रत्नपार्कमा यौन व्यावसायी महिलासँग होटलको कोठासम्म पुगेका युवा लुटिए !

दियो पोस्ट  

काठमाडौं । केहीदिन अघि काठमाडौंको पुरानो भक्तपुर बसपार्कबाट पुरानो बसपार्क स्थित हाल निर्माणाधिन भ्यू टावरको अघिल्तिरसम्म एक युवा प्रहरीको पछि पछि दौडँदै थिए । प्रहरी समक्ष उनी केही भन्दै थिए । तर, प्रहरीका दुई हवल्दार उनको कुरा सुने पनि बेवास्ता गर्दै अघि बढ्दै थिए । बसपार्ककै आडमा रहेको प्रहरी बिटमा ती दुई हवल्दार भित्र प्रवेश गरे । तब ती युवा बाहिर आए र जो भेटिन्छ उसैलाई गुहार माग्न थाले । ‘दाई म लुटिएँ । एक पटक त्यहाँ गइदिनुस् प्लिज,’ उनी भन्दै थिए ।

कालो टिसर्ट, कानमा चाँदीको जस्तो देखिने मुन्द्रा लगाएका ती युवा मधेशी समुदायका थिए ।

‘एक महिना काम गरेर चार हजार रुपैयाँ कमाएको थिएँ । सबै पैसा र मोबाइल समेत लुटेर लगे,’ उनी बोल्दै गए,‘प्रहरीले केही सहयोग गरेन । एक पटक तपाईंहरु पनि जाउँ न ।’

तर, उनको आग्रहलाई कसैले पनि स्विकार गरेनन् । तर, केहीबेरमा उनले घटना विवरण भने सुनाए । काठमाडौंमै निर्माण मजदुरी गर्ने ती युवा आफ्नो यौन चाहना पुरा गर्न यौन व्यावसायी महिलाको पछि लागेर भक्तपुर बसपार्क नजिकै एक होटलमा पुगेका रहेछन् । तर, उनी होटलको कोठामा पुग्न नपाउँदै ती महिलाले आफ्नो समुह बोलाएर लुटपाट गरेको ती युवाको दाबी थियो । ‘म भित्र प्रवेश गर्ने वित्तिकै बाहिरबाट अर्को समुह पनि आयो । मेरो सबै पैसा र मोबाइल लुटेर लगे । केहीबेर प्रवेश गरेको मात्रै थिएँ । तर, होटलवालाले रुम भाडा तिर भन्छ तर, मसँग पैसा छैन कसरी तिर्ने । प्रहरीलाई भन्दा कुनै सहयोग नै गरेन,’ ती युवाले भने ।

बसपार्क क्षेत्रमा संचालित यस्ता होटलमा प्रहरीकै संरक्षणमा यौन धन्दा चलिरहेको छ । एक होटल व्यावसायीका अनुसार प्रहरीलाई मासिक पैसा बुझाउनुपर्छ । ‘हामीले प्रहरीलाई महिनावारी बुझाउनुपर्छ । कोरोनाले थलिएका थियौँ । अहिले विस्तारै व्यापार बढ्न थालेको छ,’ ती होटल व्यावसायीले भने ।