धादिङको थाक्रे १० का वडाध्यक्ष गोकुलको करामतः हेडमास्टरको पेन्सन र वडाध्यक्षको तलब दुवै खोल्तीमा !

धादिङको थाक्रे १० का वडाध्यक्ष गोकुलको करामतः हेडमास्टरको पेन्सन र वडाध्यक्षको तलब दुवै खोल्तीमा !

धादिङ, असार ९ । धादिङको थाँक्रे गाउँपालिका अन्तर्गत वडा नम्बर १० केवलपुरका वडाध्यक्ष गोकुल लामिछानेले दोहोरो सुविधा लिइरहेको पाइएको छ । उनले वडाध्यक्षको तलब भत्तासँगै शिक्षकको पेन्सन समेत कुम्ल्याउँदै आएको पाइएको हो ।

स्थानिय श्री केवलपुर हरिहर भोजकुमारी माध्यमिक विद्यालयका प्रधानाध्यापकबाट ३ बर्षअगाडि नै अवकाश पाएका लामिछानेले वडाध्यक्ष निर्वाचित भएदेखि हालसम्म दोहोरो सुविधा कुम्ल्याउँदै आएका छन् ।

तत्कालीन नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित लामिछानेले वडापालिकाअन्तर्गतका विकास निर्माणमा लाखौँ अनियमितता गरेको समेत स्रोतको दाबी छ । गाउँपालिकाका वडाध्यक्षहरुका लागि सरकारले १५ हजार तलब तोकेको छ ।

संविधानअनुसार सरकारको सार्वजिनक सेवामा आवद्ध भएपछि दोहोरो सुविधा लिनु गैरकानुनी कार्य हो । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरे र लोकसेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीले दोहोरो सुविधा लिएको विषय सार्वजनिक भएको थियो ।

तर, वडाध्यक्ष लामिछानेले दियोपोस्टसँगको कुराकानीमा आफूले दोहोरो सुविधा नलिएको दाबी गरे । वडाध्यक्ष हुनुभन्दा अगाडिसम्म पेनसन लिँदै आएको तर वडाध्यक्षमा निर्वाचित भइसकेपछि पेन्सन नलिएको उनको दाबी छ ।

थाँक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले समेत वडाध्यक्ष लामिछानेले दुईतर्फी सुविधा लिएको आफूलाई जानकारी नभएको बताए । ‘उहाँ पुर्व प्रधानाध्यापक हो, तर वडाध्यक्ष भइसकेपछि पेनसन लिनुभएको छैन र लिन पनि मिल्दैन’ उनले भने । आचार्यले दोहोरो सुविधा लिने काम गैरकानुनी भएको र यस बारेमा आफूले थप बुझ्ने बताए ।

Trending News