पुनः बर्षा हुन थालेपछि रौतहट आतंकित, सिडिओ भन्छन– ‘केही गर्न सक्ने अवस्थामा छैनौँ’

दियो पोस्ट  

काठमाडौँ, असार २८ । बर्षाले शुक्रबार बेलुकादेखि रौतहटको सदरमुकाम गौर र जिल्लाका अन्य क्षेत्रहरु डुवानमा परेका छन् । घरघरमा पानी पस्न थालेपछि जिल्लाका हजारौँ घरपरिवार विस्थापित भएका छन् । विहान केहीबेर पानी रोकिएपछि सतहमा पानीको भाग घटिरहेको थियो ।

शनिबार मध्यान्हबाट पुन पानी पर्न थालेपछि रौतहट थप आतंकित भएको छ । बाढीले भारतीय पक्षले सीमामा लगाएको बाँध समेत फुटाएको छ । बाँध फुटेपछि केही राहत भएको भएतापनी थप वर्षा हुन थालेपछि पानीको सतह बढ्न थालेको हो ।

पानीको सतह बढ्न थालेपछि सर्वसाधारण आतंकित भएको जिल्ला प्रशासन कार्यलय रौतहटका प्रमुख जिल्ला अधिकारी (सिडिओ) किरण थापाले दियोपोस्टलाई जानकारी दिएका छन् । चारैतिर जलमग्न भएपछि उद्दारको लागि पनि केही गर्न सक्ने अवस्था नरहेको सिडिओ थापाले बताएका छन् । ‘उद्दारको लागि हेलिकप्टर पनि जान सक्ने अवस्था छैन’ थापाले भने भारतीय पक्षले लगाएको अन्य बाँधहरुलाई खोल्ने प्रयास भइरहेको छ ।’

थापाले भारतीय पक्षले लगाएको बाँध खोल्नका लागि पहलको प्रयास भइरहेको बताए । बाँध खोल्नको लागि भारतीय पक्षसंग संवाद गर्नुपर्ने तर वार्ताको लागि केही समस्या भएको बताएका छन् । केही क्षेत्रहरुमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका अधिकारीहरु उद्धारमा खटिएको तर सबै ठाउँमा गएर उद्दार गर्न नसकिने अवस्था रहेको बताएका छन् । केन्द्रले जनताहरुको उद्दारमा खटिन निर्देशन दिएको तर चारैतिर जलमग्न भएको कारण उद्दार गर्न कठिनाई भएको बताउँछन् ।