ज्वालामुखिका वडाध्यक्षद्वारा इन्जिनियरमाथि दुर्वयबहार : ‘मधिसे, धोती मु…’ भन्दै आक्रमण !

दियोपोस्ट संवाददाता

दियोपोस्ट संवाददाता


धादिङ, असार १६। धादिङको ज्वालामुखी गाउँपालिका– २ का वडाध्यक्ष रणबहादुर शाहीले भूकम्पपीडितको सर्वेक्षण गर्न आएका इन्जिनियरमाथि कुटपीट तथा अभद्र व्यबहार गरेको आरोप लागेको छ ।

सर्वेक्षणका लागि ज्वालामुखी २ मैदी पुगेका ईन्जिनियरहरु सुर्य विक्रम बोहोरा, राजाबाबु सिन्हा र शंकर यादवलाई कुटपीट गरेको पीडितले दियोपोस्टलाई जानकारी दिए ।

‘हामीमाथि कुटपीट र दुव्र्यबहार भएको हो । यस विषयमा हामीले हाम्रै निकायमा उजुरी पनि गरेका छौँ,’ पीडित सुर्यविक्रम बोहोराले भने,‘म त पहाडी समुदायको प्रतिनिधित्व गर्ने व्यक्ति हुँ । मलाई फाइलले हान्नु भयो । मधेसी समुदायका साथीहरुलाई जातिय रुपमा गाली गलौज र दुव्र्यबहार गरियो ।’

अर्का पीडित इन्जिनियर राजाबाबु सिन्हाले आफूहरुलाई वडाध्यक्ष शाहीले जातिय रुपमा गाली गलौज गरेको बताए ।

उनका अनुसार उनीहरुमाथि यही असार १२ गते दुर्वयबहार भएको थियो ।

‘मधेसे, धोती र मु…’ भन्दै गाली गरियो : राजाबाबु सिन्हा


म तराईबाट आएको मान्छे हुँ । मेरो घर सिराहा हो । वार्षिक भत्तका लागि प्रतिवेदन बुझाउनु थियो । वर्षभरीको काम कति गरियो भनेर रिपोर्ट बुझाउनु पर्ने थियो । छुट सर्वेको काम चलिरहेको थियो ।

१० वजे वार्षिक प्रतिवेदन बुझाई सक्नु पर्ने थियो । सर्वेक्षणमा १०÷१२ घर बाँकी थियो । हामी ३ जनामध्ये २ जनाको फाइलमा वडाध्यक्षले हस्ताक्षेर गरिसक्नु भएको थियो । हामीलाई बाँकी काम सकेर आउनु भन्नु भयो ।

हामीले सोही अनुसार फाइल तयार पारेर उहाँकोमा पुग्यौँ । त्यसपछि उहाँले ‘तपाईंहरु कामै गर्नुहुन्न’ भन्दै गाली गर्न थाल्नु भयो । सुर्य विक्रम बोहोराको फाइल बाँकी थियो । त्यही क्रममा सर्वे गर्न मान्छेहरु आउनु भयो ।

हामीले यो फाइलको काम सकाएर सर्वे गर्छौं भनेका थियौँ । त्यतिकैमा उहाँले हाम्रो रुम सर्च गर्नु भयो । तिमीहरु काम गर्दैनौ भन्दै सुर्य विक्रम बोहोरा सरलाई फाइलले मुखमा हान्नु भयो । हामी तराई बासी म र शंकर यादवलाई ‘मधिसे, धोती मु…’ भन्दै गाली गर्न थाल्नु भयो । हामीलाई भौतिक आक्रमण गर्न खोजेको अभियोगमा उजुरी गरेका छौँ ।

यस्तो घटना मैले जीन्दगीमा कहिले पनि देखेको थिइनँ । हामीले यो घटना मिल्ने साथीहरुलाई शेयर गरेर हामीले सबै सर्वे सकायौँ ।

वडा अध्यक्ष भन्छन्, ‘ईन्जिनियरले लाभग्राहीसँग घुस लिएको पाईयो’


वडा अध्यक्ष रणबहादुर शाही भने ईन्जिनियरहरुले काम नगरेको भएर आफू आवेगमा आएको बताए । उनले ईन्जिनियर सुर्य विक्रम बोहोरा त झनै अहिलेसम्म नदेखिएको र चोर काम गरेको बताए । गाउँका केही व्यक्तिसँग बढि रकम लिएको समेत खुल्न आएको वडा अध्यक्ष शाहीको भनाई छ ।

शाहीले दियो पोष्टसँग भने–‘बोहोराले कामै गरेको छैन । मैले उनको कागजातमा हस्ताक्षर गर्न नमानेकै हो । बोहोरा सहित ३ जनाले केही व्यक्तिसँग पैसा लिएर अन्दाजको भरमा घर नक्सा पास गरेको पाईयो । प्रमाण ल्याउनुपर्छ भने म ल्याउन तयार छु । उनीहरु भ्रष्ट इन्जिनियर हुन् । लाभग्राहीहरुलाई दुःख दिने अनि पैसा पाएपछि काम गरिदिने भएको भएर मैले कागजातमा सहि गर्न नमानेको हुँ’

शाही नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुन् । यसअघि पनि उनी निर्वाचित गाउँमा भोट माग्न जाँदा दलितले भोट नदिए पानी छुन नदिने भन्दै दलित समूदायलाई धम्की दिएका थिए ।

सम्बन्धित खबर