त्रिपुरासुन्दरी गाउँपालिकामा अर्को भ्रष्टाचार : रु १० लाख ‘गोलमाल’ पार्न किर्ते माइन्युट खडा !

त्रिपुरासुन्दरी गाउँपालिकामा अर्को भ्रष्टाचार : रु १० लाख ‘गोलमाल’ पार्न किर्ते माइन्युट खडा !

दियोपोस्ट संवाददाता


धादिङ, २४ असार । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ७ मा सडक ग्रावेलको लागि छुट्याइएको १० लाख रुपैयाँमा चरम अनियमितता भएको पाइएको छ । वडा नम्बर ७ ले साविक त्रिपुरेश्वर ४ मा पर्ने खहरे–सेराबेशी सडक ग्रावेलको लागि छुट्याएको १० लाख रुपैयाँमा चरम भ्रष्टाचार भएको पाइएको हो । रकम निकाल्नका लागि स्थानियबासीको नक्कली हस्ताक्षेर गरेको समेत खुलाशा भएको छ ।


आर्थिक वर्ष २०७५/७६ मा वडा कार्यालयबाट विनियोजन गरिएको १० लाख रुपैयाँ अनियमितता गर्नका लागि ‘कोठामा बसेर’ बाटोको समिति बनाइएइको समेत खुलाशा भएको छ ।


दियोपोस्टलाई प्राप्त प्रमाण अनुसार मिति २०७५ पुस १२ गते बाटो समिति निर्माण गर्नका लागि बैठक डाकिएको माइन्युटमा उल्लेख छ । उक्त माइन्युटमा वडाध्यक्ष देवराज धरेलकै अधयक्षतामा बैठक राखिएको थियो । उनकै अध्यक्षमा बसेको बैठकले खहरे–सेराबेशी सडक ग्रावेलका लागि उपभोक्ता समिति निर्माण गरेको थियो । धरेलले उक्त समितिको अध्यक्षमा गणेश सापकोटालाई बनाएको माइन्युटमा देखिन्छ ।


स्रोतका अनुसार समितिका अध्यक्ष भनिएका सापकोटाले घरको कोठामै बसेर माइन्युट तयार पारेका थिए । बजेट निकाल्नका लागि माइन्युट तयार पारिएको एक स्थानियबासीले अरोप लगाए ।


ग्रावेलका लागि भएको खर्च विवरणमा समेत नाटकीय शब्द उल्लेख गरेको पाइएपछि स्थानियबासीले विरोध गरेका थिए ।


दियोपोस्टलाई प्राप्त माइन्युटमा कुल १० लाख ५३ हजार खर्च भएको देखाइएको छ । उक्त ग्राबेलका लागि २८६ घण्टा जेसिवि चलाइएको विवरण माइन्युटमा उल्लेख गरिएको छ । तर, स्थानियबासीका अनुसार जम्मा ८१ घण्टा मात्रै उक्त स्थानमा जेसिबी प्रयोग गरिएको थियो । ‘नजिकैको खोलाबाट १० ट्याक्टर ग्राबेल हालिएको हो । तर, माइन्युटमा २८६ घण्टा उल्लेख गरिएको छ,’ एक स्थानियले भने,‘हामीलाई झुक्याउने र छक्याउने काम भयो । हामीले यसको विरोध गरिसकेका छौँ । सार्वजनिक सुनुवाईमै यसबारेमा प्रश्न उठाएपछि अहिले स्थागित छ ।’


‘कतिघण्टा जेसिबी चलाउनु भयो’ भन्दै बाटो समितिकै अध्यक्ष भनिएका गनेश सापकोटालाई प्रश्न गर्दा उनले २८२ घण्टा जेसिबी चलाएको बताए । तर माइन्युटमा भने २८६ घण्टा उल्लेख छ ।


त्यस्तै उक्त माइन्युटमा आफ्नो नक्कली हस्ताक्षर प्रयोग भएको भन्दै वडा कार्यालयमा खुद बहादुर तिमिल्सिनाले उजुरी नै दिएका छन् । किर्ते माइन्युटमा कतिसम्म गल्ति गरिएको छ भने उजुरीकर्ता खुद बहादुरको नाम नै दुई वटा लेखिएको छ । उनको उपस्थिति रहेको माइन्युटमा खुदबहादुर लेखिएको छ भने अनुगमन समितिको सदस्य भनिएको पानामा खुद प्रसाद लेखिएको छ ।


