काठमाडौं, ६ असार । मिडिया उद्योगीहरुको छाता संगठन भनिएको नेपाल मिडिया सोसाइटी अन्तत विभाजित भएको छ । यसअघि निर्वाचनमा ४ मत प्राप्त गरी लज्जास्पद हार ब्यहोरेका एभिन्युज टेलिभिजनका अध्यक्ष भाष्करराज राजकर्णिकारले सोसाइटी फुटाएर मिडिया एशोसियशन नेपाल (म्यान) गठन गरेका छन् । सोसाइटीका अध्यक्ष शुभशंकर कंडेल र पूर्व अध्यक्ष कैलाश सिरोहीया कमजोर समुह बनेको पाइएको छ ।
नवगठित एशोशिएशनको महासचिवमा विवाद भएपछि संस्था दर्ता र भेला यतिबेला रोकीएको छ । असार ६ गते भएको बैठकले संस्था दर्ता गर्ने प्रक्रिया शुरु गर्ने भनिए पनि महासचिव को बन्ने भन्ने विवादका कारण दर्ता प्रक्रिया नै अवरुद्ध भएको पाइएको छ ।
एउटा समुहले नेपाल पत्रकार महासंघका पूर्व महासचिव ओम शर्मालाई म्यानको महासचिव प्रस्ताव गरेको छ भने अर्को समुहले विमल गौतमलाई अघि सारेपछि विवाद भएको हो ।
म्यान गठनमा साँघु साप्ताहिकका प्रकाशक तथा सम्पादक गोपाल बुढाथोकीको मुख्य भूमिका रहेको स्रोतले जानकारी दियो । अध्यक्ष बनेका राजकर्णिकारलाई सामाजिक सञ्जालमा बधाई नै दिन थालिएको छ । तर महासचिव को बन्ने भन्ने लफडाले पहिलो गाँसमै ढुङ्गा लागेको विश्लेषण हुन थालेको छ ।
अन्नपूर्ण ब्रोडकास्ट मिडियाका अध्यक्ष रामेश्वर थापा विदेशमा छन् । उनले विदेशबाटै आफू कैलाश सिरोहिया र शुभशंकर कँडेलको समुहमा नबस्ने र नयाँ समुहमा बस्नेत संकेत गरेको उच्च स्रोतको दाबी छ ।