्रीमानले अर्कैसँग मागेर विहे गरेपनि जन्मदर्ताका लागि श्रीमान अर्जुनसँग कुरा गर्न जानुभयो । तर अर्जुनले कुरा सुन्नुभएन । केही समयपछि फेरी कागजपत्रकै लागि गीता अर्जुनकहाँ पुग्नुभयो । तर अर्जुनले कागजात दिन मान्नुभएन ।
गीता निक्कै अप्ठेरोमा पर्नुभयो । छुट्टै बस्दै आएपनि छोरीहरुको भविश्य भने सुन्दर बनाउनु थियो । एउटा जन्मदर्ता बनाउने कागजात माग्दा समेत नपाएपछि निक्कै अपहेशुस गर्नुभयो गीताले ।
छोरीहरुको जन्मदर्ता बनाउनुभन्दा पहिले त दुबैजना आ आफ्नो बाटोमा हिडिरहेका थिए । आधिकार प्राप्तीको विषयमा भने त्यतिकै चुप बस्न नहुने रहेछ भन्ने लाग्यो । महिला अधिकारकर्मीले पनि बहुविवाहको मुद्दा हाल्न सल्लाह दिएपछि गीताले श्रीमान अर्जुनविरुद्द बहुविवाहको मुद्दा चलाउनुभयो । फैसला भने भएको छैन ।
श्रीमान र उहाँको दोस्रो श्रीमतीबीचमा तगारो बन्न भन्दा पनि आफ्ना दुई छोरीको अधिकार प्राप्तीका लागि पुलिस केस गर्नुपरेको गीता बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘मैले मेरो सुर गरिसकेँ, श्रीमानबाट कुनै आस छैन र गर्दिन पनि । तर, छोरीहरुले पाउने आधिकार चैँ पाउनुपर्यो भन्ने हो ।’
टुरिष्ट गाडी चलाउने धोको
८ वर्षदेखि गाडी चालक हुनुभएकी गीताले सुरुको झण्डै ४ वर्ष सफा टेम्पो चलाउनुभयो । त्यसपछि विभिन्न कार्यलयका गाडी २ वर्ष चलाउनुभयो । पछिल्लो २ वर्षदेखि उहाँ ट्याक्सी चलाउनुहुन्छ । सानैदेखि यो क्षेत्र मन पर्ने र परिवेशले पनि त्यस्तै खालको बाटो बनाईदिएको भन्दै उहाँ भन्नुहुन्छ, ‘अब टुरिष्ट गाडी चलाउने रहर छ…।’