‘खहरे – सेराबेसी बाटो ग्राबेल समिति निर्माणको भेलाको उपस्थिति र अनुगमन समिति सदस्य राखी हस्ताक्षर गरिएको थाहा हुन आएकाले म त्यो भेला र अनुगमन समिति सदस्यमा उपस्थित नभएको र तयसमा गरिएको सही किर्ते गरिएको ठहर हुन आएकोले त्यस सही गर्ने व्यक्तिहरुलाई छानबीन गरी सत्यतथ्य पत्ता लगाई कारबाही गर्न र उक्त उपभोक्ता समितिको योजनाको हर हिसाब समेत छानबीन गरिपाउँ भनी यो निवेदन पेश गरेको छु ।’ खुत बहादुर तिमिल्सनाले दिएको उजुरीमा भनिएको छ ।


समिति अध्यक्ष भन्छन्,‘म पनि पत्रकार हुँ’


यस विषयमा बाटो समतिका अध्यक्ष भनिएका गणेश सापकोटालाई प्रश्न गर्दा उनले आफूले घरमा जिस्कने क्रममा यस्तो माइन्युट तयार भएको प्रतिक्रिया दिए ।


जेसिबी कति प्रयोग भयो भन्ने प्रश्न गर्ने वित्तिकै उनी पन्छिँदै दियोपोस्टको कार्यालय सोध्न थाले । ‘दियोपोस्ट कहाँ निर छ । तपाईं धादिङबाट हो ? तपाईंको घर कता हो ?,’ प्रश्न गर्दै उनले भने,‘म पनि पत्रकारमा काम गर्ने मान्छे हो । नेपाल पत्रकार महासंघको जिल्ला कार्यसमितिको सदस्य हो म पनि । दिव्यदर्शन टेलिभिजनमा काम गर्छु । पोषनाथ अधिकारी, दिपक कोइरालाको काम गर्ने मान्छे हुँ ।’


यसरी विषयन्तर गरेका उनले समाचार लेखेपनि नडराउने बताउन थाले । ‘समाचार हान्नुस् म डराउँदिन । कहाँबाट बोल्नु भएको तपाईं । गाउँमा आउनुस् फिल्डमा हेर्नुस् अनि कुरा गर्नुस्,’ सापकोटाले भने,‘को जनताले भने ?’


माइन्युट किर्ते गरिएको विषयमा प्रश्न गर्दा उनले हल्का जवाफ नै दिए ।


‘माइन्युट किर्ते त…घरमा राखेको फाइल भयो.. । पालिकामा गएर हेर्नुस् तपाईंले । घरमा भएको माइन्युटमा खुद बहादुरको किर्ते सहि छ,’ उनले भने,‘घरमा पर्सनल माइनेटिङमा अभ्यासहरु.. यसो उसो लेखिरहेको हो । पालिकामा सम्झौता गर्छनी त होइन ?’


यद्धपी उनले घरमा तयार भएको भनिएको माइन्युटमा वडाध्यक्षको छाप र हस्ताक्षर छ ।


वडाध्यक्ष भन्छन्,‘बाटो समितिको अध्यक्षले किर्ते हस्ताक्षर गरे’


यता वडा नम्बर ७ का वडाध्यक्ष देवराज धरेलले आफूलाई जेसिबी कति के भयो भन्ने डिटेल थाहा नभएको बताए ।


‘समिति बनाउन मैले भ्याइन । अन्तिममा उपस्थित थिएँ । बैठक सेरामा बसेको थियो । विहानमा बसेको हो,’ उनले भने,‘भुक्तानीको लागि सम्झौता गर्न जानेबेलामा वडाको छाप हान्नुपर्ने भयो ।’


उनले २ जनाको किर्ते हस्ताक्षर भएको स्विकार गरे । ‘खुद बहादुर तिमिल्सिना र नवराज धरेलले आफैले सही गरेको होइन भन्ने आयो । उनीहरु दुई जनाको सही बाटोको अध्यक्षले गरिदिएछ । मैले माइन्युट च्यात्न लगाएँ,’ धरेलले भने,‘अहिलेसम्म माइन्युट आएको छैन ।


धरेलले यस्तो दाबी गरेपनि उक्त किर्ते माइन्युटमा वडाकै हस्ताक्षर र छाप लगाएको माइन्युट गाउँपालिका कार्यालय सल्यान्टरमा पुगेको छ ।

Trending News