पशुपतिमा ‘कोटीहोम’ : ‘ठग महाराज’ बिजय भण्डारीले प्रयोग गरेका ९ अस्त्र ( भिडियाे सहित )

खुमा वली  

 

काठमाडौं । मानव सेवा फाउण्डेसनले आयोजन गरेको महायज्ञ गत श्रावण १ गते देखी ३२ गते सम्म संचालन हुने भनिएको छ । बिवादित महाराज बिजय भण्डारी स्वयम आयोजक संस्थाका सस्थापक हुन । उनले बिगतमा यस्तै महायज्ञ संचालन गरेर ठगी गरेको आरोपमा पटक पटक कारागार पनि बसिसकेको हुदाँ यो महायज्ञलाई शंकाको दृष्टिले हेरिएको छ । उनी स्वय‌म यो कार्यक्रमको संकल्पकर्ता समेत हुन् । त्यसैले उनले पुरानै शैलीमा महायज्ञमार्फत ठुलै रकम उठाउन लागेको कुरा सजिलै बुझ्न सकिन्छ ।

पूर्व प्रधानमन्त्री एवं एकीकृत समाजवादी पार्टी अध्यक्ष माधव कुमार नेपाल, स्रोतः मानव सेवा फाउण्डेशन फेसबुक पेज

ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञ नाम दिईएको यस कोटिहोमलाई ऐतिहासिक बनाउन बिजय भण्डारीले ठुलै योजना बनाएका छन् । याेजना सफल बनाउन उनले केही गज्जबकै अस्त्र प्रयोग गरेको देख्न सकिन्छ । विगतका ठगी योजना पुर्ण रुपमा सफल नहुदाँ उनी पटक पटक प्रयास गर्दा पनि प्रहरीको फन्दाबाट उम्किन सकेका थिएन्न । फलस्वरुप उनले कारागारमा समेत बस्नु परेको थियो । उनको ठगी मुद्धा अझै पनि सवोच्चमा विचाराधिन अवस्थामा छ ।

बिगतमा जुन कम्जोरीले उनी प्रहरी खोरमा पुगेका थिए। यतिबेला बिगतकाे गल्ती नदोहोर्याई ठग्ने दाउमा उनी देखिन्छन् । त्यसका लागि उनले लामै समय लगाएर राम्रै गृहकार्य गरेर आएको यस महायज्ञमा प्रयोग गरेका केही अस्त्रलाई केलाउदा थाहा पाउन सकिन्छ । उनले अपनाएका केही अस्त्रलाई हामीले ९ भागमा विभाजन गरेका छौ ।

१. नयाँ नामको सहारा (श्री बिजय कृष्णमुर्ती महाराज जी)
आफूलाई स्वघोषित महाराज बताउने यि ठग गुरुको बास्तविक नाम भने बिजय भण्डारी हो । गुल्मीको धुर्कोेट घर भएका यि गुरुले पटक पटक नाम परिवर्तन गर्दै आएका छन । कहिले विष्णु भण्डारी, कहिले श्री बालयोग्यश्वर लगायत नामको सहारामा कयौंलाई ठगि गर्न सफल भैसकेका छन् । यस पटक पनि उनले नयाँ नामलाई ठग्ने अस्त्रका रुपमा प्रयोग गरेका छन् ।

करिब चार वर्षपछि सार्वजिनक भएका यी महाराजले उनको पुर्नागमनसंगै आफ्नो नाम पनि परिवर्तन गरेका छन् । अहिले उनको नाम श्री विजय कृष्णमुर्ती महाराज जी बताएका छन् । तर २०७६ मा भने उनी विष्णु प्रपन्नचार्यका नामले परिचित थिए । त्यहि नामको सहाराले लाखौ कुम्ल्याउन सफल पनि भएका थिए । यसरी महायज्ञका नाममा जाे काेहिलार्इ पनि ठग्नमा उनी माहिर खेलाडी मानिन्छन् ।

२०७६ सालमा विजय भण्डारीबिरुद्ध ठगीको मुद्धा परेपछि उनी गायब भएका थिए । लगभग चार वर्षको लामो समयपछि उनी नयाँ परिचयका साथ अहिले फेरी पुरानै शैलीमा प्रकट भएका छन् । नयाँ नामलाइ अस्त्र बनाएपनि उनकाे शैलि भने पुरानै  हाे ।

 

यो पनि पढ्नुस् ।

ठगी आरोपमा पटक पटक जेल बसेका धर्मगुरु भण्डारीद्वारा पशुपतिमा ‘कोटीहोम’ !

