काठमाडौं । काठमाडौंका मेयर बालेन शाहले महानगरपालिकाको बजेटबाट १५ लाख रूपैयाँ खर्च गरेर र्यापर यमबुद्धको शालिक बनाउने भएका छन्।
पछिल्लो समय विभिन्न सहरले आफ्नो प्राथमिकताविपरीत विभिन्न व्यक्तिको शालिक, प्रवेशद्वार लगायतमा बजेट खर्च गर्ने प्रवृत्ति देखिएका बेला काठमाडौंका मेयर शाहले पनि त्यसलाई निरन्तरता दिएका हुन्।
उनले शुक्रबार आफ्नो फेसबुकबाट यमबुद्धको शालिक निर्माणसम्बन्धी जानकारी सार्वजनिक गरेका छन्। यसबारे सरसल्लाहसaमेत नगरी एकतर्फी रूपमा प्रस्ताव ल्याएको एक वडाध्यक्षले बताए। शालिक र प्रवेशद्वारजस्ता कार्यक्रमको अन्य नगरपालिकामा विरोध हुँदै आएको छ। यहाँ पनि धेरैले सामाजिक सञ्जालमा असन्तुष्टि जनाइरहेका छन्।
‘यमबुद्धको शालिक निर्माण गर्न महानगरबाटै बजेट राखेका छौं,’ उनले भने, ‘दसदेखि पन्ध्र लाख रूपैयाँसम्ममा शालिक बनाउने कार्यक्रम छ।’ शालिक कहाँ स्थापना गर्ने भन्ने चाहिँ यकिन नभएको उनले बताए।