काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको संयुक्त राष्ट्र संघको कार्यक्रममा सहभागी गराउने भन्दै मानव तस्करी गर्ने गिरोहमाथि अनुसन्धान शुरु भएको छ । प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो (सीआईबी)का एसएसपी होबिन्द्र बोगटीको नेतृत्वको टोलीले विभिन्न स्थानमा छापा समेत मारेको छ ।
संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्त (फाइनान्सिङ अफ डेभलपमेन्ट) को चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा सहभागी गराउने भन्दै यो गिरोहले संयुक्त राष्ट्र संघ, नेपाल सरकारको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय, बैंक तथा वित्तिय संस्थाको नक्कली स्टेटमेन्ट र भिजिट भिषाामा चाहिने सम्पूर्ण कागजात समेत बनाउने गरेको खुलेको छ ।

त्यतिमात्रै होइन प्रधानमन्त्री सहभागी हुने एयरलाइन्स, विमानस्थलको अध्यागमन, बिएलएस (स्पेन भिषा एप्लिकेसन सेन्टर), भिएफस समेतमा यो गिरोहको साँठगाँठ देखिएको छ । ३० जुनदेखि २ जुलाई २०२५ सम्म चलेको सम्मेलनमा सहभागी गराउने नाममा मानव तस्करी गर्ने समुहले प्रतिव्यक्ति १५ लाख रुपैयाँ लिएर स्पेनसहितका मूलुकमा युवाहरुलाई पठाउने गरेको भेटिएको थियो ।
काठमाडौंको महाराजगंजमा कार्यालय रहेको भनिएपनि हालसम्म कार्यालयको ठेगाना समेत गोप्य राखिएको भिजिट एब्रोड ट्राभल्स समेत अनुसन्धानमा तानिएको छ । यो कम्पनिका संचालकहरु हिमाल अधिकारी र उनका आफन्त संचालक हेमन्त भट्टराईले भिजिट भिषामा युरोप लगायत सेन्जिन मुलुकहरुमा मुलुकमा नक्कली कागजात बनाई मोटो रकम असुलेर पठाउने गरेको थियो ।
यो समूहले आफ्नो कार्यालय काठमाडौ महाराजगंज चक्रपथ अमेरिकी दूतावासको आसपासमा र चक्रपथ नारायण गोपाल चोकमा एरियाको भित्री स्थानमा देखाउँदै नक्कली कागजात बनाउने गरेको खुलेको छ ।
मोटो रकम दिन सक्ने मानिसहरु विशेष गरी मङ्गोलियन अनुहार भएका तिब्बतियन मूलका, लामा, शेर्पा, काभ्रे, सोलुखुम्बु बसोबास गर्ने व्यक्तिहरुलाई यो गिरोहले युरोपियन मूलुकमा पठाउने गरेकाे छ। हाल प्रधानमन्त्री सहभागी भएको कार्यक्रमका नाममा स्पेन पुगेकाहरुको सुचीमा यो समुहको १० जना भन्दा बढी रहेको स्रोतले जनाएको छ । भिजिट भिषाका लागि आवश्यक बैंक मौज्दात रकम विवरण, कम्पनि र विदेशबाट पठाईने निमन्त्रणा पत्र फोटोसपबाटै तयार पार्ने गरिएको छ । स्पेनबाट दियोपोस्टको सम्पर्कमा आएका एक व्यक्तिका अनुसार यो धन्दामा ठूलो गिरोह संलग्न छ ।
भिजिट एब्रोड ट्राभल्सको नम्बरमा सम्पर्क गर्दा फोन उठाउने व्यक्तिले आफू हिमाल अधिकारी रहेको बताएका थिए । उनले आफूहरुको कार्यालय महाराजगन्ज रहेको बताए । भिजिट भिषामा मानव ओसार पोसार गरेको र प्रधानमन्त्रीसँगै स्पेन मानिसहरु पठाएको विषयमा प्रश्न गर्दा उनले यो नम्बर कसले दिएको ? भन्दै प्रति प्रश्न गरे ।
त्यसको केही समयपछि वेभसाइट समेत बन्द गरिदिए । प्रहरी उच्च स्रोतका अनुसार प्रहरीले यो कम्पनिमा छापा मारेको छ । ल्याप्टप लगायतका कागजात समेत नियन्त्रणमा लिएर अनुसन्धान जारी छ । ‘अनुसन्धानमा भएको विषय अहिले भन्न मिल्दैन । अहिले ल्याप्टप लगायत सामग्री नियन्त्रणमा लिएका छौँ,’ ती अधिकारीले भने ।
अमेरिकामा प्रतिबन्धित छन् हिमाल अधिकारी
कम्पनिका संचालक हिमाल अधिकारीलाई अमेरिकाले प्रतिबन्ध लगाएको उनी निकट स्रोतले बताएको छ । अमेरिकी अध्यागमन कानुन उलङ्घन गरि विभिन्न नक्कली कागजात तयार पारेका कारण उनी र उनकी श्रीमतिलाई समेत अमेरिकामा प्रतिबन्ध लागेको हो । त्यस्तै दक्षिण अमेरिका र कोरियाले पनि उनको गतिविधिलाई कारण देखाउँदै प्रतिबन्ध लगाएका छन ।

विराटनगर घर भएका अधिकारी काठमाडौंको हात्तिगौँडा बस्छन् । विगत १२ वर्षदेखिअमेरिका लगायत विभिन्न युराेपियन मुलुकहरूमा हुने अन्तर्राष्ट्रिय कार्यक्रम, व्यापार मेला, सम्मेलनमा फर्जी कागजात मार्फत मानव ओसारपोसार, मानव तस्करी गर्दै आरोप उनीमाथि छ ।
यो समुहसँग साँठगाँठ रहेका खड्का पक्राउ
यो समुहसँग अति निकट सम्बन्ध रहेका झापा धरमपुर घर भएका ५२ वर्षिय सफराज खड्का पक्राउ परेका छन् । उनले विभिन्न गैरसरकारी संस्था, अदालत, शैक्षिक संस्था, बैंक वित्तिय संस्थाका कागजातहरु नक्कली बनाएको अनुसन्धानमा खुलेपछि ३१ असारमा उनलाई प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीले नियन्त्रणमा लिएको हो । उनको साथबाट सिआइबीले सीटीभीटी, उच्च माध्यमिक शिक्षा परिषद (एचएसइबि), परिक्षा नियन्त्रण कार्यालयको होलोग्राम समेत फेला परेको थियो । बैंकहरुको रबरस्ट्याम्प र शैक्षिक संस्थाको प्रमाणपत्र समेत बरामद भएको छ ।