– कृष्ण सेवा
हामी २१ औँ शताब्दीका सभ्य र सुसंस्कृत मान्छे भनेर आफूलाई दाबी गर्छौं । तर, नेपाल सहित दक्षिण एशियाका केही देश भने अझैपनि १६ औँ शताब्दीमै छ भन्दा फरक नपर्ला ।
किनकी, नेपालमा विश्वमै कहीँ कतै नभएको जातीय छूवाछुत र बिभेद अहिले पनि बिद्यमान छ । यद्यपी, कानुन र संविधानले जातीय विभेदलाई दण्डनीय अपराध भनि सजाँयको ब्यवस्था समेत गरिसकेको छ । तर, ब्यावहारिक पक्ष फितलो हुँदा अहिले पनि सानो जात र ठुलो जातको कसी लगाउँछ समाज । त्यसो नहुँदो हो त, रुकुम पश्चिम चौरजहारीमा यती ठूलो मानव नरसंहार हुने नै थिएन ।
यतिबेला, आम दलित समुदायको मन र मस्तिष्कमा छटपटाहटको तुफानी बेग चलिरहेको छ । सरकारले जातीय बिभेद अन्त्यको घोषणा गरेकोे १४ वर्ष बितिसक्दा पनि दलितहरुले मान्छे भएर जिउन पाएका छैनन् । कोही चुलो छोएको निहँुमा मारिन्छन्, कोही धारा छोएको निहुँमा मारिन्छन् त कोही अन्तर्जातीय बिवाहको बहानामा मारिन्छन् । लाग्छ, गैरदलित भनिनेहरुलाई दलित मार्ने बहाना चाहिएको छ । यो या त्यो बहानामा दलितहरुले मृत्यु वरण गरिरहेका छन् ।
संसारकै उत्कृष्ट भनिएको २०७२ सालको संविधान जारी भएयता २ दर्जन भन्दा बढी दलित समुदायका ब्यक्तिहरुले दलित भएकै कारण मृत्युवरण गर्नु परेको तितो यथार्थ हामीसँग छ । यसको लेखा जोखा राज्यसंग छैन । अझ दुखको कुरा त के छ भने, राज्यले पीडकलाई कारवाही गर्नुको साटो पीडितलाई १० लाख रुपैँया रकम दिएर घटनालाई साम्य पार्न खोजेको देखिन्छ । के दलितहरुको रगतको मुल्य १० लाख मात्रै हो ? प्रश्न पेचिलो बनेको छ ।
यो पृथ्वी सबैको साझा घर हो । तर, यही पृथ्वीका एकाथरि मान्छे भने अछुतको जिन्दगी जिइरहेका छन् । यो कसरी हुन सक्छ ? अहिलेको मुख्य प्रश्न पनि यही हो । श्रम र सीपका खानी दलितहरुको श्रम चल्छ । कलाका पारखी उनीहरुको कलाले समाज सिंगारिएको छ । तर, उनीहरु आफै अछुतको जिन्दगी जिइरहेका छन् ।
जातीय विभेदमा जकडिएको समाज अत्यन्तै निर्दयी, क्रुर अनि निष्ठुरी समाजका रुपमा विकसित हुँदैछ । प्रेमको बदला प्रेम हुनु पर्नेमा प्रेमको वदला हत्याको मानसिकता बोक्छ समाज । निर्दोषहरुको ज्यान लिएर उनीहरुको बाँच्न पाउने अधिकार लिलाम गर्छ समाज । परिवारको परिवारको सपनामा डढेलो लागाउँछ ।
आफन्तकोे खुसी तुहाइदिन्छ यही समाज । यस्तो समाजलाई के समाज भन्नु? यो त समाजको नाममा बधशला हो ।
मान्छे समाजिक प्राणी हो भनेर पढाउने पाठशालाहरु रुकुमको घटना पछि के पढाउँछन् होला ? यतिबेला आम दलित समुदायले प्रश्न गरिरहेका छन् । दलित समुदायमाथि तिरस्कार, दुब्र्यवहार, तुच्छ बचन, हप्की दप्की, हेला होचो त कति हो कति ? त्यसको कुनै लेखाजोखा छैन । दलित समुदाय नारकीय र अत्यन्तै पशुवत जीवन जीउन विवश छन् ।
