बन्दाबन्दीबीच ‘चार्टर फ्लाइट’को नाममा ‘कालोबजारी’ : ‘टिकट दलालको सेटिङ पर्यटनमन्त्रीसम्म !

दियो पोस्ट  

काठमाडौं, २६ जेठ । कोरोना भाइरस कोभिड १९ को संभावित महामारी रोक्न सरकारले गत चैत्र ९ गतेदेखि बाह्य उडान बन्द गर्यो । सामान्य नागरिकलाई घरबाहिर निष्किए लाठी चलाउँदै आएको सरकारले केही पहुँचवाला व्यक्तिलाई भने ठगी गर्न लाइसेन्स दिएको पाइएको छ ।


राजधानीमा सञ्चालित केही ट्राभल कम्पनिहरुले लकडाउनको अवधिमै चार्टर फ्लाइटको नाममा ठगीधन्दा चलाएको खुलेपछि हाल चार्टर फ्लाइट रोक लगाएको छ । तर, ठगीमा समलग्नहरुलाई भने कारबाही गर्नुको सट्टा सरकारले उन्मुक्ति दिएको छ ।


राजधानीमा रहेका प्रेसिडेन्ट, मेगावाइट, डिलिजेन्ट, सिलिंक, सुमेघ र सिरिन ट्राभल्स लगायतले चार्टर फ्लाइटको नाममा ठगी गरेको खुलेको थियो ।


प्रेसिडेन्ट, मेगावाइट, डिलिजेन्ट सिलिंकले टर्किस एयरलाइन्स अमेरिकाको चार्टर फ्लाइटको नाममा ठगी गर्दै आएका थिए । यता सुमेघ र सिरिन लगायत ५ ट्राभन्सले भने नेपालको राष्ट्रिय ध्वाजाबाहक नेपाल बायु सेवा निगमको जहाजको जापान चार्टर फ्लाइटको नाममा ठगी धन्दा चलाउँदै आएका थिए ।


स्रोतका अनुसार सुमेघ ट्राभल्सका मालिक मेघ केसीले पर्यटन मन्त्री योगेश भट्टराइसँग सेटिङका आधारमा जापानको चार्टर फ्लाइटको नाममा ठगीधन्दा चलाउँदै आएका थिए ।


सामान्य अवस्थामा नेपालबाट जापान एकतर्फी उडानको भाडा ६० हजार रुपैयाँदेखि ८० हजार रुपैयाँसम्म पर्न आउँछ । तर, केसी समलग्न रहेको सुमेघ ट्राभल्सले एक लाख ६० हजार रुपैयाँसम्म असुलेको पाइएको छ ।


सामाजिक सञ्जाल फेसबुकमा इकोनोमि क्लासको टिकटमा अमेरिकी डलर १ हजार रुपैयाँमा जापानको नारिता पुर्याउँने भन्दै विज्ञापन गरिएको छ । तर, टिकट काट्ने नागरिकसँग भने १६ सय डलर सम्म असुल्ने गरेको पाइएको हो ।

त्यस्तै सुमेघ ट्राभल्स र सिरिन ट्राभल्सको मिलेमतोमा टिकटै नभएको नाटक गरी चर्को रकम असुल्ने गरेको समेत एक व्यक्तिले दियोपोष्टलाई बताए ।


‘मैले ७ जुनमा जापानका लागि मेरो दाजुको टिकट काटेँ । सिरिन ट्राभल्सले शुरुमा फ्लाइट फूल भयो भनेका थिए । पछि १ लाख ६० हजार तिरेपछि टिकट पाएँ,’ ती व्यक्तिले दियोपोष्टसँग भनिन्,‘लकडाउनको समयमा लुट चलिरहेको छ ।’


सुमेघ ट्राभल्सका मालिक मेघ केसीले नेपालबाट जापानको नरितासम्म एकतर्फी उडानको १२ सय डलरदेखि १५ सय सम्म लाग्ने उल्लेख गरेका छन् । तर, सिरिन ट्राभल्सले आफ्नो सामाजिक सञ्जालको पेजमा सोही रुटको एक तर्फी उडानको रेट १ हजार डलर उल्लेख गरेको छ ।

सामाजिक सञ्जालमा सिरिन ट्राभल्सको सोही विज्ञापनलाई पछ्याउँदै टिकट खोज्दै सिरिन ट्राभल्स पुगेका अर्का एक व्यक्तिलाई शुरुमा सिट फूल भइसकेको भनिएको थियो । तर, गृहमन्त्रालयका सहसचिव मार्फत फेरी कोशिस गर्दा सुमेघ ट्राभल्सका मेघ केसीको सम्पर्क नम्बर पाए । सुमेघ ट्राभल्सले ती व्यक्तिबाट १६ सय डलर असुल्यो । लकडाउनका कारण ७६ हजार नेपाली रुपैयाँको टिकट रद्द गरेर बसेका ती व्यक्तिले १ लाख ६० हजार बुझाउनु पर्यो ।