२. दानवीर बन्न प्रेरित गर्ने स्किम बोर्ड
महायज्ञमा रकम दानमा निकै प्रतिस्पर्धा देखिन्छ । यहाँ पैसामा आस्थाको विभाजन गरिएको पाईन्छ । रु ११ सयदेखि सुरु भएर ५ लाख ५५ हजारभन्दा माथिसम्म दान गर्न सक्ने भनिएका बोर्डहरु यत्रतत्र देखिन्छन् । कति पैसा दान गर्नेलाई के व्यवस्था भनेर पनि स्किम बोर्डमै लखिएको छ । यो स्किम बोर्ड हजारदेखि लाखौ दान गर्नेका लागि मात्र हो । हजार भन्दा तल दान गर्नेलाई दानवीरको संज्ञा दिईएको छैन । न त कुनै स्किमको व्यवस्था नै छ ।


स्किम बोर्डमा लेखिए अनुसार ११ सय दानदेखि १५ सयसम्म दान गर्नेलाई रुद्राक्ष मालासहित फ्रेमवाला सम्मानपत्रले सम्मान गरिन्छ । यो सबै भन्दा कम रकम दान गर्ने दानवीरका लागि हो । हजारबाट सुरु भएर क्रमशः यो रकम बढ्दै लाखौंसम्म पुग्छ । रकम बढेसंगै स्किम पनि बढ्दै जान्छ ।
यसरी दान गर्ने दानवीरलाई विशेष सम्मान गर्नेदेखि मञ्चबाट नाम घोषणा हुने, आश्रमको शिलालेखमा नाम लेखिदिने, आश्रमको कोठामा नामंकरण, दुबोको माला लगाईदिने, त्यो दिनको विशिष्ट अतिथिका रुपमा मञ्चमा राखिने, अनाथबालबालीको अभिभावक बन्न पाईने जस्ता अनेक स्किमको व्यवस्था गरिएको छ ।

बोर्डमा लेखिएको छ । ५० हजारदेखि ६५ हजार प्रदान गर्नेलाई दुबोको माला लगाएर पशुपति मन्दिरको गेटबाट बाजा बजाएर मन्चसम्म लगेर स्पेशल फ्रेममा सम्मान पत्रकासाथ मन्चमा अभिनन्दन गरिने भनिएको छ । विभिन्न बहानामा ठगी धन्दा मच्चाउने यी महाराजले यो पटक भने नयाँ नयाँ ठगी शैली अपनाएको देखिन्छ । सयदेखि सुरु भएको यो दान लाखौंसम्म पुगेर टुंगिन्छ ।

१ लाख रुपैयाँ प्रदान गर्नेले मामाघर अनाथालय आश्रममा रहेका एक वा सोभन्दा बढी अनाथ बालबालिकाहरुको अभिभावक बन्न पाइने छ । बालबालिकाको इच्छा विपरित उनको अभिभावकत्व दिन बिजय भण्डारीलाई कसले अधिकार दियो ? बाल अधिकारको समेत धज्जी उडाउने गरि लेखिएको यो वाक्यलाई सम्बन्धित निकायले खासै वास्ता गरेको पाईदैन । किन ?

यो सँगै रु ३ लाखदेखि ५ लाखसम्म दान गर्ने ७ जना सदस्यहरुलाई सम्मानसहित परिवारका पाँच जनालाई दुबोको माला लगाएर उनीहरुको घरबाट कार्यक्रम परिसर र कार्यक्रम परिसरबाट घरसम्म बाजागाजासहित ल्याइने र लैजाने व्यवस्था गरिको छ । साथै आँखीझ्यालमा विशेष सम्मान पत्र प्रदान गर्ने र आश्रमको संरक्षक पदमा मनोनीत गरिनुका साथै त्यो दिनको प्रमुख अतिथिको रुपमा विशेष अभिनन्दन गरिने स्किम बोर्डमा लेखिएको छ । ५ लाख ५५ हजारभन्दा माथि दान प्रदान गर्नेलाई आश्रममा बन्ने भवनको एउटा कोठामा दम्पतीको नामाकरण गरेर सबै सम्मान गरिने भनिएको छ ।

