पाठेघर क्यान्सर भएकी श्रीमतीलाई बचाउन राती ३ बजेदेखि भारी बोक्छन् दिलबहादुर

पाठेघर क्यान्सर भएकी श्रीमतीलाई बचाउन राती ३ बजेदेखि भारी बोक्छन् दिलबहादुर

रीता बुढाथोकी

काठमाडौँ । प्युठान जिल्ला गौमुखी गाँउपालिका वडा नं ३ बस्ने ३९ वर्षिया अम्मी सुनार पाठेघरको मुखको क्यान्सरका कारण थलिएको एक वर्ष भइसक्यो । तर उपचारका लागि आर्थिक अभाव भएको भन्दै उनले सहयोगको याचना गरेकी छिन् ।

‘गाउँमा सानो झुपडी र पाखो वारी मात्र छ, बिरामी भएयता त्यही जग्गा बेच्न खोजेको थिएँ, कसैले किन्न मान्दैनन,’ अम्मीका श्रीमान दिल बहादुर सुनारले दुख पोखे । श्रीमतीको उपचारका लागि काठमाडौँ आएको एक वर्ष हुन थाल्यो । एक वर्षसम्म अस्पतालमा निकै खर्च भयो ।

गाउँमा खेतिपाती गरेर जिविकोपार्जन गर्दै आएका दिलबहादुर यतिबेला श्रीमतीको उपचारका लागि राजधानीमा छन् । ‘उता ८२ वर्षिया बृद्ध आमाको स्याहार गर्ने कोही छैन, यता रोगी श्रीमती पनि सम्हाल्नु पर्यो ।’ आफुु निकै संकटबाट गुज्रिएको उनले बताए । ‘उता घर कसले सम्हाल्यो होला, केटा–केटीले के खाए होलान?’ उनले पीडा सुनाए ।

श्रीमतीको उपचारका लागि पैसा जुटाउन नसके पछि दिल बहादुरले कालीमाटी तरकारी बजारमा राती तीन वजेदेखि भारी बोकेर पैसाको जोहो गरिरहेका छन् । ‘भारी बाेकेको पैसाले कोठा भाडा तिर्न मात्र ठिक्क हुन्छ, उपचार के ले गर्ने ?’ दिल बहादुरले निधारको पसिना पुछ्दै आफ्नो बिवशता सुनाए । रोग पहिचान भए यता कम्तीमा ८ लाख रुपैँया रकम खर्च भएको उनले बताए । ‘अहिलेसम्म ऋणको भरमा उपचार भइरहेको छ, अब त रिण पनि कसैले दिँदैनन्, बाँकी रिन पनि कसरी तिर्ने ?’ उनले दुखेसो पोखे ।

दियोपोस्टको कार्यालयमा क्यान्सर पीडित परिवार ।

२०७५ जेठ महिनादेखि अत्यधिक रक्तश्राब भएपछि अम्मी जिल्ला अस्पताल खलंगा गएकी थिइन् । त्यहाँ उपचार गरेपछि २ महिनासम्म रगत बग्न रोकियो । तर साउनदेखि अत्यधिक सेतो पानी बग्ने र खकारमा रगत देखा परेपछि उनी उपचारको खोजी गर्दै भदौताका काठमाडौँ आइन् ।

उपचारका लागि पैसा थिएन । आफन्तसंग २० हजार रुपैयाँ सापटी मागेर उनी काठमाडौँ आएकी थिइन् । उनले काठमाडौस्थित अन्नपूर्ण न्यूरो अस्पतालका डाक्टरसंग आफ्नो समस्या बेलिबिस्तार लगाइन् । अन्नपूर्ण अस्पतालमा उनको सबै जाँच भयो । रिपोर्टमा खासै रोग देखिएन । तर पाठेघरमा केही संक्रमण मात्र देखिएको थियो । औषधीले काम गर्ने डाक्टरले बताएका थिए । करिव १५ दिनको अस्पताल बसाइपछि उनी निको हुने आशा बोकेर घर फर्किइन् ।

श्रीमतीको उपचार खर्च जुटाउन कालिमाटीमा भारी बोक्दै दिल बाहादुर

घर पुगेको केही दिनपछि उनको समस्या पुनः बल्झियो । तल्लो पेट दुख्ने, सेतो पानी बग्ने समस्या पूनः देखा पर्यो । औषधीले निको हुन्छ कि भन्ने आशा थियो, तर कुनै औषधीले पनि बीसको उन्नाइस भएन । त्यसपछि उनी फेरि काठमाडौँ आइन् । उनी आफ्नो समस्या लिएर मंसिरको अन्तिम सातातिर काठमाडौँको थापाथलीस्थित प्रसुती गृहमा पुगेकी थिइन् ।