बिगत चार सय वर्षदेखि अहिलेससम्म पनि उनीहरुको चोला फेरिएको छैन । मानव बिकासका लागि आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक र शैक्षिक पक्ष महत्वपूर्ण हुन्छ । तर, दलित समुदायलाई विगत लामो समयदेखि अपहेलित, पशुवत व्यवहार गर्दै वञ्चितिकरणमा पारियो । ताकी, दलितहरुले कुनैपनि क्षेत्रमा आफ्नो बिकास गर्न नसकुन् । दलितहरुलाई आफ्नो वफादार दासको रुपमा प्रयोग गर्न पाइयोस् भन्ने मानसिकताले कथित उच्च जाती भनिनेहरु लाई गिजोलेको छ । यसै मानसिकताका आधारमा उनीहरुले आफ्नो हितानुकुल नियम कानुनको विकास गरेको पाइन्छ ।
इतिहाँस साक्षी छ । मनुस्मिृतिमा शुद्रहरुले शिक्षा लिने प्रयास गरेमा कानमा सिसा पगालेर हालिदिनु, शुद्रको जन्म पैताला बाट भएको हो, शुद्रले ब्राह्मण, क्षेत्री, बैस्यको सेवा गर्नु जस्ता अत्यन्तै मनगढन्ते कुराहरु लेखिएको छ । मनुस्मिृतिमा आधारित “१९१० को मुलुकी ऐन” र मल्लकालिन प्रथा परम्परा तथा नीति नियमलाई लिन सकिन्छ ।
नेपाली राज्यसत्ता पनि मनुस्मृति र ऐनकानुन मा आधारित छ भन्दा फरक नपार्ला । जसको प्रभाव बिगत देखि हालसम्म पनि अविरल रुपमा देखा परिरहेको छ । हामिले के बुझ्न जरुरी छ भने, दलित समुदायका लागि चेतनाको बिकास हुने मुहान नै बन्द गरियो । कल्पना गराँ,ै कुनै पनि पोखरीको सबै पनी हटाइदिने हो भने माछाको के हालत हुन्छ होला ? हो, तेस्तै कस्टकर जीवन बिगत लामो समय देखि बिताइरहेको छ यो समुदाय ।
एक त दलित समुदायले चेतना बिकासका लागि कुनै अबसर नै पायन भने राज्यको भोग गर्ने कथित उच्च जातिहरुले पनि अबसर प्रदान गर्नु पर्ने ठाउँमा उल्टो दलितहरु माथी दमन, शोषण, उत्पीडन, अन्न्याय, अत्याचार, बिभेद, समाजिक असमानता जस्ता अमानबिय अपराध थोपर्ने काम गरे ।यसले एक उच्च जाती माथी पर्यो र अगाडी बड्दै गयो भने दलित समुदाय कंगाल हुँदै झन पिधमा बस्नु पर्ने बाध्यात्मक परिस्थिति शृजना हुन पुग्यो र बाच्नका लागि पनि कथीत उच्च जातिहरु संग परनिर्भर हुनु पर्यो यहि कारण यो समुदायलाइ अकल्पनिय ठुलो क्षति पुग्न गयो । उदाहरणका लागि, जापानको नागासाकिलाई लिन सकिन्छ ।
त्यहाँ जसरी रसायनिक बमको कारण हाल सम्म पनि असर परिरहेको छ, तसैगरी यो सामाजिक संरचना ले पनि दलित समुदायलाइ शृङ्खलाबद्द रुपमा असर पारेको छ ।
