
दियोपोष्ट संवाददाता,
धादिङ, २९ जेठ । धादिङको ज्वालामुखि गाउँपालिकाले भारतबाट फर्किएका व्यक्तिलाई र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) परिक्षणको आधारमा घर पठाउने गरेको पाइएको छ ।
आरडिटी परिक्षणको विश्वसनियतामाथि प्रश्न उठिरहेको र आरडिटि परिक्षणमा कोरोना भाइरस कोभिड १९ नेगेटिभ देखिएपनि मृत्यु पश्चात भने पिसिआर परिक्षणमा पोजिटिभ आएका घटना सार्वजनिक भइरहँदा समेत गाउँपालिकाले भने जनताको स्वास्थ्यमा खेलवाड गरेको छ ।
ज्वालामुखि गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा भारत सहित विभिन्न देशबाट आएका व्यक्तिहरुलाई पिसिआर परिक्षण विनै क्वरेन्टाइनबाट घरसम्म पठाइएको पाइएको हो ।
पिसिआर परिक्षणका क्रममा निलकण्ठ नगरपािलकाले सञ्चालन गरेको क्वारेन्टानमा १६ जना व्यक्तिलाई कारोना भाइरस कोभिड १९ को संक्रमण देखिएको थियो । ती सबै नागरिक भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । त्यस्तै त्रिपुरासुन्दरी गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा बसेका ७ जना नागरिकलाई पनि कोरोना संक्रमण पुष्टि भएको आजै मात्र जानकारी आएको छ ।
तर, ज्वालामुखि गाउँपालिकाले भने स्थानिय जनताको स्वास्थ्यमा गम्भिर खेलवाड गरेको छ ।
गाउँपालिकाले नै सार्वजनिक गरेको तथ्यांक अनुसार विभिन्न मितिमा ३७ जना भन्दा बढी व्यक्तिहरु आरडिटि परिक्षणको आधारमा क्वारेन्टाइनबाट घर फर्किएका छन् ।
‘गाउँपालिकाले नै महामारी ल्याउने भयो । आरडिटि परिक्षण विश्वसनिय हुँदैन रे । त्यस्तो परिक्षणको आधारमा भारतबाट आएका मानिसहरु गाउँगाउँमा छन्,’ गाउँपालिकाको कार्यालय नजिकै एक स्थानिय भन्दै थिए,‘पिसिआर परिक्षण गर्नुपर्ने होइन र ? किन आरडिटि परिक्षणकै आधारमा भारतबाट आएका मानिसहरुलाई भकाभक घर पठाइँदैछ ।’
गाउपालिकाको तथ्यांक अनुसार आज २९ गते मात्रै १५ जना नागरिकहरुलाई आरडिटि परिक्षणको आधारमा घर पठाइएको छ । जसमा ज्वालामुखि २ मैदीस्थित संस्कृत तथा साधारण मावि रहेका ४० मध्ये ५ जनालाई घर पठाइएको छ । त्यस्तै रत्नज्योति आधारभूत विद्यालयबाट ६ जना, सुनखानी माविबाट ३ जना, वैष्णवीदेवि माविबाट १ जना गरी १५ जनालाई आरडिटि परिक्षणको आधारमा घर पठाइएको छ ।


