ओम अस्पतालमा बिरामी मृत्युको फेहरिस्त, यस्तो छ लापरबाहीको श्रृङखला !

दियोपोस्ट संवाददाता

-रीता बुढाथोकी  

काठमाडौँ । धादिङ बुढाथुमकी सुश्मा अधिकारी सामान्य खुट्टा सुन्निने समस्या लिएर २०७३ साउनमा राजधानीको चावहिलस्थित ओम अस्पताल पुगिन् । अस्पतालका डाक्टरले खुट्टाको सिटी स्क्यान गर्न भने पछि उनी काउन्टरमा पैसा बुझाएर सिटि स्क्यान गर्ने कोठामा गइन् । त्यहाँ उनलाई सिटी स्क्यान गर्नका लागि लगाइने सुई लगाइदिएको थियो । केहीछिन पछि उनलाइ असजिलो भयो र एकैछिनमा मृत्यु भयो ।

डा.अमरनाथ महतो उनको उपचारमा संलग्न थिए । शुस्माको मृत्यु भएपछि उनका आफन्तले अस्पतालमा प्रदर्शन सुरु गरे । ‘सिटि स्क्यान गरेको बिरामीको मृत्यु कसरी भयो ?’ भनेर आफन्तले स्पस्टीकरण माग गरे । तर अस्पतालले चित्त बुझ्दो जवाफ नदिएको भन्दै आफन्तहरु आन्दोनमा उत्रिए । आन्दोलन उत्कर्षमा पुगे पछि अस्पताल पीडित पक्षसंग सम्झौता गर्न बाध्य भयो । मृतकका बालबच्चाको अध्ययनका लागी २१ लाख ५० हजार नगद र अस्पताल कर्मचारी सरह ८० प्रतिशत उपचारमा छुट दिने गरी सहमती भएको थियो । त्यसपछि मृतकका आफन्तले आन्दोलन फिर्ता लिए ।

मृतक सुष्मा अधिकारी

त्यसलगत्तै २ महिना नपुग्दै पूनः सोही अस्पतालमा अर्को अनपेक्षित घटना भयो । संखुवासभा चैनपुरकी ५२ वर्षीया टंककुमारी न्यौपाने क्षेत्री महिनावारी भएको बेला अत्याधिक रक्तश्राप हुने समस्या लिएर अस्पताल पुगिन् । किनकी डाक्टर भोला रिजाल निकै नाम चलेका र भरपर्दा डाक्टरको रुपमा चिनिन्थे । डाक्टर रिजालकाे नाम लिएर ओम अस्पतालमा प्रजनन सम्वन्धी समस्या लिएर नजाने महिला कमै होलान् । टंककुमारी पनि त्यस्तै समस्या लिएर उपचारका लागि ओम अस्पताल पुगेकी थिइन् । तर उपचारका क्रममा उनको पनि ज्यान गयो ।

उनको मृत्यु डाक्टरकै लापरवाहीका कारण भएको परिवारले अरोप लगाए । उनको मृत्युमा पनि अस्पताल तनावग्रस्त बन्यो । भलै अस्पतालको कुनै कमजोरी थिएन होला । तर मृतकका आफन्त मान्न तयार थिएनन् । उनीहरु अस्पताल र डाक्टरका बिरुद्धमा नारावाजी गर्दै आन्दोलनमा उत्रिए । अस्पतालमा टायर मात्र बलेनन्, अस्पतालका सिसा समेत फटाइए । आन्दोलन नियन्त्रण भन्दा बाहिर जान थलेपछि अस्पतालले पीडित परिवारलाई क्षतीपूर्ती दिने घोषणा गर्यो । मृतकका आफन्तलाई केही रकम बुझाएर त्यो घटनालाई पनि थामथुम बनाइयो ।