यसरी ९ वटा अंशमा लेखिएका स्किमले दशै तिहारको समयमा व्यापारीले प्रदान गर्ने घोषणालाई पनि फेल गरेका छन । बम्पर उपहारको स्किम राख्दा पनि व्यापारीले सामान बेच्न सकिरहेका हुदैन्न। तर बिजय भण्डारीले राखेका स्किमले भने बबालै बजार पाईरहेको छ । जे होस यसबाट के प्रष्ट हुन्छ भने उनले सानो योजनाले यो महायज्ञ पक्कै लगाएका होईन्न । उनका पछाडी एक सय एक व्यापारी दिमागका क्षमतावान व्यक्ति रहेको अनुमान लाउन सकिन्छ ।

 

३. विश्व प्रख्यात कथाबाचकहरुलाई कार्यक्रमको हिस्सा
यो महायज्ञमा नाम चलेका सबै व्यक्तित्वलाई बोलाईएको छ नै । साथै ठाउँ ठाउँमा होडिङ बोर्ड समेत टाँसिएका छन् । कोटीहोम महायज्ञमा अन्तर्राष्ट्रिय कथा प्रवक्ता देवी प्रतिभा, सु–प्रसिद्ध कथा वाचिका राधिका दासी, पण्डित दीनवन्धु पोखरेल, श्रीमद् देवी भागवत् वाचिका डा.कान्ता भट्टराई र देवी चन्द्रकला सखीलगायतलाई यो कार्यक्रमको हिस्सा बनाउन बिजय भण्डारी सफल भएका छन् । बिजय भण्डारीको विगतबारे जानकार नभएर हो वा थाहा पाई पाई यसको हिस्सा बन्न पुगेका हुन् यसकाे जवाफ कथाबाचकहरुले नै देलान् । धर्म प्रति आस्था राखेर महायज्ञमा सहभागी हुन आएका भक्तजन नै पहिला जस्तो ठगिन पुगे भने काे हुन्छ जवाफदेही  ?

बिजय भण्डारीले आफुसंगै सबैलाई सति लान खोजेका हुन् भने कथाबाचक होसियार हुनुपर्ने हो । महायज्ञका आयोजकको बारेमा थोरै भएपनि जान्ने प्रयास गर्नुपर्ने हो । तर बिजय भण्डारी यि महान कथाबाचकको आधार लिएर आफुलाई फेरी स्थापित गर्ने दाउमा रहेको कुरा नियत सफा भएका सबैले बुझ्नु पर्ने हो । जे होस स्थापित कथाबाचकलाई समेत अस्त्र बनाउन ठग गुरु सफल देखिन्छन् ।

 

४. अनाथालय र ज्येष्ठ नागरिकलाई सहयोगको नारा
बिगतमा पनि यस्तै यस्तै नारा लिएर ठाउँ ठाउँमा ठगी गरेर कारागार पुगेका यि ठग महाराजले फेरी पुरानै शैली अपनाएका छन् । यसपटक उनले मामा घर अनाथालय आश्रम ललितपुर र छोरीको घर जेष्ठ नागरिक आश्रम भक्तपुरको भवन निमार्णका लागि सहयोगार्थलाई एैतिहासिक श्री पशुपति कोटीहोमको उद्देश्य बनाएर पुरानै शैलिमा ठगिधन्दा गरिरहेका छन् ।

 

कहिले विद्यालयको पुस्तकालय त कहिले बेसहाराका नाममा ठाउँ ठाउँमा महायज्ञको नाममा ठगी गरेको आरोप लागेका विजय भण्डारीले श्रावण १ गतेदेखि सञ्चालन गरेको कोटीहोम महायज्ञको उद्देश्य पनि त्यस्तै रहेको छ । करोडौ रकम उठाउने नियतले आयोजना गरिएको महायज्ञको उद्देश्य यति त राख्नै पर्यो नि । बिना उद्देश्य भक्तजनसंग मोटो रकम झार्न पनि त सकिदैन । आयोजक संस्था मानव सेवा फाउण्डेसन अनि यि दुवै आश्रमका संस्थापक भने उनी आफै हुन् । आफनै आयोजकमा आफ्नै संस्थालाई सहयोगार्थ भन्दै कार्यक्रम गरेका ठग गुरु जी स्वयम संकल्पकर्ता समेत हुन् ।

