काठमाडौं, २६ असार । ठूला घोटालामा नेपाल प्रहरीका पूर्व महानिरिक्षकहरु नै जेल परिरहँदा प्रहरीको ‘बदनामीको’ ग्राफ बढिरहेको छ । केही दिनअघि सुडान घोटालामा जनपद प्रहरीका पूर्व महानिरिक्षक रमेशचन्द ठकुरी दिल्लीबजार स्थित सदरखोरमा चिसो हावा खाइरहेका छन् । सोही प्रहरी संगठनमा ‘घुस’ बुझाएरै प्रहरी निरिक्षक (इन्सपेक्टर) बनेका एक अधिकारीलाई भने अहिलेसम्म कसैले छुन सकेको छैन ।
घुस लेनदेन गर्दा पाहुनाका रुपमा त्यहाँ उपस्थित तत्कालिन सभासद डीबी कार्कीले ६ महिना जेलसजाय भोगेर निष्किए । पटक पटक गरेर तीन लाख रुपैया घुस दिएर प्रहरी निरीक्षक बन्नका लागि बम्ह्रानन्द स्वामी उदासिन महाराज नामका जोगीलाई उक्त रकम दिएका इन्सपेक्टर हुन्–राजकुमार राई ‘आर के’ ।
राईले अख्तियारमा दिएको निवेदनमै आफूले प्रहरी निरिक्षक बन्नका लागि घुस खुवाएको खुलाएका छन् । लिखित परीक्षा पास गर्नका लागि उनले तीन लाख रुपैया उनकै निवासमा लगेर दिएको र बाँकी दुई लाख लिखित परीक्षा पास भएपछि अन्तर्वार्ता अगावै दिने कबुल गरे बमोजिम आफुले भाद्र १४, २०६७ सालमा दिनको ४ बजे समय दिएको अख्तियारमा दिएको निवेदनमा उल्लेख छ ।
२०६६ प्रहरी निरिक्षक (प्रशासन)को समावेशी समुह अन्तर्गत जनजाती कोटामा राईको नाम ८ नम्बरमा निस्किएको थियो । त्यो समयमा ८० जना प्रहरी निरीक्षकको भर्ना खुलेकोमा समावेसी समुहको आदिबासी जनजाति तर्फ १५ जना पास गरिएका थिए ।
“कानूनमा घुस लिने र दिने’ दुवैलाई भ्रष्टाचारी मानिन्छ । तर, राईलाई भने हालसम्म कसैले चलाउन सकेको छैन । केही महिनाअघि अख्तियार दुरुपयोग आयोगका तत्कालिन आयुक्त राजनारायण पाठक घुष प्रकरणमा तानिएपछि अख्तियारले घुस दिने व्यक्तिलाई पनि मुद्दा लगाएको थियो । प्रधानमन्त्रीका निकट मानिएका गृहसचिव प्रेम कुमार राईकै जोडबलमा यतिबेला उनी मोरङको बेलबारी इलाका प्रहरी प्रमुखका रुपमा काम गरिरहेका छन् । उनैका कारण प्रहरी निरीक्षक राई आकर्षक ठाउँमा सरुवा भएर काम गर्ने अवसर पनि प्राप्त गरेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निबेदन दिएर बेलुकी स्वामीको घरमा पुगेको टोलीले तत्कालिन सभासद कार्कीलाई समेत त्यहीबाट पक्राउ गरेको थियो । कार्कीको गिरफ्तारीलाई पार्टीभित्रबाटै घोखाधडी र जालसँजी भएको कुरा नेकपाका नेता वामदेव गौतमले एक कार्यक्रममा बताएका थिए । त्यतिबेला गृहमन्त्री भिम रावल थिए । रावल गृहमन्त्री भएपनि राई भने तत्कालिन सांसद कार्की भने वामदेव निकट मानिएका थिए ।
राईले अदालतमा बयान दिँदा कहिले दुबैलाई दिए भन्ने त कहिले पैसा ब्रहानन्द स्वामीलाई मात्रै दिएको हुँ भन्दै विवादास्पद वयान दिँदै आएका थिए । राईले पैसा बुझाएका भनिएका स्वामी ब्रम्हानन्दको अहिले निधन भइसकेको छ । घुस दिएर लिखित परीक्षा पास गरेको भनि स्वीकार गरिएको निवेदनमा उनले ९ ठाँउमा केरिएर हस्ताक्षर गरेका छन् ।
राइले घुस रकम कोसँग मागेर ल्याएका हुन् ? कुनै स्रोत पनि देखाएका छैनन् । वयानमा कतै इटहरिका सार्क कुमार राईसँग मागेर उक्त रकम दिएको बताएका छन् । तर, सार्क कुमार कतै देखिएका छैनन् ।
बुधवार मात्रै कार्कीको मुद्दामा सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपक कार्की र कुमार रेग्मीको संयुक्त इजलासले कार्कीलाई ६ महिना जेल र एक लाख रुपैया जरिवाना तोकेको छ । तीन दिन अघि मात्रै सशस्त्र प्रहरीका पूर्व आइजिपी सनत कुमार बस्नेत, बासुदेव ओली, कोषराज वन्त र शैलेन्द्र कुमार श्रेष्ठलगायतलाई विशेष अदालतले सफाई दिएको थियो ।
विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी र सदस्यहरु द्धारिकामान जोशी र प्रदिप कुमार श्रेष्ठले सफाई दिएका हुन् ।
२०६७ सालमा विशेष अदालतले पनि उनलाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद र १ लाख जरिवाना हुने फैसला गरेको थियो।
तर कार्कीले सर्वोच्चमा पुनरावेदन दिएका थिए।
सर्वोच्चले विशेष अदालतकै फैसला सदर गरेको हो ।
को–को थिए प्रहरी निरीक्षक छनौट समितिमा ?
