इक्यानका अध्यक्ष विष्णुहरि पाण्डे नै ‘नक्कली विवाह र मानवतस्करी धन्दामा !

दियो पोस्ट  

दियोपोस्ट संवाददाता
सिड्नी, १० असार । कन्सल्टेन्सी व्यावसायीको छाता संगठन भनिएको शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष नै नक्कली विवाह गरि मानव तस्करी धन्दामा लागेको पाइएको छ ।


राजधानीको नयाँ वानेश्वर चोकमा कार्यालय रहेको रोयल एजुकेशन फाउन्डेशनका मालिक रहेका इक्यानका अध्यक्ष विष्णु हरि पाण्डेले ३ महिनाअघि ३५ लाख रुपैयाँ लिएर नक्कली विवाह गरि एक युवालाई अष्ट्रेलिया पठाएको पाइएको हो ।


विष्णु हरिका भाई कृष्ण हरी पाण्डेसहितको मिलेमतोमा नक्कली विवाहको धन्दा नै हुने गरेको खुलाशा भएको छ ।


अष्ट्रेलियाको (युओडब्लु) ओलोङगोङ्ग विश्वविद्यालयमा एमबिएस अध्ययनका गरिरहेकी एक युवतीको नक्कली विवाह गरी पाण्डेले एक युवासँग लाखौँ रुपैयाँ असुली गरेको समेत खुलाशा भएको छ ।


पाण्डेले ती युवा लगायत दर्जनौँ युवालाई नक्कली विवाह गराउँदै प्रतिव्यक्ति ३५ लाखदेखि ४० लाखसम्म असुल्दै आएको समेत खुलाशा भएको छ ।


‘त्यो कन्सल्टेन्सी चलाउने मान्छे ठग रहेछ । मलाई यहाँ आउने दिन विहान भिषा क्यान्सिल गर्दिन्छु भनेर सेन्टिमेन्टल ब्ल्याकमेलिङ गर्यो । मेरो ३५ लाख डुबीसकेको थियो,’ पीडित युवाले भने,‘मैले विवाह गरेको मान्छेसँग कहिलेकाँही भेट हुन्छ ।’


ती युवाका अनुसार विष्णुहरीका भाई कृष्णहरीले उनी उड्ने दिन भिषा क्यान्सिल गरिदिने धम्की दिएका थिए ।

विष्णुहरी पाण्डे शक्तिशाली मान्छे हो रे हामीलाई समस्या त आउँदैन ?


रोयल एजुकेशन तथा विष्णुहरीलाई लाखौँ रुपैयाँ बुझाएका नक्कली विवाह गरी अष्ट्रेलिया पुगेका अर्का युवा पनि दियोपोस्टको सम्पर्कमा आए तर, उनी खुलेर बोल्न सकेनन् ।

‘म रोयल एजुकेशनबाट ठगिएको हुँ । म डिपेन्डेन्टमा आएको हुँ । घरमा मेरो परिवार छ । उहाँहरुलाई समस्या हुनसक्छ । मलाई पनि समस्या पारिदिन सक्छन्,’ पीडित युवाले भने,‘उनीहरु ठूला मान्छे हुन् रे । विष्णुहरी र कृष्णहरी दाजु भाइ हो रे । मैले केटीलाई ४० लाख दिएर आएको हुँ । केटीबाट उनीहरु दाजु भाईले कमिशन लिएका रहेछन् ।’

विष्णुहरी पूर्व नेकपा एमालेका कार्यकर्ता समेत हुन् ।

एआइबीटिकाण्डमा पनि पाण्डे नै मुछिएका थिए !

कन्सल्टेन्सी व्यावसायलाई मर्यादित रुपमा सञ्चालन गर्न आचार संहिता बनाउने जिम्मा शैक्षिक परामर्श संघ इक्यानकै हो । तर पाण्डे भने विद्यार्थी ठगी गर्ने एउटा अष्ट्रेलियन इन्सिटच्युटका दलाल नै हुन् । १२ सय जनाभन्दा बढी विद्यार्थी विचल्ली बनाउने अष्ट्रेलिया स्थित अष्ट्रेलियन इन्स्टिच्युट अफ बिजनेश एण्ड टेक्नोलोजी (एआइबीटी)का नेपाली एजेन्ट उनै पाण्डे हुन् ।

विद्यार्थी विचल्ली बनाएको विषय सार्वजनिक भएपछि पाण्डे ‘म मिलाउँछु’ अष्ट्रेलिया समेत आएका थिए । अष्ट्रेलियामा एआइबिटीका प्रतिनिधिसँग समेत उनले भेटेका थिए । भेटका क्रममा आफू शक्तिशाली भएको र आफूले चाहेमा मिलाउन सक्ने भन्दै एआइबिटीबाट समेत आर्थिक लाभ लिएको उच्च स्रोतको दाबी छ ।

यस विषयमा विष्णुहरीको मोबाइलमा सम्पर्क गर्दा उनको मोबाइल ‘स्वीच अफ’ थियो ।

नक्कली विवाहासँग जोडिएको अर्को पाटो

शैक्षिक परामर्श संघका अध्यक्ष मात्रै होइन अधिकांश कन्सल्टेन्सीको धन्दा नै नक्कली विवाह र मानवतस्करी बन्न पुगेको छ । अध्ययनका लागि अष्ट्रेलिया जाने युवासँग युवती र युवतीसँग युवाको जोडी मिलाएर मात्रै अष्ट्रेलिया पठाउने परम्परा नै बन्न थालेको छ ।

