भन्सार कार्यालयकै मिलेमतोमा बिवाईडी गाडीको किलोवाट घटाएर २ अर्बभन्दा बढी भन्सार छली (प्रमाणसहित)

दियोपोस्ट संवाददाता  

काठमाडौं । चिनियाँ ब्राण्डको बिवाईडी गाडी नेपालका लागि आधिकारीक विक्रेता साइमेक्स इंकले किलोवाट घटाएर भन्सार छली गरेको प्रमाण भेटिएको छ । नेपाल चीन सिमा नाका रसुवा भन्सार कार्यालयसँगको सेटिङमा भंसारको कोड परिवर्तन गरि १ सय ५० किलोवाट क्षमताको बिवाईडी एट्टो थ्री नामक गाडीलाई १ सय किलोवाट भन्दा कम क्षमता देखाई भन्सार छली गरिएको भेटिएको हो ।

दियोपोस्टलाई प्राप्त प्रमाण अनुसार रसुवा भन्सार कार्यालयबाट साइमेक्स इंकले १ सय ५० किलोवाट क्षमता रहेको बिवाईडी एट्टो थ्री नामक गाडीलाई ५१ किलोवाटदेखि १०० किलोवाटसम्मको भनि भन्सार शुल्क बुझाएको छ । जबकी बिवाईडी एट्टो थ्री उत्पादक कम्पनिको क्याटालगमा भने उक्त गाडी १ सय ५० किलोवाट रहेको उल्लेख छ । नेपाल भित्रने वित्तिकै उक्त गाडीको किलोवाट रहस्यमयी रुपमा घटाउने कार्यमा रसुवास्थित भन्सारकार्यालयका कर्मचारीको समेत मिलेमतो देखिन्छ ।


आर्थिक ऐन २०८० ले विद्युतिय सवारी साधनहरुले पिक आवरको आधारमा पैठारी भएका मोटर पिक आवर ५० देखि १ सय किलोवाटसम्म भएमा भन्सार उपशिर्षक ८७०३.५९ (अन्य), ८७०३.८०.२१ (अनएसेम्बल),८७०३.८०.२९ (अन्य) बाट जाचपास गरि १५ प्रतिशत भन्सार महशुल १० प्रतिशत अन्तशुल्क र मुल्य अभिवृद्धि कर लगाउनुपर्ने व्यवस्था छ । त्यस्तै १ सय देखि २०० किलोवाट भएमा भन्सारउ पशिर्षक ८७०३.८०.६९ बाट जाँचपास गरि २० प्रतिशत भन्सारमहशुल, २० प्रतिशत अन्तशुल्क र मूल्यअभिवृद्धि कर लगाउनुपर्ने व्यवस्था छ ।

रसुवा भन्सारकार्यालय र तातोपानी भन्सारकार्यालयले नेपाल भित्रने विधुतिय सवारी साधनको प्राविधिक जाँचपास समेत नगरी पठारीको अनुमति दिएको महालेखा परिक्षकको कार्यालयको समेत ठहर छ । नेपाल भित्रिएका बिवाईडी गाडीको प्राविधिकबाट परिक्षण समेत नगराई स्वतन्त्र जाँचकीबाट पुष्टि गर्ने टेष्ट रिपोर्ट समेत संलग्न नै नगराई नेपाल भित्रिई रहेको महालेखाकै प्रतिवेदनले खुलाशा गरेको छ ।


बिवाईडीले अन्य देशमा निर्यात गर्दा भने सोही बिवाईडी एट्टो ३ गाडीको १ सय देखि २ सय किलोवाटसम्म रहेको वेभसाइटमै रहेको महालेखाको प्रतिवेदनले जनाएको छ । तथापी रसुवा र तातोपानी नाकाबाट पैठारी भएका विद्युतिय सवारी साधनहरुको ५० देखि एकसयसम्म किलावाट उल्लेख गरि भन्सार जाँचपास भइरहेको भएपनि कुनैपनि निकायबाट कारबाही भने अघि बढेको छैन ।

बिवाईडीले रसुवा भन्सारकार्यालयबाट भन्सारउपशिर्षक ८७०३.८०.६९ बाट जाँच पास गरी २० प्रतिशत भन्सारमहशुल, २० प्रतिशत अन्तशुल्क र मुल्य अभिवृद्धि कर असुल गर्नुपर्नेमा भन्सारकार्यालयले उन्मुक्ति दिएको महालेखा परिक्षक कार्यालयको ठहर छ ।

रसुवा भन्सारकार्यालयबाट मात्रै विद्युतीय सवारी साधनले किलोवाट किर्ते गरेर २ अर्ब ७४ करोड १८ लाख ९९ हजार रुपैयाँ असुल नगरी उन्मुक्ति दिएको महालेखा परिक्षक कार्यालयले जनाएको छ ।

त्यस्तै नेपाल चीनको अर्को नाका तातोपानी भन्सारकार्यालयबाट १ अर्ब ३ करोड २५ लाख २० हजार समेत गरि कुल ३ अर्ब ७७ करोड ४४ लाख १९ हजार महशुल तथा कर छुट पाएकाले छानबीन हुनुपर्ने महालेखा परिक्षकको ठहर छ ।

नेपालमा सर्वाधिक विक्री हुने यो गाडी कम्पनिकी मालिक यमुना श्रेष्ठ हुन् । स्रोतका अनुसार तत्कालिन अर्थमन्त्री, मन्त्री र सरकारकै अधिकारीहरुलाई विभिन्न माध्यमबाट गाडी नै उपहार दिएर भंसारको सेटिङ मिलाइएको थियो । भन्सारविभागले छापा नै हानेको समाचार समेत सार्वजनिक भएको थियो । तर, विभागले वर्षदिन बितिसक्दा समेत कुनै ठोस कारबाही गरेको छैन ।

महालेखाले निकालेको बेरुजुको विषयमा बृहत छलफल हुन्छ : प्रवक्ता भन्सार विभाग

यता भन्सार विभागका प्रवक्ता किशोर बर्तौलाले भने महालेखा परिक्षकले यातयात व्यवस्था विभागको नाममा देखाउनुपर्ने बेरुजु भन्सारविभागको नाममा देखाएको आरोप लगाए । ‘यातयात विभागले सम्पूर्ण कागजात भेरिफाई गरेपछि मात्रै भन्सारविभागले हेर्ने हो,’ उनले भने, ‘महालेखाले निकालेको बेरुजुको विषयमा व्यापक छलफल भएको छ ।’
उनले भन्सारविभागसँग किलोवाट नाप्ने यन्त्र नभएकाले समस्या भएको बताए । तर, कम्पनिले बनाएको क्याटलगमै उल्लेख भएको किलोवाटबारे किन नाप्ने यन्त्र चाहियो र ? भन्ने दियोपोस्टको प्रश्नमा उनले भने,“अनलाइनमै आएको विषय कसरी हामीले मान्न सक्छौँ र ?”

उनले सवारी साधन आयातमा यातयात व्यवस्था विभाग र वाणिज्य विभागको समेत भूमिका हुने बताए ।

 

भन्सार छलीको विषयमा प्रतिक्रियाका लागि कम्पनिका प्रतिनिधिसँग सम्पर्क गर्दा आफूहरुलाई केही पनि थाहा नभएको बताइन् ।