BREAKING : ९ करोड ठगी आरोपमा काठमाडु ओभरसिजका अध्यक्ष जीवन भण्डारी पक्राउ !

दियो पोस्ट  

काठमाडौँ, असार १५ । काठमाडौँ ओभरसिज प्रालिका कार्यकारी प्रमुख जीवन भण्डारी पक्राउ परेका छन् । उनलाई काठमाडौँको बालुवाटार स्थित कार्यालयबाटै प्रहरीले पक्राउ गरेको हो ।

भण्डारीले करिब तीन सय जना युवाहरुलाई सिंगापुरको स्टार क्रुजमा काम लगाइदिन्छु भन्दै पैसा असुलेको पीडितको आरोप छ । पैसा लिएको ३ बर्ष बितिसक्दा पनि कामको टुंगो नलागेपछि पीडित युवाहरु आइतबार बालुवाटारस्थित म्यानपावर कार्यालय घेर्न पुगेका थिए ।

पीडित युवाहरुका अनुसार म्यानपावर कम्पनीले न्युनतम जनही साढे २ लाख असुलेको बताएका छन् । केही युवाहरुबाट ३ लाख देखि ४ लाख सम्म असुलेको पीडित विकास राईले बताएका छन् । सिंगापुरको क्रुजमा लैजान्छु भनेर उनीबाट पनि म्यानपावरले २ लाख ७५ हजार रुपैयाँ ठगि गरेको बताए ।

आफु ठगिएको महशुस भएपछि पिडितहरु आफुले तिरेको पैसा फिर्ता लिन म्यानपावर पुगेको तर म्यानपावरका हाकिमहरुले भनिए अनुसारकै काममा पठाउँछु भन्दै झुलाउने गरेको अर्का पिडित बिनोद तामाङले बताए । सिन्धुपाल्चोक घर भएका तामाङले क्रुजमै लैजान्छु भन्दै वि.स २०७३ सालमा म्यानपावर कम्पनीले ६ लाख लिएको बताएका छन् ।


३ सय भन्दा बढी युवाहरुबाट जनही ३ लाख असुलेर न्युनतम ९ करोड ठगि गरेको सिन्धुपाल्चोकका नवराज घलेले बताएका छन् । विभिन्न वहानाबाजी गर्दै झुलाउन थालेपछि आफुहरु कार्यलयमै सामुहिक ढंगले उपस्थित भएको उनले बताए ।

काठमाडौँ ओभरसिजले प्रत्येक युवाहरुबाट न्युनतम तीन लाख असुलेपनि बिल भने व्यक्ति हेरेर १ लाख देखि डेढ लाख सम्म बनाउने गरेको पिडितहरुले बताए ।


आइतबार सय जनाभन्दी बढी युवाहरु म्यानपावर घेर्न पुगेपछि सुरक्षाको लागि प्रहरी बोलाइएको थियो । प्रहरीले आफुहरुलाइ न्याय दिनुको सट्टा उल्टो दलाललाई संरक्षण गरेको भन्दै उपस्थित युवाहरु उत्तेजित भएका थिए ।

कार्यलयबाट बाहिर ननिस्केका भण्डारी महानगरिय प्रहरी महाराजगंजबाट इन्सपेक्टर सहितको टोली आएपछि भने प्रहरी कार्यलय जान सहमत भएका हुन् । प्रहरी आएपछि नीजि कारमै प्रहरी कार्यालय जान खोजेका भण्डारीलाई पीडित युवाले हिँडाएरै कालिका टावरसम्म लगेका छन् । त्यहाँबाट प्रहरीको भ्यानमार्फत महाराजगंज प्रहरी कार्यलय लगिएको हो ।

म्यानपावरका प्रवन्ध निर्देशक प्रवीन पौडेललाई यसअघि नै पक्राउ गरिसकेको छ । म्यानपावर संचालकहरुले भने एजेन्टलाई पैसा दिएको र पैसा पाएपछि एजेन्ट सम्पर्कमा नआएको भन्दै आफ्नो बचाउ गरेका छन् ।


प्रहरी प्रवक्ता भन्छन्,‘मलाई थाहा छैन होइन होला’


महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले भने भण्डारी पक्राउ गरेको इन्कार गरे । ‘खोइ पक्राउ परेको होइन होला । मलाई जानकारी छैन,’ दियोपोस्टको जिज्ञासामा उनले भने,‘पक्राउ परेको छैन होला ।’


यता महानगरीय प्रहरी बृत महाराजगन्जका डिएसपी फणिन्द्र प्रसाइँले पनि काठमाडौं परिसर टेकुले मुद्दा हेरिरहेको बताए । ‘मुद्दा टेकुमा दर्ता छ । सामान्य सोधपुछ हो । पक्राउ गरिएको होइन,’ उनले भने । यद्धपी प्रहरीले भने पीडितको अगाडीबाट भ्यानमा हालेर लगेको तस्विर दियोपोस्टलाई प्राप्त भएको छ ।