तर अस्पतालको लापरवाही यतीमै रोकिएन । २०७४ साउनमा गोर्खा आरुघाट स्थायी घर भई काठमाण्डौको चावहिलमा ब्यापार गरी बस्ने ५५ वर्षीया नन्दकुमारी लामिछानेको पनि उपचारकै क्रममा ओम अस्पतालमा मृत्यु भयो । नन्दकुमारी पित्तथैलीमा भएको पत्थरी निकाल्न ओम अस्पताल पुगेकी थिइन् । उनको पनि शल्यकृयाको क्रममा मृत्यु भएपछि उपचारमा संलग्न चिकित्सकले चरम लापरवाही गरेको मृतकका आफन्तले आरोप लगाए । मृतकका आफन्तले कारवाहीको माग गर्दै आन्दोलनमा उत्रिए पछि अस्पताल परिसर तनावग्रस्त भएको थियो । यो घटनालाई पनि पैसामा टुङ्ग्याइयो ।

त्यसको एक महिना नपुग्दै त्यही प्रकृतिको अर्को घटना दोहोरियो । ०७४ भदौमा नाकको हड्डी सोझ्याउन आएकी बुटवलकी ४० वर्षीया कमला भट्टराईको अपरेशनका क्रममा ज्यान गयो । सामान्य शल्यकृयाका क्रममा आफ्नो बिरामीको ज्यान गएको भन्दै मृतकका आफन्तले अस्पताल र डाक्टरले लापरवाही गरेको आरोप लगाए । डाक्टर राजेन्द्र गुरागाईले कमलाको अप्रेशन गरेका थिए । अप्रेशन सामान्य भएतापनि अचानक उनमा संक्रमण फैलिएर उनको मृत्यु भएको डा. गुरागाईको भनाई थियो । तर डाक्टरको जवाफ चित्त बुझ्दो नभएको भन्दै मृतकका आफन्त आन्दोलनमा उत्रिए । आन्दोलनका कारण केही दिनसम्म अस्पताल परिसर तनावग्रस्त रह्यो ।

डाक्टरले चरम लापरवाही गरेका कारण आफ्नो बिरामीले ज्यान गुमाएको भन्दै आफन्तले डाक्टर र अस्पतालका बिरुद्धमा उजुरी गर्ने तयारी समेत गरे । अस्पतालले सार्वजनिक रुपमै माफी माग्नु पर्ने र मृतकका परिवारलाई क्षतीपुति दिनु पर्ने उनीहरुकोे माग थियो । पटक पटक बिरामीको मृत्यु भइरहने र अस्पतालले क्षतीपूर्ती दिइरहनु पर्ने एक खालको नियम जस्तै बनेको थियो । यो घटना पश्चात ओम अस्पताल प्रति स्वास्थ्य मन्त्रालयको निगारी बढ्यो । अस्पतालले पटक पटक लापरबाही गरेको निश्कर्ष निकाली स्वास्थ्य मन्त्रालयले छानबिन समिति गठन समेत गरेको थियो ।

मृतक कमला भट्टराई


उपचारका क्रममा कुनै बिरामीको मृत्यु भएको खण्डमा अस्पतालले नै क्षतीपूर्ती ब्यहोर्ने स्वास्थ्य मन्त्रालयले निर्णय सुनायो । यो निर्णय पश्चात बिरामीले केही राहत महसुस गरे । तर निर्णय चित्त नबुझे पनि अस्पताल सहमती गर्न बाध्य भयो । किनकी पटक पटक आफ्नै अस्पतालमा बिरामीको मृत्यु हुने र आन्दोलनका कारण अन्य उपचारमा अबरोध सिर्जना भई अस्पताल नै धरासायी हुने अवस्थाबाट मुक्त हुनका लागि पनि अस्पतालले निर्णयमा सही गर्यो ।

तर उपचारकै क्रममा बिरामीको मृत्यु हुने क्रम भने रोकिएन । सरकार र अस्पताल बीच सहमती पत्रमा हस्ताक्षर भएको दुई वर्ष नपुग्दै उपचारका लागि अस्पताल आएकी सन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–१० स्थायी घर भएकी ५० वर्षिया रामप्यारी थापाले एकाएक ज्यान गुमाइन् । पित्तथैलीमा पत्थरी भए पछि डाक्टरको सल्लाह लिन रामप्यारी यही जेठ २४ गते अस्पताल आएकी थिइन् ।