अस्पतालले रगत जाँचका लागि टेकु अस्पताल पठायो । २ दिनपछि रगतको रिपोर्ट आयो । तर रिपाेर्टले सुनार दम्पतीकाे हाेस हवासै उढाइदियाे । अम्मीलाई क्यान्सर भएको रहेछ । उनीहरु निकै अत्तिए । उपचार गर्ने पैसा छैन । घरमा स–साना बाल बच्चा र ८२ वर्षीया बृद्ध आमाको हेरचाह गर्ने कोही छैन । राेगी शरिर, त्ययसमाथि आर्थिक अभाव । कैयौँ रात अनिदै बिते । खाना रुचेन । मृत्युको भयले उनलाई दिनरात पिरोलीरह्यो । अम्मी दिनानुदिन बिछिप्त बन्दै गएकी थिइन् ।


निकै हिम्मत जुटाएर दिल बहादुरले अम्मीकोे उपचारका लागि पुस १ गतेदेखि प्रसुती गृहमा भर्ना गरे । श्रीमतीलाई अस्पतालको बेडमा सुताएर आफु चाँही भारि बोक्न जान्थे । यता अस्पतालले उनलाई केमो थेरापी सुरु गर्यो । निरन्तरको केमो थेरापीले उनको शरिर निकै गलिसकेको थियो । ‘टाउकाको कपाल पुरै झरिसक्यो, जिउ गलेर उभिन सक्दिन’, अम्मीले बोल्ने आँट गरिन् । ‘गाउँबाट रिण खोजेर ल्याएको सबै पैसा उपचारमै सकियो, बाँकी उपचार कसरी गर्ने भन्ने पिरलाे भइरहन्छ ।’ अम्मीले पीडा ब्यक्त गरिन् । ‘बाँचे भने छाेरा छाेरीकाे खुसी हेर्न पाम्ला, लथालिँग भएकाे घर सम्हालुलाँ ।’ उनी भावुक बनिन् ।

अस्पताल धाउन सजिलो होस् भनेर दिलबहादुरले कालीमाटीमा सानो कोठा भाडामा लिए । उनीसंग कोठाको भाडा तिर्ने पैसा थिएन । ‘श्रीमतीको उपचार गर्न आएको मान्छे, त्यसै फर्किन पनि सकिन, स्वास रहुन्जेल आश रहने रहेछ, कसैले सहयोग गरिदिए जिन्दगीमा सबै भन्दा ठुलो गुन लाग्ने थियो ।’ दिल बहादुरले दुख सुनाए । उनले कालीमाटीमा भारी बोक्न थालेको पनि ६ महिना भन्दा बढी भइसक्यो । भारी बोकेको पैसाले जेनतेन निर्वाह भए पनि उपचारका लागि पैसा नभएको उनी बताउँछन् ।

डाक्टरले २ वर्षसम्म निरन्तर जाँच गराइरहनु पर्ने बताउँदै आएका छन् । ‘दुइ वर्षसम्म कसरी खर्च धान्ने हाेला?’ उनले सरकारसँग सहयाेगकाे अपिल गर्छन्, भन्छन्- ‘सरकारले निशुल्क उपचार गरदिए हामी जस्ता गरिवलाई राहत हुने थियो, तर हामी गरिवलाई कसैले हेर्दैनन् ।’ उनले थपे ।

उपचारका लागि राजधानी आए यता अम्मीले छोरा छोरी, बृद्ध सासु र आफुले सम्हालेको घर गृहस्थी निकै सम्झिइन् । ‘मलाई यती ठुलो रोग लाग्यो, श्रीमानलाई रिणको भारी बोकाएर र छोराछोरीलाई टुहुरा बनाएर मर्ने भएँ,’ उनले पीडा सुनाइन् । ‘छिटो निको भएर घर जान पाए बृद्ध सासु र छोरा छोरी सम्हाल्थेँ ।’ अम्मीले आफ्नो मनको कुरा पाेखिन् ।

यदी तापाई पनि अम्मी सुनारको उपचारका लागि सहयोग गर्न चाहनु हुन्छ भने नीजका श्रीमान दिल बहादुर सुनारको नाममा रहेको बैंक खातामा रकम जम्मा गर्न सक्नु हुनेछ । त्यसका लागि खाता नम्बर यसप्रकार रहेको छ ।
दिल बहादुर सुनार,
ग्लोवर आइ.एम.इ. बैंक, पानी पोखरी शाखा काठमाडौँ ।
खाता नं. ३३०७०१००४१४४१


Facebook Comments

Trending News