विदेशबाट आएका नेपालीमाथि विमानस्थल भन्सारको ज्यादती : चाउचाउ र थोत्रा लुगाफाटो समेत जफत !

दियोपोस्ट संवाददाता

काठमाडौं । विभिन्न मुलुकमा रोजगारी गरि फर्कने नेपालीहरुमाथि विमानस्थल भन्सार कार्यालयको ज्यादती बढ्दो छ । हङकङबाट नेपाल आएका केही नेपालीले लगाउँदै आएको लुगा, चाउचाउ र जुससहित सुटकेस समेत विमानस्थल भन्सार कार्यालयका कर्मचारीले जफत गरेका छन् ।

दियोपोस्टलाई प्राप्त तस्विर अनुसार भन्सारका कर्मचारीले जफत गरेको सुटकेस भित्र केही फेर्ने कपडा, केही पोका चाउचाउ र जुस छन् । तर, भन्सारका कर्मचारीले यस्ता सुटकेस समेत जफत गरेर राख्ने गरेको तथ्य भेटिएको हो ।

साउन ६ गते हङकङबाट आएका तुलसी भुसालको सुटकेस भन्सारका कर्मचारीले जफत गरेका छन् । उक्त सुटकेशलाई व्यापारीक प्रयोजनमा ल्याइएको भन्दै रसिद दिइएको छ । त्यस्तै हङकङबाटै आएका किरन राईको पनि सोहीदिन अन्य व्यक्तिले पठाएको पार्सल लिएर आएको भन्दै सुटकेस जफत गरिएको छ ।

‘पैसा तिरेर आफ्नो सामान लैजान्छु भन्दा पनि जफत गरियो । कर्मचारीले हाम्रा पुराना लुगाफाटो समेत नियन्त्रणमा लिएका छन्,’ विमानस्थल भन्सार कार्यालयमा भोगेको अनुभाव सुनाउँदै एक नेपालीले भने,‘यो सामान अब लिलामी प्रक्रियामा जान्छ भन्दै हामीलाई पठाइयो ।’

किरन राईका अनुसार उनको एउटा म्याकबुक र २ वटा साना झोला भन्सार कर्मचारीले नियन्त्रणमा लिएका छन् । त्यस्तै भुसालको २ वटा म्याकबुक र एउटा फोन तथा एउटा जेब्रा झोला भन्सार कर्मचारीले नियन्त्रणमा लिएका छन् ।

विमानस्थल भन्सार कार्यालयका सुचना अधिकारी घिमिरेको वेभसाइटमा उल्लेखित नम्बरमा फोन गर्दा उनको मोबाइल अफ छ ।

यता भन्सार विभागका सुचना अधिकारी किशोर बर्तौलालाई सम्पर्क गर्दा उनले त्यस्तो नहुनुपर्ने हो भन्दै आश्चर्य व्यक्त गरे । तर, एकै व्यक्ति धेरै पटक ओहोर दोहोर गरेको छ भने व्यापारीक प्रयोजनका लागि ल्याइएको भनि जफत गर्ने गरिएको उनको दाबी छ ।

यता जफत गरिएका राई र भुसालले भने आफूहरु पहिलो पटक आएको बताएका छन् ।

सम्बन्धित खबर