देशमा रहेका सारा अनाथ, असाहाय, बृद्धबृद्धा लगायतको हेरचाह गर्ने जिम्मा सरकारको हो न कि कुनै व्यक्तिको । त्यसैले यसरी दुनियाँसंग रकम उठाउनुको साटो महाराजले राज्यको ध्यानार्कषण गर्दा राम्रो हुन्थ्यो । तर धर्मका नाममा ठग्न पल्केका बिजय भण्डारीले आफै धर्मात्मा बनेको नाटक गरेर असाहाय, बृद्धाको नाममा करोडौ पैसा सोर्ने बिचार गरे । उनका लागि ति बेसहारा अहिले कमाई खाने भाडो बनेका छन् । अझ भनौ त उनले यिनलाई अस्त्रका रुपमा प्रयोग गरिरहेका छन । धर्मका नाममा गरिब अनि असाहाय प्रयोग गर्दा भोली कसैले आफु विरुद्ध आवाज उठाएपनि सजिलै सहानुभुती पाईने कुरामा बिजय भण्डारीलाई राम्ररी थाहा छ ।

५. विभुतिहरुको तस्बिरमा कोटिहोमको प्रचार
कोटीहोम महायज्ञमा विभन्न राष्ट्रिय विभुतिहरुका तस्बिरको समेत दुरुपयोग भैरहेको पाईएको छ । गौतम बुद्ध, अंशुवर्मा, सिता, राजा जनक, अरिनिको, रामशाह, अमरसिंह थापा, पृथ्वीनारायण शाह, भानुभक्त आचार्य, भीमसेन थापा, बलभद्र कुंवर, त्रिभुवन शाह, मोतिराम भट्ट, शङ्खधर शाख्वा, पासाङ लामु शेर्पा, महागुरु फाल्गुनन्द, भक्ति थापा र जयवृथ्वीबहादुर सिंहका तस्बिर होडिङमा छापिएका छन् ।

खुला चौरको दुई तिर राखिएको दान सचिवालय बिचमा राष्ट्रिय विभुतीका तस्बिरले भरिएका होडिङ बोर्ड राखिएका छन । हवनकुण्ड बनाइएकाे कैलाश डाडाँमा समेत भित्र पस्ने गेटको दुवै पट्टी विभुतीका तस्बिर अंकित ठुल्ठुला बोर्ड राखिएको छ । मान्छेलाई इमोस्नल ब्ल्याकमेल गर्नलाई मात्र यी बाेर्ड राखिएका हुन् । किनकी कतिपय विभुतीको त यो महायज्ञसंग कुनै सम्बन्ध नै देखिदैन । उनीहरु धार्मिक आस्थाले पनि विल्कुल फरक छन् । धेरै भन्दा धेरै रकम उठाउने आशयले यस्ता बोर्ड राखिएको प्रष्ट हुन्छ ।

बोर्डको छेउमा दान गर्नलाई प्रेरित गर्ने विभिन्न स्किम अंकित ब्यानरसमेत राखिएका छन् । बिजय भण्डारीको यो डिजाईन हेर्दापनि सोझा भक्तजनलाई इमोस्नल ब्ल्याकमेल गर्ने उनको आशय सजिलै बुझ्न सकिन्छ । जे होस महायज्ञमा भण्डारीले विभुतीहरुलाई समेत बाँकी राखेका छैनन् । विभुतीहरुलाई समेत उनले ठग्ने अस्त्रका रुपमा प्रयोग गर्न भ्याए ।

 

यो पनि पढ्नुस् ।

प्रशासनकै नाकमुनी धर्मगुरु भण्डारीको ताण्डव !

६. दान गर्न बाध्य पार्ने दान सचिवालय र तर्साउने नारा
“न भुतकालमा यस्तो महायज्ञ भयो न त भविष्यमा हाम्रो जीवनकालमा हुन सक्ला या नसक्ला” यो नारा पशुपतिनाथ मन्दिर परिसरमा सञ्चालन भइरहेको कोटीहोम महायज्ञको प्रमुख नारा हो । ठुल्ठुला होडिङ बोर्ड बनाएर बोर्डको माथिल्लो भागमा यो नारा लेखिएको छ । यस्ता बोर्ड पशुपति क्षेत्र पस्ने सबै बाटोमा राखिएका छन् । मानसिक रुपमा मानिसहरुलाई तर्साउने, फकाउने अनि लोभ्याउने उद्देश्यले लेखिएका यि नारालाई ब्यालेन्स गर्न भने बोर्डको तल्लो भागमा प्रख्यात कथा बाचकको तस्विर राखिएको छ । अनि बिचमा स्वघोषित महाराज बिजय भण्डारी उर्फ श्री बिजय कृष्णमुर्ती महाराज जी कै तस्बिर छ । यस्ता नारा पशुपति क्षेत्रभित्र जताततै देख्न सकिन्छ ।
यी नारा बाहेक दानपेटिका अनि दान सचिवालय पनि अस्वभाविक रुपमा राखिएका छन् । त्यो देख्दा त झन यो महायज्ञ धर्मका लागि भन्दा पनि चन्दाका लागि आयोजना गरिएको भान हुन्छ ।

