दियोपोष्ट संवाददाता
काठमाडौं, १० असार । नोवल कोरोना भाइरस ‘कोभिड १९’ महामारी बीच मुलुक यतिबेला लकडाउनमै छ । राजधानीमा आंशिक खुकुलो भएपनि शैक्षिक संस्था, होटल, रेष्टुरेन्ट, सार्वजनिक यातयात लगायत दर्जनौँ क्षेत्र पूर्ण रुपमा अवरुद्ध छ । सामान्य नागरिकलाई पेट कसरी भर्ने भन्ने तनाव छ । मझौला व्यापारीका व्यावसाय छैन । उनीहरु बैंक वित्तिय संस्थाबाट ऋण लिएर व्यावसाय सञ्चालन गरिरहेका थिए । तर, व्यावसाय नै बन्द भनेपछि उनीहरुलाई समेत पेट पाल्ने तनाव हुन थालेको छ । यता वित्तिय संस्थाले भने यहि मौकामा यस्ता साना व्यापारीलाई कर्जा चुक्ता गर्न अल्टिमेटम दिन थालेका छन् ।
‘बैंक पनि साथी पनि’को नारा लिएर चर्चित बनेको एनआइसि एसिया बैंकले साना तथा मझौला व्यापारीलाई कर्जा तिर्न भन्दै पत्र काटेर आतंक मच्चाएको पाइएको छ ।
राजधानीमा आफ्नो करोडौं पर्ने घर बैंकमा धितो राखेर एक व्यक्तिले २ करोड रुपैयाँ लिएका थिए । उनले चैत्र महिनासम्म आफूले लिएको कर्जाको व्याज र बैंकले तोको किस्ता बुझाइ रहेका थिए ।
तर, चैत्र ११ गतेबाट सरकारले लकडाउन घोषणा गरेपछि भने उनको व्यावसाय बन्द छ । होटल क्षेत्रमा एनआईसी एशिया बैंकबाट ऋण लिएर लगानी गरेका उनलाई केही दिनअघि मात्रै बैंकले पत्र काटेको छ । ‘लकडाउन अवधिदेखि व्यापार छैन । तर, एनआइसी एशिया बैंकले सावाँ व्याज सहित किस्ता अनियमितता भयो भनेर पत्र काटेको छ,’ उनले भने,‘कसरी तिर्ने हो । सरकारले कर तिर्न अल्टिमेटम दिने, बैंकले किस्ता बुझाउन अल्टिमेटम दिने । यसरी हामी त डुब्ने भयौँ ।’
उनी मात्रै होइन एनआइसि एशिया बैंकले अर्का एक व्यापारीलाई पनि त्यस्त आसयको पत्र पठाएको छ । धादिङ सदरमुकाम धादिङवेशीको घर राखेर होटल, हार्डवेयरमा लगानी बढाएका उनलाई पनि एनआइसि एशिया बैंकले तनाव दिएको छ । उनलाई पनि किस्ता तिर्न भन्दै बैंकले पत्र पठाएपछि उनी मानसिक तनावमा छन् ।
टेलिफोनबाट पैसा मागेर हैरान : व्यावसायी
केही व्यावसायीले भने लकडाउन अवधिमा एनआइसि एशिया बैंकका कर्मचारीले फोन गरेर किस्ता रकम बुझाउन आउन भन्दै हैरानी दिएको बताएका छन् । ‘हाम्रा होटल व्यावसाय पूर्ण रुपमा बन्द छन् । यस्तो अवस्थामा पर्यटन क्षेत्र नै तहसनहस हुने अवस्थामा छ । तर, सरकारले हामीलाई राहत नदिए दैनिक गुजारा चलाउन समेत मुस्किल भइसक्यो,’ ठमेल क्षेत्रमा व्यावसाय गरिरहेका एनआइसि एशिया बैंकका ऋणी भन्छन्,‘ऋण त तिर्नुपर्छ हामी तिर्छौं नै । तर, यो अवस्थामा कसरी तिर्ने हो । बैंकले दिनदिनै फोन गरेर हैरान पारेको छ ।’
चितवनमा बैंकका कर्मचारी घर–घरमै आउन थाले
त्यस्तै एनआइसि एशिया बैंक चितवनका विभिन्न शाखाका कर्मचारी भने घरघरै पैसा उठाउन हिँडेको चितवनका व्यावसायीले गुनासो गरेका छन् । चितवनका व्यावसाय गर्दै आएका व्यावसायी लेखनाथ पौडेलका अनुसार बैंकले फोन गर्नुको सट्टा बैंकका म्यानेजर नै घरघर चहार्दै हिँडेको बताए ।