गृहमन्त्रीको प्रेस सल्लाहकारलाई प्रहरीको प्रबन्ध शाखाको चासो : नातेदार एसपीको पदस्थापना !

दियोपोस्ट संवाददाता

काठमाडौं । हाम्रा देशका मन्त्रीहरुले थरि थरिका सल्लाहकार राखेका छन् । विधा अनुसारका सल्लाहकार राखेर उनीहरुले आफ्नो कार्यसम्पादन गरेका हुन्छन् । विषय विज्ञताको आधारमा सल्लाहकार राख्ने भन्दा पनि आफ्ना आसोपासेलाई सल्लाहकार बनाएर तलब खुवाउने र विभिन्न अपराधमा समेत लगाउने गरेको तथ्य भूटानी शरणार्थी काण्डले नै पुष्टि गरेको छ । पूर्वगृहमन्त्री बालकृष्ण खाँडका पिएदेखि पूर्वगृहमन्त्री राम बहादुर थापाका सल्लाहकार समेत यतिबेला जेलको हावा खाइरहेका छन् ।

सार्वजनिक रुपमा निकै सुशासनको कुरा गर्ने हालका गृहमन्त्रीलाई पनि आफ्ना सल्लाहकारहरुले फसाउने संभावना बढेको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्रेस सल्लाहकार हुन्–कमल गिरी । समाचार लेखन/सम्पादनबाट टाढा रहेपनि विज्ञापन व्यावसाय मार्फत मिडियामा जोडिएका गिरीको कारण प्रहरीका उच्च अधिकारी हैरान भएका छन् ।

विशेषगरि सरुवा बढुवामा आफ्ना मान्छे र नातेदारलाई सिफारिस गर्ने उनको शैलीका कारण प्रहरीका हाकिमहरु हैरान छन् । गृहमन्त्री श्रेष्ठ आफैले मेरा सचिवालयका सदस्यले कुनै पनि गलत क्रियाकलाप नगर्ने दाबी गरिरहेका बेला गिरीले आफ्ना मान्छेलाई छानी छानी मालदार निकायमा पठाउन दबाव दिने गरेका छन् । प्रहरीको आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय  शाखा निकै बलशाली मानिन्छन् ।

विशेषगरि खरिद र ठेक्कापट्टा सम्बन्धी कार्य हुने यो शाखामा अर्बौं रकमको कारोबार हुने गर्दछ । सोही शाखामा गिरीले आफ्नो मान्छे राख्न दबाव दिएको घटनाले प्रहरीका उच्च अधिकारीहरु चकित छन् । उनले आफ्नो नातेदार समेत पर्ने भर्खरै प्रहरी नायब उपरिक्षकबाट प्रहरी उपरिक्षकमा बढुवा भएका गोविन्द पुरीलाई प्रबन्ध शाखामा राख्न दबाव दिएका छन् । गिरीको दबाव अघि निरिह बनेका प्रहरी प्रमुख बसन्त कुँवरले पुरिलाई प्रबन्ध शाखामा सरुवा गरेका छन् ।

प्रहरीभित्र निकै विवादित मानिएका पुरीले यसअघि एक व्यक्तिलाई पक्राउ गरि हिरासत भित्रै ७ लाखको चेक काट्न लगाएर गम्भिर अपराध गरेको आरोप छ । तीन लाख रुपैयाँ ऋण लिएका ती व्यक्तिलाई पक्राउ गरि ७ लाख रुपैयाँको चेक काट्न लगाएका थिए ।

यता गृहमन्त्री श्रेष्ठका सल्लाहकार गिरी भने संचारमाध्यममा क्रियाशिल व्यक्ति होइनन् । उनी टार्गेट मिडिया नामक विज्ञापन एजेन्सी चलाउँछन् । विज्ञापन एजेन्सीले सरकार र व्यापारीबाट विज्ञापन ल्याएर संचार माध्यमलाई उपलब्ध गराउने विचौलियाको भूमिका निभाउँछ ।

प्रबन्ध शाखाको एसपीको भूमिकामा सरुवा भएका गोविन्द पुरीले आफ्नो सरुवा संगठनले नै गरेको दाबी गरे । ‘हजुरले के प्रश्न गर्नु भएको मलाई बुझ्न गाह्रो भयो । हामी नयाँ बढुवा हो । मेरो सरुवा संगठनले गरेको हो । यसमा कसैको भूमिका छैन ।’

यस विषयमा प्रतिक्रियाका लागि गृहमन्त्रीका प्रेस सल्लाहकार कमल गिरीलाई सम्पर्क गर्दा आफ्नो काम प्रेस सल्लाहकारकै रहेको बताए । ‘मेरो काम प्रेस सल्लाहकारको हो । सरुवा बढुवा मैले हेर्दिनँ । प्रहरी हेडक्वार्टरले नै हेर्ने हो,’ उनले भने ।

 

सम्बन्धित खबर

सिफारिस