दलित समुदायका लागि उच्च जातिय ब्राह्मणबादी जातो यसरी उनीहरुको टाउकोमा झुन्डिएको छकी उनिहरुको भबिस्यनै बिना संकोच लाज नमानी पिसिरहेको छ । दलित हरुको ब्याक्तित्व बिकासको अबरोधकको रुपमा एक निर्दयी मृत्यु बनेर उभिरहेको छ ।
मानौ कि, उच्च जातिहरुले चाहेमा मार्न सक्ने र चाहेमा प्राण बचाइदिन सक्ने ताकी दलित हरुको जिबनको ठेकेदार नै आफुहरुलाइ ठान्दै आइरहेका छन । उदाहरणका लगि जयबिर टमटा (कालिकोट,२०६८), सेते दमाई (दैलेख,०६८), मानबिर सुनार (कालिकोट,२०७८), शिव संकर (सप्तरी,२०६८), राम बहादुर सार्की (बर्दिया,२०६९), संगीता परियार (तनँहु,२०७०), झुमा बिक (ताप्लेजुङ,२०७०), राजेश नेपाली (पर्बत,२०७१), अस्मिता सार्की (झापा,२०७३), लक्ष्मी परियार (काभ्रे,२०७३), अजित मिजार (काभ्रे,धादिङ, २०७३), मना सार्की (कालिकोट, २०७५), माया बिक (कैलाली,२०७५), श्रेया सुनार (कास्की,२०७५) रेश्मा रसाइली (धनुषा,२०७५), रुपमती कुमारी दास (मोरङ (२०७५) लगायत छन् ।
यही जेठ (२०७७) मा मात्रै रुपन्देहीकी अंगिरा पासीको हत्या भयो । जेठ १० गते रुकुममा नबराज बिक, टिकाराम सुनार, सन्दिप बिक, लोकेन्द्र सुनार, गणेश बुढा र गोबिन्द शाहीको सामुहिक क्रुर नरसंहारले त संसारको ध्यान खिचेको छ । रुकुम घटनाले २१औ सताब्दिको मानव अधिकारको धज्जी मात्र उडाएको छैन, मानबताको गला समेत रेटेको छ । परिवारको खुसि, पीडा र चित्कारमा बदलिदिएको छ । यतीबेला दलितहरुलाई आफु दलित भएर जन्मेकोेमा हिनताबेध हुनु पनि स्वभाविकै हो ।
दुःख लाग्दो कुरा त के छ भने, दलित समुदायको इतिहास र योगदानलाई यो राज्यसत्ताले कहिल्यै बुझ्न सकेन । उनीहरुको आत्मसम्मानलाई ब्राह्मणबादी सामाजिक जातोमा पिसेर ओझेलमा मिल्काइएको छ । चाहे त्यो नेपाल एकीकरणमा बिसे नगर्ची होस या बाङ्गे सार्कीले खेलेका भुमिका नै किन नहोस । विभिन्न समय र कालखण्डमा भएका राजनैतिक परिबर्तनका बेला शान्तिपूर्ण या ससस्त्र संघर्षमा दलितहरुले आफ्नो बलिानीको कोटा चुक्ता गरेकै छन् । दस बर्से जनयुद्धमा दलितहरुले आमूल परिवर्तनको अपेक्षा सहित समाजमा रहेको सामाजिक विभेद को अन्त्यको सपना देखेका थिए ।
वर्षौदेखि गुमाउदै आएको मानब अधिकारको प्राप्ती गर्ने लक्ष्य राखेकाा थिए । समान सामाजिक हैसियतको परिकल्पना गरेका थिए । दलित पनि मानब हुने अबसर प्राप्त हुन्छ भन्ने सपना बोकि सिङ्गो दलित समुदायले क्रान्तिमा ठुलो लगानी गरेको इतिहाँस ताजै छ । १७ सय जना भन्दा बढी दलित समुदायले सहादत प्राप्त गरको त्यो इतिहााँस नामेट पार्ने काम राज्य सत्तबाटै हुनु बिम्वना हो ।
