दुर्गा प्रसाइँले पाएको ‘सुनको लौरो ‘शंकाष्पद’ : विमानस्थल भंसार एक्स्रेमा भेटिएन रेकर्ड !

diyopost.com
दियो पोस्ट  शनिबार, आषाढ ०४, २०७९ | २१:२०:४९

 

काठमाडौं । तीन दिने भ्रमणका लागि नेपाल आएका दुबईका राजकुमार जुमा अल मोक्तुमले नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सुनको लौरो उपहार दिएको घटनाले शनिबार दिनभर चर्चा पायो ।
फ्लाई दुबईको विमान मार्फत शनिबार विहान ८ बजे नेपाल उत्रिएका राजकुमार मोक्तमले दिएको सुनकौ लौरो शंकाष्पद देखिएको छ । नेपाल सरकारको कुनै पनि औपचारिक निमन्त्रणा बिना नेपाल भ्रमणमा आएका राजकुमारको यो व्यक्तिगत भ्रमण हो । उनले ल्याउने यस्तो उपहार सरकार वा राज्यको लागि भए मात्रै भंसार छुट हुन सक्छ । तर, व्यक्तिका लागि ल्याइने यस्ता उपहारका लागि भने पाउने व्यक्तिले भंसार छुट तथा माफी मिनाहका लागि परराष्ट्र मन्त्रालय मार्फत पहल गर्नुपर्छ । मन्त्रिपरिषदको निर्णयको आधारमा दुर्गा प्रसाइँले भंसार छुट र माफि मिनाहको सुविधा पाउन सक्थे । तर, उनले उक्त कुनै पनि प्रक्रिया बिना राजकुमारबाट सुनको लौरो उपहार पाएका छन् ।
श्री एयरलाइन्सको चार्टर्ड विमान मार्फत चन्द्रगढी विमानस्थल अवतरण गरेका राजकुमारलाई दुर्गा प्रसाईंले स्वागत गरेका थिए ।

प्रसाईंलाई राजकुमारले विमानस्थलमै सुनको लौरो हस्तान्तरण गरेका हुन् ।

गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार झिटिगुन्टा सम्बन्धी नियमावली अनुसार सुन वा जे सुकै वस्तुको भन्सार तिर्नुपर्ने हुन्छ । ‘डेप्लोम्याटिक रुल्स हो भने विमानस्थलमा हेरिँदैन । तर, दुर्गा प्रसाइँ पनि तपाईं हामी जस्तै मान्छे हुन् । पैसा भएका कारण उनी दुर्गा प्रसाईँ भएका हुन् । नेपालीलाई कसैले उपहार दिने भो भने नेपाल सरकारको स्विकृति लिनुपर्छ । मन्त्रिपरिषदले निर्णय नै गर्नुपर्छ,’ उनले भने ।

विमानस्थलस्थित भन्सार कार्यालयका प्रमुख महेश भट्टराईले भन्सार कार्यालयले चेकजाँच गर्ना कुनै पनि सुन जस्तो देखिने वस्तु नभेटेको बताए । ‘मैले पनि मिडिया मार्फत नै थाहा पाएको हुँ । उहाँ झापा गएर एउटा लौरो दिनुभयो रे भन्ने कुरा । तर, आधिकारीक छैन । उहाँ दुबईको राजकुमार भएको कारण भिआइपीको सुविधा दिएको हो । उहाँहरुको सम्पूर्ण लगेजहरु चेकजाँच गरिएको हो । डेप्लोम्याटिक र भिआइपीको चेक हुनेकुरा फरक छ,’ भट्टराईले दियोपोस्टसँग भने,‘मैले दोहोर्याएर पनि चेक गर्न लगाएँ । हाम्रो एक्सरे इमेज रहन्छ । त्यहाँ कुनै पनि सुन देखिएको छैन । कुनै पनि यात्रुले त्यस्तो ल्याएको छ भने स्वघोषणा गर्नुपर्छ । उसको त्यो पहिलो कर्तव्य हो । कसैले पनि घोषणा गरेको छैन । घोषणा नगरि कसैले लग्यो भने हाम्रो सिस्टममा देखिएको छैन ।’

सुनको लौरो हस्तान्तरण भएपछि आफूले दिनभर चासो राखेको भट्टराईले बताए । यद्धपी झापाबाट उक्त लौरोमा सुनको जलप मात्रै लगाइएको सुचना आफूले पाएको भट्टराईले बताए । ‘राजकुमार आउनु भएको त हो । तर, उहाँले दुबईबाटै सुन ल्याउनुपर्छ भन्ने छैन । यहाँ नै बनाउन पनि सकिन्छ । लौरोको सेप हेर्दा त्यो यहीँ बनाइएको र जलप लगाइएको हुन पनि सक्छ,’ भट्टराईले भने,‘त्यतिको मान्छेलाई नेपालमा बाहिरबाट विदेशीले सुन ल्याउन पाइँदैन भन्ने कुरा थाहा हुन्छ । त्यस हुनाले यतै कतै बनेको हुनपर्छ । किन भने हाम्रो सिस्टममा देखिँदैन । तर, यो अनुसन्धानको विषय भने हो ।’

नेपाल सरकारले बनाएको कार्यविधि अनुसार विदेशीले नेपालमा सुन ल्याउन नपाउने उनले बताए ।

विमानस्थल प्रहरीको सुचना अधिकारी डिएसपी किशोर लम्साल दुबईको राजकुमारले ल्याएको सुनबारे भन्सारलाई नै थाहा हुने बताए । ‘सम्पूर्ण कुरो त भंसारलाई थाहा हुन्छ । हामीले विमानस्थलमा आउने अराइभलको पाटो केही पनि हामीले हेर्दैनौँ । भन्सारले हेर्ने हो । हाम्रो भंसारको एक्सरेको मेसिनमा सुन देखिएन भन्छ,’ उनले भने,‘भंसारले प्रक्रिया पुर्याएर जाँच गरेर पठाएको हो । आउनेमा भन्सारले नै चेकजाँच गर्ने हो ।’

नेपालमा दुबईबाट सबैभन्दा बढी तस्करीको सुन भित्रने गरेको छ । नेपालमा तस्करीको सुन भित्रनुमा दुबईस्थित उच्च घराना र नेपालका ठूला माफियाको मिलेमतो देखिन्छ । ‘यदि दुर्गा प्रसाइँले सुनकै लौरो पाएका हुन् भने उनले मन्त्रिपरिषदबाट भन्सार माफी मिनाहको निर्णय गराउनुपर्छ । यदि गराएनन् भने त्यो स्वतः तस्करीको सुन हुन जान्छ । तस्करीको सुन लिनु, विक्री गर्नु वा उपहार लिनु अपराध हो,’ विमानस्थलकै एक कर्मचारी भन्छन्,‘भोली अर्को कुनै राजकुमारलाई यस्तै निम्ता गरेर फेरी अर्को लौरो लिएर सुन जम्मा पार्न पाइने की नपाइने ? सामान्य नागरिकलाई २ तोला सुन लगाएर विमानस्थल आउँदा पक्राउ गरेर सुन तस्करीको मुद्दा लगाउने राजश्व अनुसन्धान विभाग, प्रहरी र भंसार विभागले युएइको राजकुमारलाई के कारबाही गर्ला ?

शुक्रबार सार्वजनिक भएको मन्त्रिपरिषद निर्णयमा पनि दुर्गा प्रसाइँले पाउने सुनको लौरो उपहारबारे कुनै निर्णय भएको छैन ।

 

 

सम्बन्धित खबर