काठमाडौं, ११ असार । प्रेस काउन्सिल नेपालले आचार संहिता उलंघन गरेको आरोपमा विभिन्न अनलाइन तथा ब्लगमाथि कारबाही गरेको छ ।
गत वर्ष साउन महिनादेखि यस वर्ष साउनसम्म कालो सुचीमा परेका सञ्चारमाध्यमको सुची सार्वजनिक गरेको हो ।
कालोसुचीमा पहिलो नम्बरमा इहिमालय टाइम्स डटकम छ ।
उक्त अनलाइनका मालिक मिडिया एलाइन्स नेपालका कोषाध्यक्ष समेत रहेका उज्वल शर्मा हुन् । उक्त अनलाइन प्रेस काउन्सिलन नेपालमा सुचिकरण नरहेको र सुचना विभागमा समेत दर्ता नभएकोले नेपालमा प्रकाशन बन्दका लागि सुचना विभागलाई पत्राचार गर्ने निर्णय समेत प्रेस काउन्सिल नेपालले गरेको छ ।
त्यस्तै वीरगन्जसिटी डटकम, एनआरएन खबर डटकम र कोशिपाटी डटकमपनि कालोसुचीमा परेका छन् । उनीहरु सबै आचार संहिता उलंघन गरेको आरोपमा कालोसुचीमा परेका हुन् ।
काउन्सिलले सेतोपाटी सहित १३ अनलाइनलाई ध्यानाकर्षण र सचेत गराएको छ । माधव नेपाललाई जेल जाने प्रमाण भेटिएको भन्दै समाचार छापेको प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतद्वारा सञ्चालित जनता टाइम्स डटकमलाई ध्यानाकर्षण गराइएको छ । ऋषी धमलाद्वारा सञ्चालित रिपोर्टस नेपालले आचार संहिता उलंघन गरेको अभियोगमा सचेत गराइएको छ ।
काउन्सिलले अफवाह फैलाउने १५ वटा ब्लग तथा अनलाइनलाई नेपाल भित्र चल्न नमिल्ने गरि नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गर्ने निर्णय गरेको छ ।