काठमाडौं । विदामा बसेर सरकार विरुद्ध मुद्दा लडिरहेका नेपाल प्रहरीका एआइजी विश्वराज पोखरेल नैतिक संकटमा परेका छन् ।
उनी निकट स्रोतका अनुसार उनी यतिबेला सम्मानजनक रुपमा फेरी ड्युटीमा फर्कन पाउँ भन्दै विभिन्न नेताको ढोकामा पुगेका छन् ।
उनले नेपाल प्रहरीको आइजी नियुक्ती विरुद्ध आफूले दायर गरेको मुद्दा फिर्ता लिने तर त्यसको लागि आफूलाई सम्मानजनक पद चाहिने भन्दै नेपाली कांग्रेसका नेताहरुको घरदैलोमा पुग्न थालेका छन् ।
उनले संचारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई भेटेर हारगुहार गरेको समेत स्रोतले बताएको छ । तर, कार्कीले उनलाई चित्त बुझ्दो जवाफ नदिएपछि उनी अन्य नेताको घरघरमा पुगेका थिए ।
पछिल्लो समय उनी नेपाली कांग्रेसका उपसभापति तथा पूर्व गृहमन्त्री पूर्ण बहादुर खड्काको दैलोमा पुगेको खबर छ । उनले ती नेतासँग आफूलाई सम्मानजनक रुपमा एआइजीमा फर्किने वातावरण मिलाउन गुहार मागेको स्रोतले जनाएको छ ।
सरकारले उनसँगै सेवा प्रवेश गरि एसपीसम्मको बढुवामा सिनियर रहेका एआइजी धिरज प्रताप सिंहलाई २९ औँ आइजीपी नियुक्त गरेपछि पोखरेलले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । वैशाख १९ गते सोमबार उनले सर्वोच्च अदालतमा आफूलाई प्रहरी महानिरिक्षक नियुक्त गर्न माग गर्दै मुद्दा दायर गरेका थिए ।
स्रोतका अनुसार पोखरेलले आगामी जेठ २४ गतेसम्मलाई विदा स्विकृत गराएका छन् ।
सर्वोच्चले आगामी जेठ ३० गते उक्त मुद्दाको सुनुवाई गर्दै छ । तर, पोखरेल २५ गते नै हाजिर हुनुपर्ने बाध्यता छ ।
२५ गते हाजिर नभए उनको बर्खास्तीको प्रक्रिया शुरु हुनुसक्ने एक पूर्व डिआइजी बताउँछन् । ‘कार्यालय हाजिर नभए बर्खास्तीको प्रक्रिया शुरु हुनसक्छ । आफू भन्दा जुनियरलाई आइजी नियुक्त गरिएको भन्दै अदालतमा मुद्दा दायर गरेर कार्यालय हाजीर हुनु नैतिकताले दिने कुरा पनि भएन,’ ति डिआइजीले भने,‘उहाँले खाउँभने दिनभरको शिकार खाउँ भने कान्छा बाउको अनुहार भने जस्तै भएको छ ।’