अन्तत : हाजिर हुन आएनन् एआइजी पोखरेल : प्रवक्ता भन्छन्,‘उहाँमाथि कुनै कारबाही हुँदैन’

दियो पोस्ट  

काठमाडौं । नेपाल प्र्रहरीको आइजीपी आफूलाई नियुक्त गर्नुपर्ने भन्दै विदामा बसेर मुद्दा लडिरहेका एआइजी विश्वराज पोखरेलको विदा स्विकृत नभएपनि उनी हाजीर भने भएका छैनन् । गत वैशाख ११ गतेदेखि नै विदा लिएर मुद्दा लडेका पोखरेलको विदा मंगलबार सकिएको थियो ।

प्रहरी प्रवक्ता एसएसपी विष्णु कुमार केसीका अनुसार पोखरेलको विदा अस्विकृत भएपछि हाजिर हुन आएका छैनन् । तर, हाजिर हुन नआएपछि प्रहरी नियमावली अनुसार कारबाही गर्नुपर्ने भएपनि उनले पोखरेलमाथि भने कुनै कारबाही नहुने केसीले बताए । ‘उहाँमाथि कुनै पनि कारबाही हुँदैन । उहाँ हाजिर हुन आउनु भएको छैन,’ केसीले भने ।

प्रहरीमा तल्लो तहका कर्मचारीले भने समयमै हाजिर नभए स्पष्टिकरण सोधेर कारबाही गरिन्छ । तर, पोखरेलको हकमा भने प्रहरी नियमावली अनुसार कुनै कारबाही नहुने प्रवक्ताको भनाईले संकेत गर्छ । प्रहरी नियमावलीमा लगातार ४५ दिनसम्म गयल भए जागिरबाटै बर्खास्त गर्न सकिने प्रावधान छ । त्यस्तै विदा स्विकृत नलिई गयल हुने प्रहरी कर्मचारीलाई विभागीय कारबाही समेत हुने नियमावलीमा उल्लेख छ ।

सरकारले पोखरेलकै व्याची तथा एसपीसम्म पोखरेलभन्दा सिनियर रहेका एआइजी धिरज प्रताप सिंहलाई नेपाल प्रहरीको महानिरिक्षक बनाएपछि उनी अदालतमा पुगेका थिए । गत वैशाख १९ गते उनले सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । प्रहरी सेवामा एकै दिन भर्ना भएपनि पोखरेलले आइजी सिंहलाई १७ महिना जुनियर भन्दै मुद्दा दायर गरेका छन् ।

गत वैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनको विसम परिस्थितिमा समेत विदामा बसेका पोखरेलले आफूलाई आइजीपी नियुक्त नगरेपनि सम्मानजनक स्थान दिनुपर्ने भन्दै कांग्रेस नेताहरुलाई भेटेका छन् ।

वैशाख २२ गते सर्वोच्च अदालतका न्यायाधीश सुश्मालता माथेमाको एकल इजलाशले पोखरेलको मुद्दामा अन्तरिम आदेश दिन अस्विकार गरेको थियो ।

सम्बन्धित खबर