पशुपतिनाथको दक्षिण गेटबाट प्रवेश गरेर अगाडी बढ्दै जाँदा अर्काे एउटा गेट आउछ । त्यो गेट प्रवेश गरेको थोरै अघि टेन्ट टाँगिएको छ । जसमा सुरुमै भिआइपी भनेर लेखिएको छ । भिआइपी भएको गेटबाट सर्वसाधारण छिर्न अनुमती छैन । त्यहाँ सेक्रेटी गार्डले पहरे दिइरहेका हुन्छन् । भिआईपिका लागि बनाईएको यो गेटबाट सर्वसाधारणले प्रवेश नपाएपनि गेटमा राखिएको सिसाको दानपेटिकामा दान भने जाेकाहीले बिना रोकटोक चढाउन पाउछन् ।

भिआइपी गेटबाट अल्लि पर सर्वसाधारण प्रवेशका लागि बनाईएको प्रवेशद्धार छ । गेटबाट भित्र पस्नासाथ देबे्र तिर भक्तजनलाई आर्कषण गर्न मानवनिर्मित कैलाश पर्वतमा शिव जि ले ध्यान गरिरहेको मुर्ति राखिएको छ । मेसिन लाएर शिव जिको शिरबाट पानी झारिएको छ । त्यसको ठिक अघिल्तिर ठुलो हल देखिन्छ । ठाउँ ठाउँमा एकैनासका दानपेटिका भरिभराउ छन् । दानपेटिका यति धेरै मात्रामा राखिएको छ कि जता फर्किएर हिड्दा पनि आखाँमा दानपेटिका लेखिएको सिसाको बाकस ठोकिन आइपुग्छन् ।

 

यसले पनि मानिसहरु मानसिक रुपमा दान गर्न बाध्य पारिरहेको स्पस्ट हुन्छ । त्यति मात्र नभएर हलको बाहिर पट्टी दान सचिवालय लेखिएका ठुल्ठुला काउण्टर पनि राखिएका छन् । हरेक काउण्टरमा कर्मचारी हातमा कलम समाएर तम्तयार अवस्थामा बसेका हुन्छन् । ति कर्मचारी आफ्नो हसिलो अनुहारले सर्वसाधारणलाई आफुतिर आर्कषित गरिरहेका हुन्छन् । तिनलाई देख्दा रामायणमा रावणले देवि सितालाई हरण गर्नु पुर्व रामको ध्यान भडकाउन पठाएको मिर्गको घटना याद आउछ ।

कोटीहोममा भक्तजनहरु,स्रोतः मानव सेवा फाउण्डेशन फेसबुक पेज

ठिक पछाडि तुला दान, सालिग्राम दर्शन, कलश दर्शन अनि अन्न दान गर्ने ठाउँ बनाईएको छ । हेर्दा बडो व्यवस्थित यो ठाउँ पनि दानपेटीकाले भरिभराउ छ । यस्ता दृश्य सबै ठाउँममा देख्न सकिन्छ । दान सचिवालय नराखिएको सायद कुनै पनि टेन्ट बाँकी छैन । भित्र पस्दा होस या बाहिर निस्किदा होस जताततै दान पेटिका मात्रै देखिन्छन् ।

यो विषयमा हामीले पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवती रमण अधिकारीलाई पनि सोधेका थियौ । यसरी जहापनि जतिवटा पनि दानपेटिका राख्न पाईन्छ त ? भन्ने हाम्रो प्रश्नमा, उनले भनका थिए, ‘के कसरी सम्झौता भएको छ त्यो मलाई थाहा छैन । एकपटक कागजात हेर्नुपर्छ ।’ तर त्यसको फिल्डमै गएर अनुगमन गर्छु भन्न भने उनले चाहेन्न । न उनले सम्झौता कागजात नै देखाउन माने । आज ६ दिन बित्दा पनि उनले यो विषयमा खासै चासो दिएको देखिदैन । बरु आयोजकको बचाउमा बोल्दै उनले , ठग्ने भन्दा ठगिने दोषि हो भन्ने आसयका तर्क दिएका थिए । उनले भनेका थिए , अगाडि खाल्डो छ भन्ने थाहा पाउदा पाउदै कोही आफै खाल्डोमा हाम फाल्छ भने त्यसको दोष होला नि । महायज्ञमा कोही ठगिन्छन भने पनि हामी केही गर्न सक्दैनौ । हामी त्यसको जिम्मा लिनेछैनौ ।