प्रहरी निरीक्षक २०६६ को समावेसी छनौटमा प्रहरी प्रधान कार्यालयका तत्कलिन प्रहरी अतिरिक्त महानिरीक्षक रविन्द्र प्रताप शाह, लोकसेवा आयोगका प्रतिनिधि अशोक कुमार झा, गृहमन्त्रालयका प्रतिनिधि बेदनिधि अधिकारी र प्रहरी प्रधान कार्यालयका प्रहरी निरीक्षक प्रताप कुमार गुरुङ थिए । घुस रकम दिएर पास भएको दाबी गर्ने राई आठौं नम्बरमा छनौट गरिएको प्राप्त रिपोर्टबाटै पुष्टि हुन्छ ।
को हुन् ब्रम्हानन्द स्वामी ?
कर्णाली प्रदेशको जाजरकोट जिल्लामा जन्मेर भारतबाट महामण्डलेश्वर पदवी प्राप्त स्वामी ब्रम्हानन्द दरबारका तत्कालिन प्रमुख सचिव रञ्जन राज खनालको सहयोगले काभ्रेको साँगामा आश्रम बनाएर बसेका थिए । उनको थर चाहिँ गौतम हो । आश्रममा बसेका उनै स्वामी (जोगी) बाट आउजाउ गर्ने क्रममा एक जना स्कूले बच्चालाई गर्भवती बनाएपछि साँगाबाट भगाइयो । पछि उनैलाई श्रीमती बनाएर राखेका स्वामीले ४ वटा छोरी जन्माएका छन् । स्वामी त्यहाँबाट आएर काठमाडौंको स्युचाटारमा बस्न थाले । उनलाई भेट्न नेकपाका नेता वामदेव गौतम उनकी श्रीमती तुलसा थापा, केशव स्थापित, पशुपति शम्शेर जवरा, तत्कालीन सशस्त्रका आइजीपी कृष्ण मोहन श्रेष्ठ, नेपाल प्रहरीका आइजिपी प्रदिप शम्शेर जवरालगायतका मानिसहरु जाने गर्दर्थे ।
नेपाली कांग्रेसका पुराना नेता तथा १७ पटक कार्यबहाक प्रधानमन्त्री बनेका बल बहादुर राई पनि जोगिका चेला थिए । त्यसै गरी गृहमन्त्रालयका सहसचिव तथा सशस्त्रका आइजिपी शैलेन्द्र खनालका बाबु टिकाराम शर्मा खनाल पनि उनलाई भेट्न बारम्बार जाने गर्दर्थे । आफुलाई अघोरी बाबा हुँ भन्ने कथित स्वामीले रक्सी मासुसमेत खानुका साथै सयौं जनासँग जापान र अमेरिका पठाइदिने भन्दै करोडौं रुपैया ठगी समेत गरेका थिए ।
विदेश पठाउन पैसा लिएर नपठाएपछि उनलाई हनुमान ढोका प्रहरीमा पीडितहरुले उजुरी दिएका थिए । तर, जोगीलाई किन पैसा दिएको भन्दै पीडितहरुलाई नै प्रहरीले हप्काउने गरेका थिए । स्वामी जीवनको अन्तिमसम्म पनि व्यवहारमा परिवर्तन भएर इमान्दार बन्न सकेनन् । स्युचाटारबाट नख्खु, फर्पिङ हुँदै पछिल्लो समयमा भिमसेनगोलामा बस्ने गरेका स्वामीले त्यहीबाट प्रहरी निरीक्षक बनाइदिने भन्दै राजकुमार राईसँग उक्त रकम ठगेका हुन् ।
स्वामीले भारतका विवादस्पद शंकराचार्य जयन्द्र सरास्वतीलाई नेपालमा ल्याएर दरबारसँग आफ्नो सम्बन्ध रहेको देखाउने गरेका थिए । उनी नख्खुमा बस्दा नेम प्लेट राखेर पुरै घरमा गार्ड सहित सानदार रुपमा बस्ने गर्दर्थे ।
उनले सर्वसाधारणलाई आफ्नो नाम श्री १००८ महामण्डलेश्वर स्वामी ब्रम्हानन्द उदासिन महाराज भनेर बोर्डमा लेखेर टास्ने गर्दर्थे । मनमोहक शरिर र बोलीमा पनि निकै आत्मबल जस्तो देखिने स्वामी मधुर भाषामा प्रवचन दिएर मानिसहरुलाई मुग्ध पार्ने कला पनि थियो ।
जसबाट धर्ममा विश्वास गर्ने वा सरुवा बढुवाका लागि जोगीको आश्रम नै अखडा बन्ने गर्दथ्यो ।
स्वामी ब्रम्हानन्दले प्रहरीका अधिकृतहरुलाई त नै भनेर सम्बोधन गर्ने गर्दर्थे । उनी आफुले वामदेव गौतमलाई भनेर आदेश गरेर कृष्ण मोहन श्रेष्ठलाई आइजिपी बनाएको सगौरव बताउँथे । त्रिविविका तत्कालिन उपकुलपति प्रा.डा. गोविन्द शर्माले विवादस्पद स्वामीलाई टिचिङ अस्पताल महाराजगन्जको सञ्चालक समेत बनाइदिएका थिए ।