घरबाट हिँड्दै अस्पतालसम्म पुगेकी उनलाई ‘पित्तमा पथ्थरी छ, अपरेशन गर्नुपर्छ’ भन्दै डाक्टरले सल्लाह दिएका थिए । अपरेशन लगत्तै अस्पतालले ३० गते बिहानै उनलाई मृत घोषणा गर्यो । अपरेशनका क्रममा उनको आन्द्रा काटिएर मृत्यु भएको परिवारीक स्रोतको भनाई छ । त्यसपछि मृतकका आफन्तले डाक्टरको लापरर्बाहीका कारण आफ्नो मान्छेको मृत्यु भएको भन्दै नाराबाजीसहित अस्पतालमा घेराबन्दी गरे ।

बिरामीको मृत्यु पश्चात तनावग्रस्त बनेको अस्पतालमा तैनाथ प्रहरी र आन्दोलनकर्ताबीच झडपको स्थिति सिर्जना भएको थियो । आफन्तले अस्पतालमा तोडफोड गर्न सुरु गरेपछि जेठ ३१ गते प्रहरीले हस्तक्षेप गर्याे । प्रहरीले अस्पतालमा तोडफोड र नाराबाजी गर्नेमाथि लाठीचार्ज र अश्रुग्याँस प्रहार गर्यो । प्रहरी र मृतकका आफन्तबीचमा भएको झडपका कारण ४ प्रहरीसहित ५ जना घाइते भए । उता अस्पताल प्रशासनले भने गम्भीर अवस्थामा रहेकी उनको उपचारको क्रममै मृत्यु भएको र यसमा चिकित्सकको लापरबाही नरहेको दाबी गरेको छ । तर डाक्टरको भनाईमा कुनै सत्यता नभएको भन्दै मृतकका आफन्तले अस्पताल बन्द गराउदैँ क्षतीपूर्ति दिनु पर्ने माग गरे ।


तर अस्पताल प्रशासन र पीडित पक्षबीच आइतबार सहमती भयो । बिरामीले अस्पताललाई तिर्न बाँकी रकम मिनाहा गर्ने सहमति भए पछि आन्दोलन फिर्ता भयो र अस्पतालको तर्फबाट मृतकप्रति समवेदना प्रकट गर्दै रामप्यारीकोे शव आफन्तको जिम्मा लगाइयो ।


यस अघि पनि डाक्टरको लापरवाहीबाट सोही अस्पतालमा सामान्य अवस्थाका दर्जनौ बिरामीको मृत्यु भए पछि अस्पतालले करोडाँै रुपैयाँ क्षतीपूर्तिमा खर्चेको छ । निरन्तर आलोचित बन्दै गएको ओम अस्पताल बिरामीको कम रोजाई अन्र्तगत पर्ने अस्पताल बनेको छ । पछिल्लो घटनाले पूनः अस्पताल प्रतिको मोह घटाएको आम सर्बसाधारणको भनाइ छ ।


तर अस्पतालमा पूर्ण तालिम प्राप्त डाक्टरहरु भएको र अस्पतालले कुनै कमजोरी नगरेको बताउँछन् अस्पतालका प्रशासकीय अधिकृत अजय शर्मा । उनले अबदेखि अस्पतालमा मृत्यु हुने बिरामीलाई क्षतीपूर्ति नदिने बताए । उनले भने, ‘अब हामीले कसैलाई क्षतीपूति दिन्नौ, कसैले क्षतपिूर्ति माग्यो भने पनि कानुनी तवरले लड्छौँ र मेडिकल काउन्सिलले ब्यवस्था गरेको नियम अनुसार चल्छौँ ।’

सम्बन्धित खबर