७. कैलाश डाँडामा लोभ्याउने हवनकुण्ड
लामो समय सर्वसाधारणका लागि प्रवेशमा रोक लगाएर राखिएको कैलाश डाँडा श्री विजय कृष्णमुर्ती महाराज जीले लिजमा लिन सफल भएका छन् । कैलाश डाडाँ पशुपतिनाथ मन्दिरको ठिक शिरमा भएकाले यो ठाउँ भक्तिजनलाई आर्कषण गर्न उपयुक्त हुने कुरामा बिजय भण्डारी विश्वस्त थिए । त्यसैले उनले लामो समय बन्द रहेको कैलाश डाडाँलाई नै एक अस्त्रका रुपमा प्रयोग गरि छाडे ।

कैलाश डाडाँ जाने बाटो गेटदेखि नै गज्जब तरिकाले सजाइएको छ । बाटोको छेउछाउका फलामका रेलिगंमा पलास्टिकका फुल बाक्लो गरि झुण्याइएको छ । बिच–बिचमा विभिन्न देवि देवताका ठूल्ठूला तस्बिर पनि राखिएका छन् ।

माथि पुगेपछि छेउमै दान सचिवालय राखिएको छ । अरु ठाउँमा जस्तै कैलाश डाडाँ पनि दान सचिवालय र दानपेटीकाले भरिभराउ छ । दान दिनेलाई पैसा दिए अनुसारको आकर्षक स्किम समेत राखिएको छ । यस्ता स्किम हवनकुण्डलाई घेरबार गरेको वरिपरी मज्जाले देख्न सकिन्छ ।


कोटीहोमका नाममा पशुपतिनाथलाई श्री बिजय कृष्णमुर्ती महाराजले ठगीको अखडा बनाएका छन् । पशुपति क्षेत्र विकाश कोषले लामो समय देखि प्रयोगमा ल्याउन नसकेको कैलाश डाडाँलाई बिजय भण्डारीले बलियो अस्त्रका रुपमा प्रयोग गरेर देखाएका छन ।

८. महाराजको योजनामा प्रशासनको मौन एक्यबद्धता
फाउण्डेशनका संस्थापक तथा कोटीहोम महायज्ञका संकल्पकर्ता बिजय भण्डारीलाई प्रशासनले समेत छुट दिएको छ । पशुपति क्षेत्र विकास कोषअन्तर्गत पर्ने पशुपति क्षेत्र यो मानव सेवा फाउण्डेशनलाई लिजमा दिदाँ गरिएको सम्झौतासमेत सार्वजनिक गरेको छैन । कोषले फाउण्डेशनसँग गरेको सम्झौता सम्बन्धी बोल्न समेत अस्विकार गरेको छ ।

कोषका सूचना अधिकारी रेवती रमन अधिकारीले सूचना दिने अधिकार नै आफूलाई नभएको बताए । हामीले सुचनाको हक प्रयोग गरेर सूचना माग्दासमेत उनले आफूलाई कोषले यो अधिकार नै नदिएको र आफ्नो नाम सूचना अधिकारीको पदमा जबरजस्ती राखिदिएको समेत भन्न भ्याए । आफूलाई सुचनाबारे कुनै पहुचँ नै नभएको उनले बारम्बार भनिरहेका थिए । ‘मेरो नाम नराख्दिनु भन्दा भन्दै जबरजस्ती राखियो । तर सूचना दिने अधिकार भने मलाई छैन । कोषले त्यसको पहुचँ नै मलाई दिएको छैन । अनि म तपाईलाई सूचना कसरी दिऊँ ?’ उनले उल्टै हामीलाई प्रश्न गरे ।

 

२०७१ भदौ ९ गते अनलाइन खबरमा प्रकाशित समाचार, स्रोतः अनलाइन खबर

 

