निलकण्ठ १३ स्थित दलित बस्तीमा खानेपानीका लागि प्रदेशले १० लाख दियो, तर वडाले सिफारिस दिएन !

दियो पोस्ट  

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १३ स्थित कोटडाँडा दलित वस्तिले खानेपानी योजनाका लागि वडाध्यक्ष सोम गुरुङले सिफारिस नदिएको आरोप लगाएका छन् ।

स्थानियले दलित वस्तिका लागि प्रदेश सरकारबाट बिनियोजित १० लाख रुपैयाँ बजेट पाउनका लागि सिफारिस माग गरेका थिए । तर, वडाध्यक्ष गुरुङले विभेद गरेर सिफारिस नदिएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष कृष्ण दुधराजले दियोपोस्टलाई जानकारी दिए ।

उपभोक्ताले गत जेठ २० गते वडा कार्यालयमा निवेदन दिएपनि वडाध्यक्ष गुरुङले निवेदन उपर कुनै सुनुवाई नगरेको आरोप छ । नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष गुरुङले राजनीतिक पूर्वाग्रह राखेको उपभोक्ताको आरोप छ ।
उपभोक्ताहरुले वडासचिव लिला गुरुङले समेत आफूहरुमाथि विभेद गरेको आरोप लगाएका छन् । सचिव गुरुङले भने आफूहरुले जनप्रतिनिधिको रोहबरमा छलफल गरि माइन्युट उठाएपछि मात्रै सिफारिस दिने बताए ।