
काठमाडौं, ४ असार । सिङ्गापुरको क्रुजमा काम लगाइदिन्छु भन्दै ३ सय जनाबाट ६ करोडभन्दा बढी ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।
महानगरीय प्रहरी अपराध महासाखाको टोलीले नुवाकोट जिल्ला गणेशस्थान गाविस ९ घर भएका प्रविन पौडेललाई हेटौँडाबाट पक्राउ गरेको हो ।
काठमाडौंको तारकेश्वर नगरपालिका मनमैजु बस्दै आएका पौडेलले विशालनगरमा द अपेरेन्टिस फर्म प्रा.ली खोलेर विभिन्न तालिम सञ्चालन गर्दै आएका थिए । पौडेलले विभिन्न व्यक्तिहरुलाई तालिमका लागि भारत समेत लगेको खुलेको छ । तालिम पश्चात मासिक ६५० डलर तलब हुने आश्वासन दिँदै ५ सय जनाबाट ५ लाख रुपैयाँका दरले ठगी गरी फरार रहेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
झापा कन्काई घर भएका हाल कोटेश्वर बस्दै आएका तिर्थ हमालले आफूलाई ५ लाख रुपैयाँ लिएर पौडेल फरार भएको भन्दै महासाखामा उजुरी गरेका थिए । प्रहरीले उनलाई हेटौँडा उपमहानगरपालिका ४ पारिजातपथ एरियाबाट लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको थियो ।
उक्त ठगी काण्डमा जोडिएका अन्य व्यक्तिहरुलाई समेत प्रहरीले खोजी रहेको जनाएको छ । यस्ता घटना दोहोरिन सक्ने भएकाले सचेत रहनसमेत प्रहरीले अनुरोध गरेको छ ।