यो सँगै जिल्ला प्रशासन कार्यालय काठमाडौंले यो विषयमा जानकारी नै नभएको नाटकिय जवाफ दिएको थियो । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले यो विषयमा आफू अनविज्ञ भएको र आफूलाई जानकारी नै नभएको प्रतिक्रिया दिएका थिए । विश्व सम्पदा क्षेत्रमा यति ठुलो कार्यक्रम आयोजना हुनु र आयोजकका बारेमा उनले कुनै खोज अनुसन्धान नगर्नुले कता कता जिल्ला प्रशासनको पनि यो ठगी धन्दामा मौन एक्यबद्धता रहेको कुरा स्पष्ट हुन्छ । होईन भने पटक पटक आफैले खोरमा जाकेको अपराधी ठहर भएर कारागारमा बसिसकेको व्यक्तिले यत्रो कार्यक्रम नाक अघि गर्दा पनि थाहा नहुनु आश्चार्यको विषय हो । अनि मैले ख्याल गरिन भन्ने जवाफ कतिको सान्दर्भिक होला ?

२०८१ श्रावण १४ मा मिडिया कुराकानीले नेपाली मिडियाबारे तयार पारेको एक रिर्पाेट, स्रोतः मिडिया कुराकानी

 

यस विषयमा काठमाडौं प्रहरी परिसरले समेत कही कतै पनि कुनै प्रतिक्रिया दिएको छैन । न त अनुसन्धान गरिरहेको छ भन्ने सुनिएको छ । यो विषयलाई सारा प्रशासनले नजरअन्दाज गरेको देख्दा महाराजको योजनामा प्रशासनको मौन एक्यबद्धता रहेको कुरा सजिलै बुझ्न सकिन्छ । प्रशासनलाई नै चुप लगाउन सक्नु भनेको सानो कुरा पक्कै होईन । कारबाही गर्ने निकायले नै कारबाही गर्दैन भने को बोलोस् । बिजय भण्डारीले प्रशासनलाई पनि अस्त्रका रुपमा प्रयोग गरेको आशंका गर्ने प्रशस्त ठाउँ छन ।

२०६९ भदौ २४ गते प्रकाशित समाचार, स्रोत: कान्तिपुर दैनिक

यसले के देखाउछ भने ठुल—ठुला अपराधमा राज्य स्वयम लागि परेको हुन्छ ! बिजय भण्डारीको पुर्नागमन सानो योजनाले पक्कै भएको होईन । न त उनले मात्र चाहेर यो सम्भव भएको हो । उनले उच्च राजनीतिक नेतृत्व देखि प्रशासन सबैलाई आफ्नो योजनामा सामेल गराएका छन् । अब यसलाई अख्तियार अनुसन्धार आयोगले भने अनुसन्धान गर्छ या नजरअन्दाज गरेर गुरुकै अस्त्रका रुपमा प्रयोग हुन्छ, त्यो आगामी दिनले बताउला ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतसँग महाराज, स्रोतः बालकृष्ण बस्नेतकाे फेसबुक पेज

९. बलियालाई मान चर्चितलाई सम्मान
पहिला पहिला उनको योजनामा स्थानीय, जिल्लास्तरिय नेतालाई, धार्मिक संगठन, विभिन्न युवासंगठनलाई सहभागी गराउदै आएका थिए । यस पटक भने उनले पर्यटन तथा सांस्कृतिक मन्त्रालय, पशुपति क्षेत्र विकास कोष, जिल्ला प्रशासन, प्रहरी प्रशासन केन्द्रस्तरका नेतालाई समेत समेटेका छन् । यो उनको सबै भन्दा बलियो अस्त्र भनेर पनि बुझ्न सकिन्छ । सोमबार मात्रै कोटीहोम महायज्ञमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल सहभागी भएका थिए । उनलाई कार्यक्रममा संक्षिप्त सम्बोधन समेत गर्ने अवसर दिईएको थियो ।

पूर्व प्रधानमन्त्री एवं एकीकृत समाजवादी पार्टी अध्यक्ष माधव कुमार नेपाल, स्रोतः मानव सेवा फाउण्डेशन फेसबुक पेज

कोटीहोम महायज्ञमा राजनीतिक दलका शीर्ष नेतादेखि पत्रकार र कलाकारहरुको समेत बाक्लो उपस्थिति रहँदै आएको छ । गत सोमबार नायक निखिल उप्रेतीले समेत कार्यक्रममा बोल्ने अवसर पाएका थिए ।

