रातो कार्पेटमा सलामी खाने ‘भाइरल’ जनप्रतिनिधी को हुन् ?

दियोपोस्ट संवाददाता

काठमाडौँ, असार १३ । भुईमा हरियो रङको कार्पेट ओछ्याइएको छ । त्यसमाथि रातो रङको अर्को सानो टुक्रा कार्पेट पनि ओछ्याइएको छ । कार्पेटमाथि नीलो कुर्ता, खरानी रङको सलवार, कालो जुत्ता लगाएकी महिला उभिएकी छिन् । घाँटीभरि माला र खादा ओडेकी उनले शीर ठाडो बनाएर सलामी खाएकी छिन् । यी सलामी खाने महिला सुर्खेत जिल्लास्थित चौकुने गाउँपालिकाका उपाध्यक्ष निर्मला मगर हुन् ।

गत जेठ ११ देखी १३ गते सम्म संचालन भएको राष्ट्रपति रनिङ शिल्डमा उपाध्यक्ष मगरले सलामी ग्रहण गरेकी छिन् । कार्यक्रममा उनि प्रमुख अतिथि थिइन् । ‘आयोजकले त्यस्तै कार्यक्रम राख्नुभएको रहेछ त्यसकारण नाई भन्न सकिन’ उपाध्यक्ष मगरले दियोपोस्टसंगको कुराकानीमा भनिन्, ‘ सलामी लिनुलाई गलत रुपमा नलिदिनुहोला’

चौकुने गाउँपालिका–४ जगन्नाथ माध्यमिक विद्यालयमा ३ दिनसम्म चलेको राष्ट्रपति रनिङ शिल्डमा खेलाडी तथा विद्यार्थीहरुले उपाध्यक्ष मगरलाई सलामी दिएका थिए । उपाध्यक्ष मगरले भने सम्मानपुर्वक सलामी दिएको र यसलाई गलत रुपमा नलिन आग्रह गरिन् ।

जनप्रतिनिधीहरुको सलामी प्रकरण यतिबेला उच्च चर्चाको विषय बनिरहेको छ । नेपालको प्राय सबै स्थानिय तहमा सम्पन्न भएको राष्ट्रपति रनिङ शिल्डमा जनप्रतिनिधिलाई प्रमुख अतिथि बनाइने र सलामी खुवाउने प्रचलनले जनप्रतिनिधिहरु विवादीत बनेका छन् ।

रातो कार्पेट अथवा कपडामा राखेर सलामी दिइने गरिएको भएपनि पछिल्लो समय सलामी दिइने स्थान पिर्का हुँदै मेचसम्म पुगेपछि भने सामाजिक संजाल यस्तै तस्वीरहरुले रंगिएको छ । सलामीको स्थान अग्लो हुँदै गएपछि सलामी लिने व्यक्तिहरुको निकै आलोचना समेत भएको छ ।

सम्बन्धित खबर