
काठमाडौं । सामाजिक सद्भावमा देखिएको चुनौतीलाई मध्यनजर गर्दै प्रमुख नौ राजनीतिक दलले केन्द्रमा सीमित छलफललाई सुनसरीलगायत विभिन्न जिल्लामा विस्तार गर्ने भएका छन् । दलहरूले प्रदेश, जिल्ला र स्थानीय तहसम्म सर्वदलीय तथा सर्वपक्षीय संवाद अभियान सञ्चालन गर्ने निर्णय गरेका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको सर्वदलीय बैठकले स्थानीय तहमा संवाद र सहकार्य बढाएर सम्भावित तनाव न्यूनीकरण गर्ने निष्कर्ष निकालेको हो ।
बैठकपछि जारी संयुक्त वक्तव्यअनुसार अब प्रत्येक तहमा राजनीतिक दल, स्थानीय प्रशासन, नागरिक समाज तथा धार्मिक अगुवालाई सहभागी गराई नियमित छलफल अघि बढाइनेछ । दलहरूको विश्वास छ कि स्थानीय स्तरमै संवादको वातावरण बने सामाजिक सद्भाव कायम राख्न र नागरिकबिचको विश्वास बलियो बनाउन सहज हुनेछ ।
वक्तव्यमा शान्ति र सद्भाव कायम राख्ने जिम्मेवारी केन्द्र सरकारको मात्र नभई प्रदेश, जिल्ला र स्थानीय तहको पनि भएकाले सबै संरचनालाई सक्रिय बनाउन सम्बन्धित पार्टी संगठनलाई निर्देशन दिने निर्णय गरिएको उल्लेख छ।