अभिनेता पल शाह, स्रोतः मानव सेवा फाउण्डेशन फेसबुक पेज

केही समय कारागारको हावा चाखेका नायक पल शाहलाई पनि महायज्ञको आर्कषण बनाईएको थियो । यि त केही प्रतिनिधि नाम मात्र हुन् । यस्ता नामको लिस्ट बनाउने हो भने लामै छ । अझै थपिने क्रम जारी नै छ ।

गायक रामकृष्ण ढकाल, स्रोतः मानव सेवा फाउण्डेशनको फेसबुक पेज

 

सेलिब्रेटी, नेता, पत्रकार सबैलाई फुल, दुबो को माला अनि सम्मान पत्र भिराएर, हात हल्लाउन अनि दुई शब्द राख्न दिएर बिजय भण्डारीले अस्त्रका रुपमा यि सबैलाई प्रयोग गरिरहेका छन् ।  अनि बिजय भण्डारीकाे अस्त्रकाे रूपमा प्रयाेग भैरहेका व्यक्ती , संस्था लगायत निर्दाेषहरूले पनि ख्याल गर्न जरूरी छ ।  विश्व सम्पदा क्षेत्र जस्ताे  ठाउँमा भाेली महायज्ञकै माध्यमले काेही ठगिए  भने यसले अन्तराष्ट्रिय जगतमा कस्ताे सन्देश जाला ? याे कुरामा पनि ध्यान दिने की ?

 

माथिको कुराबाट के प्रष्ट हुन्छ भने बिजय भण्डारीको विशाल ठगी योजना सफल पार्न उनले राम्रै तयारी गरेको बुझ्न सकिन्छ । उनले आफ्नो योजना फेल गर्न सक्ने सम्भावित सबै क्षेत्रका नामीहरुलाई यो ठगी धन्दाको हिस्सा बनाउन सफल भएका छन् । चार वर्ष पहिले यिनै गुरुका समाचार लेखेर गुरुलाई पक्राउ गर्न दबाब सृजना गर्ने सञ्चारगृहले समेत अहिले महायज्ञको तारिफ गर्दै प्रचार गरिरहेका छन् । जे होस गुरु जीले गज्जबकै प्रवचन सुनाए जस्तो छ । यसका लागि गुरुले लामै गृहकार्य गरेर आएको हुनुपर्छ ।

खैर जे होस बिजय भण्डारी उर्फ श्री बिजय कृष्णमुर्ती महाराज जीले यो पटक भने गतिलै अनुसन्धान गरेर पुर्नागमन गरेको पाईयो । उनले प्रयोग गरेका अस्त्र पनि गज्जबकै छन् । रमिता हेरेर बस्ने प्रशासनले भोली महायज्ञको बहानामा कोही ठगिए भने पिडितलाई दिने जवाफ के होला ? यो चाही बिचार गर्नुपर्ने कुरा हो ।

यो पनि पढ्नुस् ।

ठगी अभियुक्त धर्मगुरुको समाचार रोक्न दियोपोस्टलाई दबाव, कार्यालयमा शंकाष्पद व्यक्ति

यस समाचार सम्बन्धित  भिडियाे रिपाेर्ट हेर्नकाे लागि तलकाे लिंकहरूमा क्लिक गर्नुहाेस् 

१. ठगी आरोपमा पटक पटक जेल बसेका धर्मगुरु भण्डारीद्वारा पशुपतिमा ‘कोटीहोम’ ! ( भिडियाे रिपाेर्ट )

२. धर्मकाे खाेल ओढेर ठगी धन्दा चलाउने धर्म गुरू श्री बिजय कृष्णमुर्ती महाराज ! ( भिडियाे रिपाेर्ट )

 

३.ठगी अभियुक्त धर्मगुरुको समाचार रोक्न दियोपोस्टलाई दबाव, कार्यालयमा शंकाष्पद व्यक्ति ( भिडियाे रिपाेर्ट )

४.पशुपति मन्दिर परिसरमा ‘महाठग’ धर्मगुरुको शंकास्पद गतिविधि, सरकारी निकायको रहस्यमयी मौनता । ( भिडियाे रिपाेर्ट )

५.अनाथका लागि पशुपतिमा कोटिहोम चलाउने ‘ठग महाराज’ले पत्नि र छोरा ‘बिचल्ली’ बनाएको खुलाशा ! ( भिडियाे रिपाेर्ट )

५.काेटीहाेममा कुटिएका पत्रकारकाे भिडियाे बयान : ‘मलाई पशुपतिमा छिनाल्छु भन्थे’