बंगलादेशको हिंसा नियन्त्रण बाहिर, चार जनाको मृत्यु

दियोपोस्ट संवाददाता  

काठमाडौँ । बंगलादेशस्थित निर्वासित प्रधानमन्त्री शेख हसिनाको गृहनगर गोपालगन्जमा हिंसा भड्किएको छ। बंगलादेशमा गत वर्षको विद्यार्थी आन्दोलनपछि उदाएको नेशनल सिटिजन पार्टी (एनसिपी) को र्‍यालीका क्रममा बुधबार हिंसा भड्किएको हो।

हिंसा अनियन्त्रित भएपछि प्रहरीले गोली चलाएको र गोली लागेर कम्तिमा चार जनाको मृत्यु भएको बंगलादेशका संचार माध्यमले जनाएका छन् । मृत्यु हुनेहरूमा दिप्तो साह, रमजन काजी, सोहेल र इमोन नाम गरेका व्यक्तिहरू छन् । उनीहरू सबै गोपालगन्जका हुन्।

घटनामा १३ जना घाइते भएका छन्। गोपालगन्ज अस्पतालका सुपरिटेन्डेन्ट जिबितेश विश्वासका अनुसार दिप्तो र रमजनलाई साँझ साढे ६ बजे गोली लागेर मृत्यु भएको अवस्थामा अस्पताल पुर्‍याइएको थियो। गोली लागेको अरू ८ जना घाइतेहरूलाई उपचार भइरहेको पनि बताइएको छ ।

बंगलादेशकै समाचार संस्था प्रोथोमालोका अनुसार दिउँसो २ः४५ बजे स्थिति अनियन्त्रित हुँदै झडपमा परिणत भएको थियो।

अवामी लिगका समर्थकहरूले र्‍यालीमा सहभागी नेताहरूलाई आक्रमण गर्न थालेपछि त्यहाँ उपस्थित प्रहरी र र्‍यालीमा सहभागीहरुले अवामी लिगका समर्थकहरूलाई लखेटेका थिए । एनसिपी नेता नहिद इस्लामले आफूहरूलाई मार्ने उद्धेश्यले आक्रमण गरिएको बताए ।

बंगलादेशमा विद्यार्थी आन्दोलन सफल भएको एक वर्ष पुगेको अवसरमा एनसिपीले जुलाई एक देखि नै विभिन्न सहरहरूमा उत्सव मनाउँदै आएको थियो । गोपालगन्जमा हसिनाकै पार्टी अल अवामीका समर्थकहरुले एनसिपीको र्‍यालीमा अवरोध पुर्‍याउने प्रयत्न गरेपछि हिंसा भड्किएको बंगलादेशी मिडियाहरूले बताएका छन् ।

बंगलादेशबाट प्रकाशन हुने अनलाइन न्युज पोर्टल द डेली स्टारका अनुसार बुधबार अवामी लिगका झन्डै २ सय समर्थकहरू घरेलु हतियारसहित गोपालगन्जमा एनसिपीको कार्यक्रमस्थल नजिकै भेला भएका थिए।

त्यहाँ उनीहरूले कुर्सी र मञ्च तोडफोड गरेका थिए। पौरा पार्कमा कार्यक्रमका लागि बनाइएको मञ्च तोडफोड भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास पनि प्रहार गरेको थियो । घटनापछि गोपालगन्जमा कर्फ्यु आदेश जारी गरिएको थियो। कर्फ्यु आज बेलुकी ६ बजेसम्म जारी रहने द डेली स्टारले जनाएको छ ।

सिफारिस