काठमाडौँ, असार २७ । विहीबार साँझदेखिको लगातारको बर्षाले देशभरिको जनजीवन प्रभावित बनाएको छ । पहिरो र डुवानमा परि हालसम्म ११ जनाको मृत्यु भइसकेको छ । राजधानीमै पहिरोले घर पुरिएर एकै परिवारका तीन जनाले ज्यान गुमाइसकेका छन् ।
गृह मन्त्रायका अनुसार काभ्रेमा हजुरआमा र नातिनीको मृत्यु भएको छ। यस्तै ललितपुर, सिन्धुली, पर्सा, धादिङ, सुनसरी र महोत्तरीमा मा एकएक जनाको मृत्यु भएको छ।
काभ्रेको बनेपास्थित नालामा पहिरोले घर भत्काउँदा एकै परिवारका दुईको मृत्यु भएको हो। मृत्यु हुनेमा ५० वर्षकी गोमा दंगाल र ७ वर्षीया सोहनी दंगाल छन्। घटनामा ३० वर्षीय सुशीला दंगाल र तीन महिनाकी बालिका अनुष्का दंगाल रहेको काभ्रेका एसपी जयराम सापकोटाले बताए।
ललितपुर र सिन्धुलीमा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने पर्सामा डुबेर एक जनाको मृत्यु भएको छ।
खोटाङमा पहिरोमा परी ३ जना बेपत्ता भएका छन्। उता, जनकपुर–महोत्तरीको रातो खोलामा आएको बाढीले आज बिहान एक वृद्धलाई बगाएको छ। बलवा नगरपालिका–२ का ७० वर्षीय हनिफ बैठालाई रातो खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
काठमाडौं, मोरङ, सुनसरी र पाँचथरमा पनि एक÷एक जना बेपत्ता भएको समाचार प्राप्त भएको छ। विभिन्न ठाउँमा ४ सय घरपरिवार विस्थापित भएका छन्।
राजमार्ग र सवारी आगमनको स्थिति
गृहमन्त्रालयको अनुसार काभ्रेमा बीपी राजमार्गमा सवारी चल्न सकेका छैनन् भने पूर्वपश्चिम राजमार्ग अन्तरगत सर्लाही खण्डमा बाटोमा पानी आएर साना गाडी नचल्ने अवस्थामा छन् ।
पूवपश्चिम राजमार्गकै सनुसरी रामधुनी–६ मा पनि सडक अबरुद्ध छ । धनकुटा पाख्रिवाट–७, उदयपुरको रौतामाई गाइघाट, खोटाङ हलेसी–चुवाचुङ सडकखण्ड पनि ठप्प रहेको जनाइएको छ ।
ओखलढुंगाको मनेमञ्ज्याङ–७, सिन्धुलीको गोलञ्चोर–५ र रामेछापको मन्थली(६ मा अबरुद्ध सडक खुलाउने प्रयास भइरहेको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ललितपुरको महाकाल–हेटौंडा राजमार्ग, कान्तिपथ र त्रिभुवन पथ पनि अबरुद्ध छ । लम्जुङ–मनाङ राजमार्गमा पनि सवारी चल्न सकेका छैनन् ।
मुलुकभर बाढी र वर्षाको क्षतिका विवरण आउन थालेपछि गृह मन्त्रालयले सुरक्षा साथ बस्न सर्वसाधारणलाई अपिल गरेको छ ।
तराई भेगमा उच्च सतर्कता
निरन्तरको बर्षाले तराई भेगका मानिसहरुमा आतंक नै फैलाएको छ । डुवान र बाढीको सम्भावना निकै धेरै भएको कारण पनि तराईका जिल्लाहरुमा उच्च सतर्कता अपनाइएको छ । गएराति केही बेरको बर्षाकै कारण रौतहटको चन्द्रनिगाहपुरका केही स्थानहरु डुवानमा परेका थिए ।
गृहमन्त्रालयका अनुसार झापा र मोरङको स्थिति सामान्य रहेको छ । त्यस्तै सुनसरीका ५०–६० घर जोखिमपुर्ण अवस्थामा रहेका छन् । उनिहरुलाई सुरक्षित स्थानतर्फ लैजाने तयारी भइरहेको छ । सप्तरीमा पनि आत्तिहाल्नु पर्ने अवस्था भने छेन । कोशी नदीको बहाव एक लाख ६७ हजार क्यूसेक पुगेको छ । त्यस्तै सिराहाको कमला नदि क्षेत्रमा एकजना वेपत्ता भएको र खोजीकार्य भइरहेको छ । गृह मन्त्रालयका अनुसार महोत्तरीको रातु खोलाले समस्या निम्त्याउन सक्ने खतरा रहेको छ ।
त्यस्तै सप्तरीको खैरहवामा बाढी रोक्ने काम भइरहेको छ । सीमामा भारतीय पक्षसंग कुरा गपरेर नाला सफा गरी पानी निकास गरिएको छ भने विद्युत सेवा पुर्ण रुपमा अवरुद्ध भएको छ । वर्षाले सबैभन्दा ठुलो क्षति रौतहटमा पारेको छ । मन्त्रालयका अनुसार सीमामा भारतीय पक्षले बनाएको बाँध खुलाउने प्रयास भइरहेको छ । जिल्लाको वृन्दावन नगरपालिका १ बलरीखोरमा बागमती नदी तर्फ खेतीपाती गर्दै आएका १५ जनाको उद्दार प्रयास भइरहेको छ ।
गृहमन्त्रालयको तयारी
बर्षाको कारण हुने क्षतिलाई कम गर्नको लागि सक्दो तयारी अवस्थामा रहेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सबै जिल्लामा बाढीको र बर्षाको पुर्व सूचना प्रणाली सक्रिय गराइएको छ । जोखिमयुक्त स्थानहरुमा शुक्रबार विहान २ बजेदेखि नै एसएमएस, सामाजिक संजाल र संचारमाध्यमहरुबाट जनताहरुलाई सुचना प्रवाह गरि सुसुचित गराइएको गृह मन्त्रालयले जनाएको छ ।
त्यस्तै स्थानीय प्रशासन , सुरक्षा निकायले उच्च सतर्कताका साथ काम गरिरहेको र पहिरोको कारण अवरुद्ध भएका सडकहरु खुलाउने काम भइरहेको बताइएको छ । सर्लाहीमा सम्भावित क्षति हुनबाट रोक्नका लागि भारतीय पक्षसंग सहकार्य गरि पानी निकासा गरिएको साथै रौतहटमा पनि प्रयास जारि रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आपतकालिन अवस्थामा सेनाको हेलिकप्टर तयारी अवस्थामा राखिएको छ ।