अस्ट्रेलियामा व्यवस्थित शिक्षा प्रणाली र रोजगारको राम्रो सम्भावना भएको कारण पनि नेपालीहरुको आकर्षक गन्तव्य बनेको छ– अष्ट्रेलिया । अस्ट्रेलिया जानका लागि कम लगानी लागोस भन्ने सोच राखेर अधिकांश विद्यार्थीहरुले डिपेन्डेन्ट भिसा रोज्ने गर्दछन् । अस्ट्रेलियन सरकारले पनि डिपेन्डेन्ट भिसामा केही सहुलियतहरु दिएको कारण यसप्रति आकर्षित भएका हुन् । तर डिपेन्डेन्टकै नाममा ठगिने नेपालीहरु पनि थुप्रै भेटिएका छन् ।

काठमाडौँको बाँसबारीमा रहेको एशियन इन्टरनेशनल कन्सलटेन्सीले डिपेन्डेन्टमा अस्ट्रेलिया पठाउने भन्दै गोकर्णेश्वर नगरपालिका–४ माकलबारीका अमित श्रेष्ठलाई ठगी गरेको तथ्य यसअघि नै सार्वजनिक भइसकेको छ ।

नक्कली विवाह गरी मानवतस्करीमा समलग्न कन्सल्टेन्सीका सञ्चालकलाई पूर्व राष्ट्रपति रामवरण यादव सम्मान गर्दै साथमा चर्चित पत्रकार ऋषी धमला

कन्सलटेन्सीले सुनसरीको बुर्जु गाउँपालिका– ६ घर भएकी रेजिना अधिकारी नाम गरेकी महिलालाई प्रयोग गरेर ठगी गरेको भेटिएको थियो । कन्सलटेन्सीका निर्देशक गणेश भनिने अरबिन स्याङ्वोले नै अमृतको भेट ती युवतीसंग गराएका थिए । उनले भेटमात्र गराएनन्, कसरी अस्ट्रेलिया पुग्ने भन्ने चिन्ताले भौँतारिरहेका अमितलाई डिपेन्डेन्टमा जाने व्यवस्था समेत मिलाइदिएका थिए । सबै डकुमेन्टेशनको काममा समेत स्याङबोले सहयोग गरेका थिए ।

प्रहरीले पक्राउ गरेपछि रेजिना अधिकारी

२४ बर्षिया रेजिनासंग अस्ट्रेलियाको पिआर भएको बताएपछि अमितले पनि खुशीखुशी डिपेन्डेन्टमा जानको लागि सहमती जनाए । सहमतीपछि नाटकीय ‘विहे’ भयो ।

राजदुतावासलाइ चाहिने फोटो तथा भिडियो बनाएपछि अमितले रेजिनालाई ४ लाख ५० हजार दिएका थिए । तर भोलिपल्टबाट नै रेजिनाको फोन लागेन ।

अस्ट्रेलियाको सपना देखिरहेका अमित आफू ठगिएको थाहा पाएपछि झस्किए र महानगरिय प्रहरी अपराध अनुसन्धान माहाशाखामा उजुरी दिन पुगे । उजुरीपछि रेजिना बानेश्वरबाट पक्राउ परिन् । प्रहरीको अनुसन्धानपछि रेजिनाले अन्य तीनजना युवकहरुलाई पनि अमितलाई जसरी नै ठगी गरेको खुल्यो ।


तर प्रहरीले नक्कली विवाह गर्ने धन्दाका मुख्य नाइके विश्वविक्रम रायमाझीलाई पक्राउ गरेन । उनी उक्त कन्सल्टेन्सीको म्यानेजिङ डाइरेक्टर थिए ।

पत्रपत्रिकाबाटै विज्ञापन गरेर यसरी हुन्छ ठगी !


सामाजिक सञ्जाल फेसबुक र पत्रपत्रिकामा दुलाहा चाहियो वा दुलही चाहियो भनेर विज्ञापन गरेको देख्नु भएकै होला । पत्रपत्रिका र सामाजिक सञ्जालमा आउने यस्ता विज्ञापनबाट नै नक्कली विवाह र मानवतस्करी धन्दा हुने गरेको छ ।


सामाजिक संजाल फेसबुकमा जर्नि टु अस्ट्रेलिया स्टडी भिसा नाम गरेको एउटा समुह छ जसमा लाखौँ प्रयोगकर्ताहरु सदस्य रहेका छन् । सो समुहमा डिपेन्डेन्टमा जाने महिला, पुरुष र पिआर होल्डरहरुको माग गरिन्छ । मागमा सर्तहरु पनि राखिन्छ ।

ठग व्यक्ति र कन्सल्टेन्सीहरुले सामाजिक संजालको प्रयोग गरि मानिसहरुलाई वेवकुफ बनाएको कहानीहरु पनि बजारमा भेटिन्छन् ।

अस्ट्रेलियाको नाम सुन्नेबित्तिकै सबै कुरा बिर्सने प्रवृत्तिले पनि मानिसहरु ठगिने गरेको महानगरिय प्रहरी अपराध महाशाखाले जनाएको छ । डिपेन्डेन्ट भिसाका लागि बर र वधु खोज्नका लागि दैनिक पत्रिका समेत प्रयोग गरेको पाइन्छ । देशको मुख्य पत्रपत्रिकामा नै बर बधु मागेर मानव तस्करी धन्दा चलिरहे पनि सरोकारवाला निकाय मौन छ ।

TATA ADD