दियोपोस्ट संवाददाता
कास्की, १६ असार । ५ करोडभन्दा बढी रकम ठगी गर्ने विपेन्द्र राज बतासलाई प्रहरीले खोजी कार्य जारी राखेपनि हालसम्म पक्राउ गर्न भने सकेको छैन ।
उच्च राजनीतिक व्यक्तिसँग हिमचिम भएका बतासका दाजु भाई नै मिलेर पोखरा लेकसाइडका जनक पहारी र दाल प्रसाद श्रेष्ठलाई होटल सिम्रिक विक्रि गर्ने बहानामा ४ करोड २३ लाख रुपैयाँ ठगी गरेका थिए । उनले ठगी गरेको सम्पति भने आफ्नै दाजु शान्तराज बतासको नाममा राखेको खुलाशा भएको छ । ‘हामीलाई ठगी गरेको सम्पत्ति उनका दाजु शान्तराज बतासको नाममा राखिएको छ,’ पीडित पहारीले भने,‘उहाँमाथि प्रहरीले छानबीन गरेको छैन । उनीमाथि पनि छानबीन गर्नुपर्छ ।’
पीडितहरुले गत गत वैशाख २ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा ठगीको जाहेरी दर्ता गराएका थिए । ठगीको जाहेरी दर्ता भएपछि कास्की जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो तर, जारी भएको ३ महिना वित्न लाग्दा पनि उनी पक्राउ परेका छैनन् ।
बतास कम्पनिका बोर्ड सदस्य समेत रहेका शान्तराज बतास भने खुलमखुल्ला हिँडिरहेका छन् ।
विपेन्द्रराज बतासले माग उच्च अदालतद्वारा खारेज
जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालत कास्कीले विपेन्द्रराज विरुद्ध ठगी आरोपमा कारबाही थालेपछि त्यस विरद्ध निषेधाज्ञा र परमादेश माग गर्दै उनी उच्च अदालत पोखरा पुगेका थिए । तर, उच्च अदालत पोखराले बतासको रिट निवेदन नै खारेज गरिदिएको छ ।
गत असार ८ गते उच्च अदालत पोखराले विपेन्द्र राज बतासको रिट नै खारेज गरिदिएको हो ।