५ करोडभन्दा बढी ठगी आरोपमा पूर्व डिएसपी गोविन्द थपलिया पक्राउ !

दियोपोस्ट संवाददाता

 

काठमाडौं । ठगी लगायतको अपराधमा संलग्न भएपनि शक्तिको आडमा उन्मुक्ति पाउँदै आएका पूर्व डिएसपी गोविन्द थपलिया पक्राउ परेका छन् । ग्रिल व्यावसायी हरि श्रेष्ठलाई ठगी गरेको उनीमाथि आरोप छ । थपलियाबाट पीडित भएका श्रेष्ठले विभिन्न निकायमा गुहार माग्दै आएका थिए ।

श्रेष्ठले संचालन गरेको न्यू कालिका ग्रील तथा सोलार पिल्टर कन्स्ट्रक्सन प्रा.लि र थपलियाको स्वामित्व रहेको ग्रामिण कृषी फार्मबीच बुंगुरको खोर बनाउने विषयमा सहमति भएको थियो । थपलियाको कम्पनिले उक्त सम्झौता अनुसार शुरुमा १५ लाख रुपैयाँ अग्रिम भुक्तानी पनि दिए । कुल ६७ लाख रुपैयाँको लागतमा बुंगुरको फार्म बनाउने सहमतिमा उल्लेख थियो । श्रेष्ठ नेतृत्वको कम्पनिले काभ्रोपलान्चोकको पाँचखालमा बुंगुर खोर मात्रै होइन थपलियाको मौखिक आग्रहमा बख्राको खोर, बोइलर कुखुराको खोर, चल्ला राख्ने घर र गाइ भैँसीको फार्म समेत बनायो ।

 

श्रेष्ठको कम्पनीबाट नै निर्माण समाग्रीहरुसहित निर्माण काय सुरु भयो । ढुवानी तथा मजदुरहरुको ज्याला, रंगरोगन यी सबै काम श्रेष्ठकै कम्पनिले गरेको थियो । ६७ लाख रुपैयाँमा बुंगुर खोर मात्रै निर्माण गर्ने सम्झौता गरेको कम्पनिलाई थपलियाले ९ करोड १३ लाख रुपैयाँको लागत लाग्ने गरि निर्माणको काम लगाए ।

त्यसमध्ये ३ करोड रुपैयाँ बराबरको रकम पनि दिए । तर, बाँकी रहेको पैसा भने उनले दिएनन् । पैसा माग्दा पीडित श्रेष्ठलाई थपलियाले आफू नेपाल प्रहरीको पूर्व डिएसपी हुँ भन्दै पदको धम्की दिने गरेको श्रेष्ठको आरोप छ । थपलिया विरुद्ध उनले काठमाडौं प्रहरी, सरकारी वकिल कार्यालय मात्रै होइन विभिन्न निकायमा उजुरी गरिसकेका थिए । तर, पक्राउपुर्जी भने आएको थिएन ।

पीडित श्रेष्ठले काठमाडौं प्रहरी लगायत विभिन्न स्थानमा दिएको जाहेरी अनुसार उक्त निर्माण कार्यको नाँपजाँच गरि जम्मा रकम ९ करोड १३ लाख रपैयाँ उक्त कृषी फार्म स्थापनागर्दा खर्च भएको छ । तर थपलियाले सम्झौता विपरित गएर जम्मा ३ करोड ६८ लाख मात्र भुक्तानी गरे । श्रेष्ठले बाँकी रहेको ५ करोड ४५ लाख माग्दा थपलियाले उल्टै ज्यान मार्ने धम्की दिन थालेको उनको आरोप थियो । “गत साल २०७८ फागुन १९ गते काभ्रेको पाँचखालस्थित उनको कषि फार्ममा बोलाएका थिए । उनले भनेको मिति र समयमा हामी उक्त स्थानमा पुग्दा प्रहरी लगायत अन्य व्यक्तिहरुको प्रयोग गरेर पारिश्रमिक लिन गएका हामीलाई बाँकी पैशा दिन्न भन्दै धम्कीसहित गाली गलौज गरे,’ उनले दियोपोस्टसँग भनेका थिए ।

 

थपलियाको धम्कीपछि तत्काल श्रेष्ठले जिल्ला प्रशासन कार्यालय, काभ्रेपलान्चोकमा शान्ति सुरक्षाको निवेदन दिए । तर थपलियाको धम्की रोकिएन । उनले आफू उच्च पदस्त पूर्व कर्मचारी भएको र आफ्नो न्यायालयसम्म उच्च पहुँच रहेको भन्दै थप धम्क्याउन थालेको आरोप पीडित लगाउँछन् । आफ्नो कम्पनीले गरेको काम र निर्माण सामाग्रीको पाउँनु पर्ने रकम नपाएपछि श्रेष्ठले गत भदौ १३ मा उजुरी दिएका थिएका थिए ।

ठगीको आरोप लागेका पूर्व डिएसपी थपलिया म्यानपावर व्यावसायी समेत हुन् । उनको म्यानपावरमा प्रहरीकै उच्च अधिकारीहरु साझेदार रहेका छन् । आफूले पाउनुपर्ने रकमको भ्याट बिल सहितको दाबी पेश गर्दा पनि थपलियाले भुक्तानी नदिएको उनको आरोप छ । थपलियालाई आइतबार दिउँसो ३ बजे उनको म्यानपावरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस विषयमा प्रतिक्रिया लिन महानगरिय प्रहरी परिसर मालि गाउँका डिएसपी अनिश कुमार कर्णलाई सम्पर्क गर्दा उनले फोन उठाएनन् ।

महानगरिय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सितारा रिजाललाई सम्पर्क गर्दा आफूले जानकारी नपाएको र केहीबेरमै बुझेर जानकारी दिने बताए । तर, केहीबेरमा दियोपोस्टकर्मीले पटक पटक फोन गर्दा उनले फोन उठाएनन् ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी दान बहादुर कार्कीले पनि फोन उठाएनन् । तर, जाहेरकर्ता हरि कुमार श्रेष्ठले भने आफूले नै प्रहरी र पक्राउपुर्जी साथमै लिएर गएको बताए ।

अपडेट

यसैबीच महानगरिय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सिताराम रिजालले थपलिया पक्राउ परेको पुष्टि गरे । उनी आफैले कलब्याक गरेर थपलिया पक्राउ परेको पुष्टि गरेका हुन् ।

सम्बन्धित खबर

सिफारिस