विदेशबाट आएका नेपालीमाथि चर्को भाडा लिएको छैन : महासचिव सिटौला

दियो पोस्ट  

काठमाडौं, १४ असार । नेपाल यातयात व्यावसायी महासंघका महासचिव सरोज सिटौलाले दियोपोष्ट डटकममा प्रकाशित समाचारको खण्डन गरेका छन् ।


शनिबार दियोपोष्ट डटकममा प्रकाशित विदेशबाट आउने नागरिकमाथि यातयात भाडामा चर्को ठगी सम्बन्धी समाचारमा उनले खण्डन गरेका हुन् ।


‘नोवेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पछिल्लो समय नेपालमा समेत फैलिएपछि सरकारले चैत १० गतेदेखि देशभरका सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको छ,’ उनले खण्डनमा उल्लेख गरेका छन्,‘यस विषम परिस्थितीमा विदेशबाट आएका नागरिकलाई सहज ढङ्गले आफ्नो गन्तव्यस्थलसम्म लैजाने वातावरणका लागि यातायात व्यवसायी महासङ्घको महासचिवको हैसियतले सहजीकरण गर्न खोज्दा मेरो नाम जोडेर सुनियोजित रुपमा समाचार सम्प्रेषण भएकोमा दुःख व्यक्त गर्दछु ।’

तस्विरमा उल्लेखित उनको लगानी रहेको गाडी नम्बर ना ७ ख २७४५ बस समेत यात्रु ओसारपोसारमा समलग्न नभएको उनको जिकिर छ ।


‘फोटो राखेर यातायात व्यवसायीका महासचिवले चर्को शुल्क लिए भनेर प्रकाशित गर्नुले मेरो बदनाम गर्न खोजेको प्रष्ट देखिन्छ,’ उनले उल्लेख गरेका छन्,‘लकडाउन भएको मितिदेखि आजसम्म मेरो उक्त नम्बर प्लेटको गाडी नयाँबसपार्कमा थन्किएर बसेको छ ।’


यद्धपी समाचारमा भने उनको सोही नम्बर प्लेटको गाडी यात्रु ओसार पोसारमा प्रयोग भएको उल्लेख गरिएको छैन ।


‘महासंघ र म महासंघको जिम्मेवार पदमा रहेको व्यक्तिले चर्को भाडा नलिएको स्पष्ट पार्न चाहन्छु,’ उनले भने ।