हजारौँको संख्यामा रहेका घाइते, अपांग, बिधुवा, एकल, र घरबार बिहिन दलितलाई सामान्य राहत समेत राज्यले दिन सकेको छैन । परिवर्तनकारी आन्दोलनको लागि ठुलो कोटा चुक्ता गर्ने दलित समुदायलाई ओझेलमा पार्न खोज्नु राज्यको कमजोरी हो । कुल जनसंख्याको करिब १३ प्रतिशत हिस्सा ओगट्ने दलित समुदायलाई राज्य नै सबैभन्दा ठुलो दुश्मन बन्न पुगेको प्रतित हुन्छ यतिबेला ।
पुरातनवादी राज्यसत्ताका कारण दलित समुदायमा अपेक्षाकृत परिवर्तन आउन सकेन र सत्ताले पनि समस्या हल गर्न रुचि देखाएन ।
बरु उल्टो ब्राह्मणबादी सामाजिक जातोलाइ दह्रोसंग पकड्दै दलित समुदाय माथि दमन गरेको देखिन्छ । गोठ छोएको निउमा कुटिने र जरिवाना तिर्नु पर्ने, उत्पादीत दुग्ध तथा कृषिजन्य उत्पादन बिक्रीवितरणमा बन्देज लगाइनु, मन्दिर प्रवेशमा निषेध गरिनु, प्रेम गरे बापत हत्या गरिनु, न्याय माग्न सडकमै ओर्लिनु पर्ने, डुम जस्ता अपशब्दले तिरस्कृत हुनु पर्ने, श्रम गरे बापत उचित ज्याला नपाउने, बोक्सिका नाममा अपहेलना जस्ता अमानवीय सामाजिक अपराध लगायत अन्य थुप्रै अपराधमा राज्यले नै पक्षपोषण गरिरहेको छ ।
यति मात्र होइन, ब्यक्ती द्वारा गरिएको अपराधलाई पनि राज्यले आफ्नो कमि–कमजोरीका रुपमा माात्रै लिएको पाइन्छ । उदाहरणको रुपमा ब्याक्तीले बिभिन्न बहानामा हत्या गर्छ । तर राज्यले गल्ती स्विकार्दै क्षतिपूर्ति उपलब्ध गराई घटनालाई फितलो बनाउछ र आफ्नो ब्राह्मणबादी पखेटाहरुले ढाकछोप गर्छ ।
यहाँबाट के प्रस्टै बुझ्न सकिन्छ भने, राज्य सत्ताको चरित्र ब्राह्मणबादी छ । थोत्रो र पुरातन छ । अन्ततोगत्वा यो समग्र देश बिकासको लागि बिष हो । अग्रगमनको तगारो हो, अवरोधको सुचक हो, समाजिक सद्भाव धुमिल पार्ने र बिथोल्ने तत्व हो । समाजमा अशान्ति फैलाउने बिषबृक्ष हो । अझै भनौ, यो एक असामाजिक ऐजेरु हो । राष्ट्रमा बिखण्डन ल्याउने अराष्ट्रिय तत्व हो वा राष्ट्रलाई कमजोर बनाउने क्यान्सर नै हो ।
चेतनाको बिकास गर्दै समाजलाइ परिवर्तन गर्नु अबको पुस्ताको दायित्व हो । अबको पुस्ताले ब्राह्मणबादी सामाजिक जातिय जातोलाइ उखेलेर फाल्नुको बिकल्प छैन । अब रुपान्तरण सहितको उन्नत समाज को निर्माणको जरुरी छ । ताकी हरेक उत्पिडित भनिएकाहरु मान्छे भएर मान्छेकै हैसियतमा जीवन जिउन सकुन । छाती फुकाएर आफुले आत्म सम्मानसहित बाच्न सकुन । मानबिय सहिष्णुता कायम गर्न सकुन ।
अनि हरेक दलित भनिएका समुदायले निर्धक्क भन्न सकुन कि “सन्सारका सबै मानिस एक हौँ, र हामी सबै समान छौँ ।” वर्ग र जात मेटाउने अभियानमा सम्पूर्ण उत्पीडित जाती र समुदायहरु एकताबद्ध हुनु नै आजको आवश्यकता हो ।