त्यसो त सुमेघ र सिरिन ट्राभल्सले उच्च गृहमन्त्रालयको अनुमति विपरित चार्टर फ्लाइटको नाममा टिकट काट्दै पैसा असुलेको पाइएको छ ।


ट्राभल एजेन्सीले यात्रु संख्या यकिन गरेर पर्यटन मन्त्रालयसँग अनुमति लिनुपर्छ । पर्यटन मन्त्रालयले स्वीकृति दिएपछि मात्रै कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई पत्राचार गर्दछ । पत्रमा सम्बन्धित देश जाने यात्रुको नामावली र पासपोर्ट नम्बर उल्लेख गर्नुपर्छ । त्यसपछि नेपाल एयरलाइन्सलाई चार्टर फ्लाइटबारे जानकारी दिनुपर्छ ।

पर्यटनको पत्र प्राप्त भएपछि उच्चस्तरिय समन्वय समितिले परराष्ट्र मन्त्रालयलाई निवेदन पठाउने गर्छ । पर्यटन मन्त्रालयले सम्बन्धित देशको दूतावाससँग समन्वय गरेपछि दूतावासले उडान अनुमतिको लागि स्वीकृति दिने जानकारी गराएपछि परराष्ट्रले सो फाइल फेरि उच्चस्तरीय समन्वय समितिलाई पठाउँदो रहेछ । परराष्ट्र मन्त्रालयलबाट फिर्ता भएको फाइल उच्च स्तरिय समन्वय समितिले गृहमन्त्रालय पठाउनुपर्छ ।


गृहमन्त्रालयले निवेदनमा संलग्न भएका व्यक्तिहरुलाई सवारी पासको व्यवस्था मिलाउन सबै जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिने गर्दछ । तर, यी प्रक्रिया नै नपुर्याई सुमेघ र सिरिन ट्राभल्सले कयौँ व्यक्तिसँग जपान उडानका लागि भन्दै मनमौजी रुपमा रकम असुली गर्दै आएको हो । सिरिन ट्राभल्सका मालिक विष्णु बस्नेत आफैँ सेवाग्राहीसँग डिलमा समलग्न छन् ।


त्यस्तै अमेरिका चार्टर फ्लाइटको नाममा पनि उस्तै ठगी हुने गरेको छ ।


सामान्यतया लकडाउन नहुँदा काठमाडौंबाट संयुक्त राज्य अमेरिकासम्मको हवाई यात्राको एकतर्फी भाडा दर ६५ हजारदेखि १ लाख रुपैयाँसम्म पर्ने गर्छ । तर केही दिनअघि दरबारमर्ग स्थित प्रेसिडेन्ट ट्राभल्सले कतार एयरवेजका लागि अमेरिकाको सिकागोसम्मको चार्टर प्रतियात्रु २ हजार ५ सय २० डलर सम्म असुल्यो । जसको नेपाली रुपैयाँ हिसाब गर्दा ३ लाख ४ हजार २ सय ७६ रुपैयाँ हुन आउँछ ।

त्यस्तै सोही रुटमा टर्किस एयरलाइन्सले पनि चार्टर उडान गरेको थियो । टर्किस एयरका लागि नेपाली तीन वटा ट्राभल्स एजेन्सीहरु मेगावाइट, सीलिंक र डेलिजेन्टले प्रतिसिछ २२ सय ५० डलर अर्थात २ लाख ७२ हजार देखि २५ सय डलर अर्थात ३ लाख २३ हजार रुपैयाँ सम्म विक्री गरेका थिए ।

ठगीधन्दा मौलाएको खबर आएसँगै नागरिक उडयन प्राधिकरणले हाल कुटनीतिक बाहेकका सबै चार्टर उडान रद्द गरेको छ । रद्द हुँदा रकम बुझाइसकेका यात्रु भने समस्यामा परेका छन् । केही ट्राभल कम्पनिले उनीहरुको रकम समेत फिर्ता गरेका छैनन् ।


लकडाउनको ८० दिनको अवधिमा १ सय ५ वटा चार्टर फ्लाइट भएका छन् । ती मध्ये ५० वटा विदेशी तथा पिआर बाहक नागरिकलाई ओसार्न प्रयोग भएको थियो ।


कतार एयरवेजका लागि ३ लाख रुपैयाँमा अमेरिकाको टिकट बिक्री गर्ने दरबारमार्गस्थित प्रेसिडेन्ड ट्राभलका अध्यक्ष हुन् भोला विक्रम थापा । चार्टर उडानका नाममा ठगीधन्दा चलाउँदै आएका थापालाई सरकारले कारबाही गर्न सकेको छैन ।

उपभोक्ता अधिकारका लागि वकालत गर्दै आएका एक अधिवक्ताका अनुसार यसरी महामारीकाबीच महँगोमा टिकट बेचविखन गर्ने गिरोहलाई सरकारले कालोबजारीमा पक्राउ गरेर कारबाही गर्नसक्छ । तर, सरकारकै उच्च तहका व्यक्तिसँग सेटिङ रहेका कारण उनीहरुलाई पक्राउ नगरिएको ति अधिवक्ताको दाबी छ ।